बैतडी, २६ असार । राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोदसिंह विष्ट युवा पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत हुनुभएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राससकर्मी विष्टलाई नगद रु ५० हजार पुरस्कारसहित सम्मान गरेको हो ।
सिंहदरबारमा आज एक कार्यक्रमबीच मन्त्रालयका सचिव सुमनराज अर्यालले विष्टलाई खादा, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभयो । युवा सरोकारका विषयमा नेपाली छापा पत्रपत्रिका, रेडियो र अनलाइन समेतबाट समाचार सम्प्रेषण गरी युवा विकासमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै विष्टलाई नगद पुरस्कारसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवेदन आह्वान गरेको थियो । देशभरबाट प्राप्त आवेदनमध्येबाट मन्त्रालयले मूल्याङ्कन गरी पुरस्कारका लागि विष्टलाई छनोट गरेको थियो । पत्रकार महासङ्घ बैतडीका सहसचिवसमेत रहनुभएका विष्टले पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै पेसाप्रति थप जिम्मेवार बन्न र पेसामै रहिरहन ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल हुनुहुन्छ ।