बुधबार १७ बैशाख, २०८२

नेपाली समय

चुकी, अमान र ओम साईको आडमा शिवशक्तिको गोरख धन्दा

चुकी, अमान र ओम साईको आडमा शिवशक्तिको गोरख धन्दा

रौतहट, ४ असार । हिन्दु तथा मुस्लिमहरुको विभिन्न पर्वको नाममा रौतहटका स्थानीय तहले वितरण गर्दै आएको साडी वितरणमा यहाँका जनप्रतिनिधिसँग मिलेर सदरमुकाम गौरमा रहेको शिवशक्ति ईम्पोरियमले गोरख धन्दा सञ्चालन गर्दै आएको रहस्य बाहिरिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आ.व ०७९।०८० को लेखापरीक्षणको रिपोर्टले शिवशक्तिले रौतहट जिल्लाका अधिकांश स्थानीय तहमा गरेको सैद्धान्तिक भ्रष्टाचारको पोल खोलेको हो । गौरमा रहेको शिवशक्ति ईम्पोरियमले आफै बोक्सी र आफै झाँक्री बने झैँ विभिन्न तिन वटा थप आफ्नै व्यापारिक फर्मबाट कोटेसन पेस गरी दर रेटलाई क्रमिक रूपमा घटी र बढी बनाई पेस गरी कोटेशनमा साडी लगायत सामान बिक्री गर्ने गरेको रहस्य बाहिरिएको हो ।

सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार एउटा व्यापारिक फर्मले एक विक्रेता सँग वर्षमा एउटा कोटेसन बढीमा १० लाख सम्म कारोबार गर्न सक्ने प्रावधान रहेको छ तर शिवशक्ती ईम्पोरियमका सञ्चालकले झोलामा रहेको आफ्नै फर्म अमान टेडर्स, चुकी ईन्टरप्राईजेज र ओम साई जनरल एण्ड अर्डर सप्लायर्सबाट सार्वजनिक खरिद ऐन विपरीत एउटै स्थानीय तहमा १० लाख रकम बराबरको दुई देखि तिन वटा सम्म भुक्तानी लिएको महालेखाको प्रतिवेदनमा देखिएको छ र त्यस्तै केही स्थानीय तहमा सोही बिक्रेताले नियम विपरीत करिब २० लाख बराबरको समेत भुक्तानी लिएको पाइएको छ ।

शिवशक्ती ईम्पोरियमले आफ्ना झोले फर्महरू मार्फत स्थानीय तहमा सप्लाई गरेको सो परिमाणको साडी संख्यामा समेत ठुलै चुहावट रहेको स्रोतबाट बुझिएको हो । भारतबाट भन्सार छली गरी ल्याइएको कम मूल्यका सूती साडीलाई यी फर्मको माध्यमबाट १५ सय देखि २ हजार सम्म बिल बनाई स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, लेखा र स्टोरका कर्मचारीलाई मिलाई भुक्तानी लिइएको बुझिएको छ ।

त्यस्तै भ्याटको हिसाब मिलान गर्न शिवशक्तिले विभिन्न अलग अलग व्यापारीहरू सँग फर्जी बिल समेत खरिद गर्ने गरेको बुझिन आएको हो । शिवशक्तिले विगतमा पनि यस्तै फर्जी बिल खरिद गर्ने कार्य गरी नेपाल सरकारको करोडौँ रुपैयाँ राजस्व क्षति पुर्‍याएको भनी सो फर्म उपर राजस्व अनुसन्धान कार्यालयबाट ४ करोड ३६ लाख जरिवाना सहितको मुद्दा अदालतमा दर्ता हुने प्रक्रियामा रहेको छ ।

यस सम्बन्धमा उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष पण्डित जयसवालले जनप्रतिनिधिको लहै लहैमा लागेर गल्ती गर्ने वा राज्यलाई नोक्सान पुर्‍याउने फर्म स्वंयम जिम्मेवार हुने र गलत कार्यको पक्षमा उद्योग वाणिज्य सङ्घ कुनै किसिमको साथ नदिने बताएका छन्