आइतबार ०६ माघ, २०८१

नेपाली समय

भारतीय कुखुरा बोर्डर नजिकको खोरमा राखेपछि बन्छ नेपाली कुखुरा

भारतीय कुखुरा बोर्डर नजिकको खोरमा राखेपछि बन्छ नेपाली कुखुरा

रौतहट, १२ जेठ । नेपाल– भारतको खुल्ला सीमाको कारण भारतीय कुखुरा सहजै नेपाल प्रवेश गर्छ। भारतमा हुर्किएका वा आधार हुर्किएका कुखुरा रातारात नेपाल भित्रिएर नाका नजिकै नेपालतिर रहेका स्थानीयको खोरमा राखिन्छ। अनि चल्ला राखेको लगायतका नेपाली बिल बनाएर तस्करीको कुखुरा नेपाली बनेर मुख्य सहरका पसल, कोल्डस्टोरहरुमा पुग्छ।

भारतबाट मासुजन्य वस्तु आयात नेपालमा प्रतिबन्धित छ। तर भारतसँग नाका जोडिएको जिल्लाबाट ठुलो मात्रामा कुखुरा, चल्ला, तयारी मासु, अण्डा तस्करी भइरहेको छ। कुखुराजन्य मासुको उत्पादनमा संलग्न व्यवसायीहरूका अनुसार हरेक वर्ष भारतबाट नेपालमा १५ अर्ब बराबरको भारतीय कुखुरा बजारमा पुग्ने गरेका छन्।

सीमामा सशस्त्र प्रहरी अनि नेपाल प्रहरी नखटिएका हैनन्। अधिकांश स्थानमा तस्करीको बाटो र तस्करीमा संलग्नहरूबारे उनीहरू जानकार देखिए। कतै राजनीतिक संरक्षण, कतै जोखिमपूर्ण बस्ती त कतै उनीहरूकै मिलेमतोमा तस्करी भइरहेको देखियो। रइस खानले सञ्चालन गरेको आलम पोल्ट्री फार्मका लागि भारतबाट अवैध रूपमा कुखुरा तस्करी गर्दै उनका कामदार

बौधिमाई नगरपालिका ५ मा सञ्चालित राजु पोलट्री फर्ममा  भारतको पूर्वी चम्पारणमा सञ्चालित हरियाणा चिकेन सेन्टरबाट कुखुरा ल्याएको बिल नै फेला पारेको थियो। बिलको परिणाम थोरै देखिन्छ। तर दिनभर पटक-पटक तस्करी हुँदा मात्रा धेरै हुन्छ। रौतहटमा भारतबाट कुखुरा ल्याउन नत सुरक्षा निकाय सक्रिय देखिए न स्थानीय कुखुरा व्यवसायीहरू नै। 

रौतहटको नेपाल- भारत सीमामा नेपाली कुखुरा पाल्ने व्यवसायीको भन्दा पनि तस्करको रजगज देखियो। तस्करीबारे सामान्य कुराकानी गर्दा पनि स्थानीय भेला भएर कुट्न आउने अनि राजपुर नगरपालिकाको नेपाल भारत सीमा नाका नजिक अपरिचितलाई प्रवेशमा समेत प्रतिबन्ध देखियो।

सुरक्षाकर्मीसँग यसबारे जिज्ञासा राख्दा पूर्व जानकारी दिएर, सुरक्षाकर्मीसहित मात्र जान सुझाव दिएका थिए।