सोमबार ०४ चैत, २०८१

नेपाली समय

‘कला, संस्कृतिलाई पर्यटनसँग जोडेर लाभ लिनसक्नुपर्छ’

‘कला, संस्कृतिलाई पर्यटनसँग जोडेर लाभ लिनसक्नुपर्छ’

गण्डकी, २२ असार । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले देशका कला, संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुुभएको छ ।गण्डकी प्रज्ञा प्रतिष्ठानको सातौँ पूर्ण बैठकको उद्घाटन गर्दै आज उहाँले कला, संस्कृति देशको पहिचान भएको र यसलाई पर्यटनसँग जोडेर लाभ लिनुपर्ने बताउनुभयो । 

नयाँ पुस्तालाई आफ्नो भाषा, वेशभूषा तथा संस्कृति हस्तान्तरण गर्ने कार्यमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री थापाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले कला, संस्कृतिको विकासका लागि प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी ढङ्गले यस्ता काम गरिने बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव मनुकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ मा ५४ वटा कार्यक्रम प्रस्ताव गरिएकामा सबै कार्यक्रम सम्पन्न गरिएका बताउनुभयो । चालु आवमा शतप्रतिशत कार्यक्रम सम्पन्न भएपश्चात् मन्त्रालयले दुईवटा कार्यक्रमका लागि चालु आवभन्दा रु ५८ लाख बजेट थप भएको उहाँले जानकारी दिनुभयो ।  

बैठकले आगामी आर्थिक वर्षमा अन्य के–के कार्यक्रम गर्न सकिन्छ भन्नेबारेमा वाङमयिक संस्थाहरूसँग कार्यक्रमको प्रस्ताव माग्ने निर्णय गरेको छ । आगामी आवमा कम्तीमा २५ वटा जातिको भाषाको दुई–दुई महिनाका कक्षा सञ्चालन गर्ने, २० वटा बाजाका दुई–दुई महिनाका तालिम सञ्चालन गर्ने, १० वटा जातिका बारेमा अध्ययन–अनुसन्धान गर्ने निर्णय गरिएको छ ।

स्रष्टाहरूको योगदानलाई आत्मसात् गर्दै उनीहरूका श्रव्यदृश्य निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आव कम्तीमा १५ जना स्रष्टाको श्रव्यदृश्य निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ । दुुई सयजना स्रष्टाको स्वास्थ्य बीमालाई निरन्तरता दिने तथा हरेक वर्ष स्थापना दिवसमा सम्मान गर्दै आइरहेको गण्डकी प्रज्ञा नारी सम्मानको पुरस्कारको राशि ५० हजारबाट बढाएर रु एक लाख पुर्‍याउने निर्णय गरिएको सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो । आगामी साउन मसान्तसम्ममा हरेक जिल्लामा दुई–दुईवटा कार्यक्रम पर्ने गरेर प्रस्ताव माग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।