सोमबार ०४ चैत, २०८१

नेपाली समय

चुकीको साडीमा व्यापक भ्रष्टाचार

चुकीको साडीमा व्यापक भ्रष्टाचार

रौतहट, ३ असार । जिल्लामा हिन्दु तथा मुस्लिमहरूको विभिन्न पर्वमा स्थानीय सरकारले महिलाहरूलाई साडी वितरण गर्ने रौतहटमा होडबाजी नै रहेको छ । साडी वितरणको पछाडि स्थानीय सरकारका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको व्यक्तिगत स्वार्थका कारण पनि यो चलन मौलाएको छ । जिल्लामा रहेका अधिकांश स्थानीय तहले हिन्दु र मुस्लिमहरूको विभिन्न पर्वको नाममा लाखौँ लाख मूल्यको साडी वितरण गरी आफूलाई विकास पुरुष हो भन्ने छाप छाड्न साडी वितरण गर्ने गरेका र पछि सोही साडीमा व्यापक भ्रष्टाचार गर्ने गरेका छन् ।

यहाँका अधिकांश स्थानीय तहले गौरमा रहेको चुकी ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टेडर्सबाट २५ लाख भन्दा माथि एक एक स्थानीय तहले साडी खरिद गरेको महालेखा परीक्षणको रिपोर्टमा देखिएको छ । माथि उल्लेखित फर्महरूले स्थानीय तहलाई बिक्री गरेको साडीको सङ्ख्यालाई हेर्ने हो भने विक्रेताले आयात गरेको सङ्ख्याको दोबर भन्दा माथि रहेको गौर भन्सारको तथ्याङ्कबाट प्रष्ट हुन सकिन्छ । सदरमुकाम गौर लगायतका बजारमा रहेका यी फर्महरूले अधिकांश साडी भारतबाट खरिद गर्ने गरेका छन् जुन विभिन्न सीमावर्ती नाकाहरूबाट भन्सार छली गरेर यी व्यापारिक प्रतिष्ठान सम्म आई पुगेका हुन्छन् ।

यसरी भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएका ४ देखि ६ सय सम्म मूल्यका भारतीय साडीलाई चुकी ईन्टरप्राईजेज, ओमसाई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टेडर्सले १४ सय देखि २ हजार सम्मको बिल बनाई स्थानीय तहका जनप्रतिनिधिहरूसँग मिलेर व्यापक भ्रष्टाचार गरेका प्रष्ट देख्न सकिन्छ ।

स्थानीय तहले खरिद गरिएको साडीका यी व्यापारी प्रतिष्ठानहरू फेरी बजारमा खोज्दा कतै नभेटिने किसिमले समेत रहेको बुझिएको छ । कुनै कुनै स्थानीय तहले खरिद गरेको साडीको सङ्ख्यालाई विस्तृत रूपमा अनुसन्धान गर्ने हो भने सो पालिकामा रहेको महिला सङ्ख्या भन्दा अधिक रहेको समेत भेटिएको छ जुनबाट यो प्रष्ट हुन्छ कि सो स्थानीय तहले कम साडी खरिद गरी बढी साडीको बिल बनाउन लगाई महिलाको साडी मै भ्रष्टाचार गरेका छन् ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले आफूहरू सो विषयमा छानबिन गरी दोषी भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।