बुधबार १९ मंसिर, २०८१

नेपाली समय

रामग्रामले बुद्ध जयन्तीको अवसरमा पण्डितपुरबाट रामग्राम स्तूपा सम्म धातु जात्रा निकाल्ने

रामग्रामले बुद्ध जयन्तीको अवसरमा पण्डितपुरबाट रामग्राम स्तूपा सम्म धातु जात्रा निकाल्ने

परासी, ९ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । रामग्राम नगरपालिकाले नगरमा रहेको पर्यटकीय क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्नको निम्ति बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।

नगरले धातु जात्रा निकाल्न लागेको नगरप्रमुख धनपत यादवले जानकारी दिए  । उनले गत वर्ष जस्तै यस वर्ष पनि नगरपालिकाले बुद्धको मावली दाबी गरिएको स्थल रामग्राम १८ पण्डितपुरदेखि बुद्धको एक मात्र सिङ्गो अस्थीधातु सुरक्षित रहेको स्थल रामग्राम स्तूप सम्म धातुजात्रा गर्न लागिएको बताए ।

आज नगरमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख धनपत यादवले  पण्डितपुर बाट बिहान ७ बजे हात्ति बाट सुरु हुने धातु जात्रा विभिन्न  स्थान परिक्रमा गरी ५ घण्टा पछि रामग्राम स्तूपमा पुग्ने जनाए । श्रीलङ्काबाट ल्याइएको बुद्धको अस्थीधातुलाई हात्तीमा राखेर परिक्रमा गर्ने र आम सर्वसाधारणले समेत दर्शन गर्न पाउने व्यवस्था गरिने नगर प्रमुख यादवले बताए ।

नगर प्रमुख यादवले पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य बुद्ध स्थलको विकासमा चासो नदिएको गुनासो गरेका थिए  । कोषका पदाधिकारीहरूलाई पटक पटक यस विषयमा ध्यानाकर्षण गराएको उनको भनाई थियो । लुम्बिनीमा मात्र नभई कोषले रामग्राम स्तूप लगायतका क्षेत्रमा पनि बुद्ध जयन्ती भव्यताका साथ मनाउनुपर्ने भएपनि कोषले चासो नदिएका कारण नगरपालिकाले गत वर्ष देखि धातु जात्रा सहितको कार्यक्रम आयोजना गरेको बताए ​​​​​​।

सो क्रममा उपप्रमुख सम्झना चौधरीले सप्ताहव्यापी रूपमा आयोजना गरिएको खेलकुदका कार्यक्रममा युवाहरू उत्साह थपेको बताईन् । नगरपालिको बुद्ध जयन्तीको अवसरमा भलिबल, फुटबल, तेक्वान्दो, ब्याड्मिन्टन, क्रिकेट लगायतका खेलकुद प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले आम सर्वसाधारणले समेत बुद्धको अस्थीधातुको दर्शन गर्न पाउनु गर्वको विषय भएको बताए  । नगरपालिकाले गत शुक्रबार पण्डितपुरमा एक कार्यक्रमको आयोजना गरी बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको थियो ।