शनिबार ०१ असार, २०८१

नेपाली समय

राससकर्मी ढकाललाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

राससकर्मी ढकाललाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

काठमाडौँ, २३ जेठ । राष्ट्रिय समाचार समिति (रासस) की उप–समाचारदाता प्रगति ढकाल रु ५० हजार राशिको ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।

छापा सञ्चारमाध्यममा रही वातावरण संरक्षण एवं संवर्द्धनका पक्षमा जनचेतना जगाउन महत्त्वपूर्ण योगदान पुर्‍याएबापत राससकी उपसमाचारदाता ढकाल पुरस्कृत हुनुभएको वातावरण विभागले जनाएको छ ।  

विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उपसमाचारदाता ढकालसहित चारजना पत्रकार पुरस्कृत हुनुभएको हो । उपसमाचारदाता ढकालले एक दशकदेखि वन तथा वातावरणका मुद्दामा सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ । राससकर्मी ढकाल यसअघि ‘मिडिया इन कन्जरभेसन अवार्ड’, सामुदायिक वन पत्रकारिता पुरस्कार, नेपाल वातावरण पत्रकार समूह (नेफेज)द्वारा प्रदान गरिने वातावरण पत्रकारिता पुरस्कार तथा वन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने उत्कृष्ट वातावरण संरक्षण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।