शनिबार ०१ असार, २०८१

नेपाली समय

सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी

सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी

गण्डकी, २० जेठ । दुई दिनसम्म पोखरामा चलेको सार्वजनिक तथा सामुदायिक पुस्तकालयको गण्डकी प्रदेश सम्मेलन १७ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ । पोखरा सामुदायिक पुस्तकालय र दीपशिखा सामुदायिक पुस्तकालयको आयोजनामा भएको सम्मेलनले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको संस्थागत विकासका लागि आवश्यक ऐन निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ । 

प्रदेश राजधानी पोखरामा सुविधा सम्पन्न प्रदेश पुस्तकालय स्थापना गर्न प्रदेश सरकारसँग र राष्ट्रिय धरोहरको रूपमा रहेको नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्य अगाडि बढाउन सङ्घ सरकारसँग माग गरिएको पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा डा विश्व श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनले घोषणपत्रमार्फत प्रदेश सरकार र स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी पुस्तकालयका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ ।

पुस्तकालयहरुबीच समन्वय, सहजीकरण, अनुगमन र निरीक्षणका लागि प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत पुस्तकालय शाखा स्थापना गरी पुस्तकालय तथा सूचना विज्ञान समूहको अधिकृत सरहको कम्पनीमा एकजना कर्मचारी व्यवस्थापन गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ । स्थानीय तहले पनि पुस्तकालयका लागि दक्ष कर्मचारी र कार्यालय सहयोगीको व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । 

सामुदायिक सिकाइ केन्द्रहरुलाई सार्वजनिक पुस्तकालयमा समायोजन गर्नुपर्ने, जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक सार्वजनिक पुस्तकालयको अवधारणा लागू गर्नुपर्नेलगायतका माग समेटी घोषणापत्र जारी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पुस्तकालय भवन निर्माण गर्दा विपद् प्रतिरोधी, अपाङ्गतामैत्री, वातावरणमैत्री एवं सूचना प्रविधिमैत्री बनाउनुपर्ने माग गरिएको छ । 

प्रदेशका १० जिल्लामा रहेका ४१ पुस्तकालयबाट सम्मेलनमा सहभागी भएका प्रतिनिधिहरूले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको दिगो विकास र विस्तारमा निरन्तर समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।