आइतबार ०६ साउन, २०८१

नेपाली समय

गिरिजाप्रसाद जन्म शताब्दी

युगान्तकारी परिवर्तनका नायक गिरिजाप्रसाद

गिरिजाप्रसाद जन्म शताब्दी

युगान्तकारी परिवर्तनका नायक गिरिजाप्रसाद

(डा केदारनरसिंह केसी)

काठमाडौँ, १८ असार । नेपालको लोकतान्त्रिक आन्दोलनका साहसी तथा कर्मयोगी नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन धेरै सन्दर्भ र घटनाले भरिएका छन् । वास्तवमा साहस र अठोटको पर्याय नै उहाँको राजनीतिक जीवन बनेको छ । नेता त्यो हो, जसले बाटो पहिल्याउँछ, पहिल्याएको बाटोमा आफैँ हिँड्छ, आफू हिँडेको बाटोमा अरूलाई पनि हिडाउँछ । गिरिजाबाबुले पनि त्यसै गर्नुभयो । गिरिजाबाबुको जीवनमा सङ्घर्षबाट पाएको चेतना र ज्ञान नै उहाँलाई अगाडिको बाटो देखाउने प्रकाशका रूपमा आएको प्रस्टै छ । निर्णय गर्न नडराउने उहाँको साहसपूर्ण स्वभाव सबैका निम्ति प्रेरणादायी बनेको छ ।

राणाशासनको क्रूर अवस्थामा २१ वर्षे उमेरका गिरिजाबाबुबाट विराटनगरको ऐतिहासिक मजदुर हडतालको सफलतापूर्ण नेतृत्व गर्नु त्यो उमेरको कुनै पनि मानिसका लागि लरतरो काम थिएन । उहाँको नेतृत्वमा २००३ साल फागुन २१ गते एकतन्त्रीय राणा शासनको विरोधमा विराटनगर जुट मिलको आन्दोलन भएको थियो । नेपालको जनसङ्घर्षको इतिहासमा जनताले गरेको यो नै पहिलो ऐतिहासिक आन्दोलन पनि थियो । नेपालको इतिहासमा सबैभन्दा धेरै मानिस सहभागी भएको पहिलो र सबैभन्दा ठूलो मजदुर हडताल यही नै थियो । गिरिजाबाबुलाई सक्रिय र सङ्घर्षशील राजनीतिमा प्रवेश गराएको पनि त्यही आन्दोलनले हो । त्यसको सफलता वा विजयले उहाँमा राजनीतिमा लाग्ने हौसला मिलेको देखिन्छ ।

गिरिजाबाबुले राजनीतिमा युगान्तकारी घटना गराउनुभएको छ । लोकतान्त्रिक आन्दोलनलाई गति दिने कार्यमा उहाँको अधिकांश उमेर बित्यो । उहाँ देशमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, २०१५ सालको आमनिर्वाचनको पनि गणना गर्दा बहुदलीय प्रजातन्त्रमा बिपीपछि दोस्रो निर्वाचित प्रधानमन्त्री बन्ने अवसर पनि उहाँलाई मिल्यो । २०४८ सालदेखि २०५१ सम्मको गिरिजाबाबुको प्रधानमन्त्रीत्वको कार्यकाल अत्यन्त सन्तोषजनक, सन्तुलन र मर्यादित रूपले अगाडि बढेकै हो । विकासका पूर्वाधारको सुरुआत पनि यही कार्यकालमा भएको हो । यस अवधिमा स्वास्थ्य, शिक्षा, सञ्चार, विद्युतीकरण, यातायातका क्षेत्रमा मुलुकले ठूलो फड्को मारेको विदितै छ ।

उहाँले राजनीतिलाई व्यक्तिगत स्वार्थका लागि कहिल्यै लिनुभएन । साँच्चै भनौँ भने बिपी रहुन्जेल उहाँ लोकतान्त्रिक सङ्घर्षमा होमिनुबाहेक अरू कुनै जिम्मेवारीमा हुनुहुन्थेन । २०२५ सालदेखि २०३३ सालसम्म नेपाली कांग्रेसले आयोजना गरेको ‘सशस्त्र कारबाही’ हाँक्ने मुख्य ‘कमान्डर’ उहाँ नै हुनुहुन्थ्यो । उहाँमा धैर्यपूर्वक निर्णय गर्ने, आफ्नो निष्ठामा नझुक्ने, साहसी र इच्छाशक्ति भएको ऊर्जाशील गुण र विशेषता थियो । उहाँमा रहेका यस्ता असल गुण र विशेषतालाई अनुसरण गर्नसक्नु नै उहाँप्रतिका वास्तविक श्रद्धाञ्जलि हुनेछ ।

जीवनको सात दशकभन्दा लामो समय लोकतान्त्रिक आन्दोलनमा निरन्तर रूपले बिताउनु साधारण कुरा होइन । जेल, निर्वासन र अनेक सङ्कटहरु ब्यहोर्दै देश र जनताका लागि आफूलाई समर्पण गरेर अनवरत उहाँ हिँडीरहनुभयो । पटक पटक गरेर उहाँ १२ वर्षभन्दा बढी समय जेलमा बिताउनुभयो । राणा र शाह दुवै निरङ्कुशतालाई चुनौती दिँदै कहिल्यै झुक्नु भएन, बरु उहाँको साहस, स्वाभिमान र अडानका अगाडि कुनै पनि अतिवाद वा निरङ्कुशता झुक्न बाध्य भए । प्रजातन्त्रका सन्दर्भमा कसैसँग पनि सम्झौता नगर्ने र प्रतिनिधिसभाको पुनर्बहालीले मात्र राजनीतिक निकास दिनसक्छ भन्ने गिरिजाबाबुको अडानलाई २०६१ साल माघ १९ को राजा ज्ञानेन्द्रको कदमले पनि रोक्न सकेन । २०५९ साल असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको आस्था घटेको थियो । त्यसपछि भएका आन्दोलनको नेतृत्व पनि गिरिजाप्रसाद कोइरालाले नै गर्नुभएको थियो । २०६१ साल माघ १९ मा दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद् अध्यक्ष बनेपछि कोइरालाले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गर्नुभएको थियो । आखिर २०६३ साल वैशाख ११ गते बाध्य भएर राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए ।

पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साल जेठ ४ मा राजाका सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा ज्ञानेन्द्र शाहलाई सीमित गरेको थियो । उहाँकै नेतृत्वमा २०६५ साल जेठ १५ मा नेपालबाट दुई सय ४० वर्ष इतिहास भएको शाहवंशीय राजसंस्था अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । यसरी दुई सय ४० वर्षदेखिको राजतन्त्रको अन्त्य गर्दै सक्रिय राजतन्त्रको असफल अभ्यासमा लागेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट बाहिर निकाल्ने कामको नेतृत्व उहाँले नै गर्नुभएको थियो । अन्त्यन्त आँटिला, आफूलाई लागेको कुरा निर्णय गराउन सक्ने, कम बोल्ने तर बोलेको कुरामा अडिग रहने उहाँको स्वभावले नै मुलुकलाई राजनीतिक रुपान्तरण गराउन सम्भव भयो । जीवनको अन्तिम क्षणसम्म राष्ट्रका लागि क्रियाशील रहने उहाँ समकालीन नेपाली राजनीतिका शिखर पुरुष हुनुहुन्छ ।

उहाँको अर्को महत्वपूर्ण पक्ष भनेको सामान्य कार्यकर्ताको भावना र पीरमर्का बुझ्नसक्ने एक कुशल नेतृत्वका रुपमा देखाउनु भएको गुण र क्षमता पनि हो । उहाँ तल्लो तहको पार्टी कार्यकर्तासित समेत सोझै भावनात्मक सम्बन्ध राख्नसक्ने हुँदा आम कार्यकर्ताबीच अत्यन्त लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँले आफ्नो लामो राजनीतिक जीवनमा व्यतित गर्नुभएको विभिन्न आरोहअवरोहहरु उहाँका सफलता र असफलता नेपाली राजनीतिका अभिन्न अङ्ग हुन् ।

लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा युद्धरत माओवादीलाई शान्ति प्रक्रिया र लोकतान्त्रिक धारमा ल्याउने ऐतिहासिक कार्य उहाँकै नेतृत्वमा सम्पन्न भयो । १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँदे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले आफू हारेर भए पनि द्वन्द्वले आक्रान्त मुलुकमा शान्ति स्थापनाका लागि साहसिक कदम उठाएको इतिहास कसैबाट लुक्न सक्दैन । नेता कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । सहमति, सहकार्य र एकताका सूत्रधार कोइरालाको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय नै विश्वकै एक ऐतिहासिक सफलता हो ।

छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा भएको थियो । चारपटक मुलुकको प्रधानमन्त्री बनेका नेता कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हाल्नुभएको थियो । संवाद, सहमति र सहकार्यको माध्यमबाट राजनीतिक स्थायित्व कायम गरी राष्ट्रिय एकता, लोकतन्त्र र समृद्धिको दिशामा दृढतापूर्वक अघि बढ्नुपर्छ भन्ने उहाँको मान्यता अहिले पनि सबैको मार्गदर्शक बनेको छ । उहाँले आफ्नो जीवनकालभरि कालो झन्डा र विरोधको सामना गर्नु परे पनि मृत्युपर्यन्त उहाँले जति प्रशंसा र सम्मान प्राप्त गर्ने अवसर सायदै अरू व्यक्तिलाई प्राप्त भयो होला । आफूले हारे पनि मुलुकले जित्नुपर्छ भन्ने दर्शनबाट प्रेरित उहाँ आफ्नो विरोध गर्ने र कालो झन्डा देखाउने प्रवृत्तिलाई आफैँले लडेर प्राप्त गरेको प्रजातन्त्रको उपलब्धिका रूपमा लिनुहुन्थ्यो । राजतन्त्रविरुद्ध दलहरुले संयुक्त रूपमा लडेर संविधानसभाबाट संविधान बनाउने कार्य कोइरालाको योगदानबाट सम्भव भएको थियो ।

अहिले मुलुक संविधान कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिरहेको छ । यतिबेला सम्पूर्ण राजनीतिक शक्तिहरुलाई एक सूत्रमा बाँध्ने गिरिजाबाबुजस्ता शीर्ष व्यक्तिको अभाव खड्किएको अनुभूति भइरहेको छ । सम्पूर्ण राजनीतिक शक्ति एकजुट हुन सके मात्र लोकतन्त्र सफल हुन सक्छ । उहाँको निधनसँगै नेपाली लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताको अन्त्य भएको छ र मुलुकलाई शान्ति र समृद्धिको उचाइमा पु¥याउने जिम्मेवारी दोस्रो पुस्ताको काँधमा आएको छ ।