कीर्तिपुर, ६ जेठ । त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूले अब गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि पनि निष्कृय नभई अनुसन्धान र प्रकाशनलाई निरन्तर जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले त्रिविमा अब चाँडै नै अन्तर्राष्ट्रियस्तरको एकेडेमीक अडिटको शुरुवात गर्ने र विश्वव्यापी प्रक्रियामा विश्वविद्यालयलाई समावेश गराउने बताउनु भयो । विश्वविद्यालयको विश्वव्यापी वरियतामा भन्दा पनि शैक्षिक परीक्षणमा जोड दिनुपर्ने उहाँले बताउनु भयो ।
गुणस्तर सुनिश्चितता प्रत्यायनका लागि तेह्रथुम बहुमुखी क्याम्पसले तयार पारेको स्वः अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाध्यक्ष प्रा.डा. केसीले तेह्रथुम जिल्लाको दुर्गम स्थानमा रहेको आङ्गिक क्याम्पसले स्थानीय विषयवस्तुहरू जस्तै भाषाभाषी, भेषभुषा, जातजाती, धर्म संस्कृति आदिको अनुसन्धानको सम्भावनालाई पहिचान गरी फ्याकल्टीहरुलाई अनुसन्धान केन्द्रीत गर्नुपर्ने सूझाव दिनु भयो । छोटो समयमा तेह्रथुम क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायनको लागि आवश्यक प्रक्रियाहरु पुरा गर्दै मेहनतका साथ प्रतिवेदन तयार पारेकोमा दुर्गम जिल्लामा बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको बताउनु भयो ।
विश्व बैंकका सहयोगमा विश्वविद्यालय अनुदान आयोगबाट हुँदै आएको क्यूएए प्रक्रियाबाट सफलता पाएर सबैथोक हुन्छ भन्ने सोच्नुभन्दा पनि यसले थप जिम्मेवारी थपिने बोध गर्नु उपयुक्त हुने उल्लेख गर्नुहुँदै उहाँले विश्वविद्यालयको पहिलो ध्येय उच्च शिक्षा प्राप्त दक्ष जनशक्तिको रूपमा मानव संशाधन उत्पादन गर्नु रहेको बताउनु भएको हो ।
क्याम्पस प्रमुख पोष्टराज लामिछानेले आफू प्रमुखको जिम्मेवारीमा गएको एक वर्ष मात्र भएको बताउनु हुँदै शुरुवातदेखि नै दस्तावेजीकरण गर्दै क्याम्पसमा दिन रात खटेर एक वर्षमा एक सय बीस भन्दा बढी औपचारिक कार्यक्रमहरू गरी यो प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । उहाँले स्वः अध्ययन रिपोर्ट प्रक्रियाका न्यूनतम् शर्तहरु पुरा गरेर अगाडि बढेको बताउनु हुँदै यो प्रक्रियाबाट क्याम्पसको भौतिक, प्रशासनिक र शैक्षिक विकासमा धेरै परिवर्तन गर्न सम्भव भएको बताउनु हुँदै अझै केही व्यवस्थापन पक्षलाई थप व्यवस्थित रूपमा व्यवस्थापन गर्नुपर्ने काम बाँकी रहेको बताउनु भयो ।
वि.सं. २०१७ सालमा स्थापित क्याम्पसमा हाल मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायमा दुई सय ३३ विद्यार्थीहरू अध्ययनरत रहेको, २० जना शिक्षक र ९ जना प्रशासनिक कर्मचारीले क्याम्पस सञ्चालन भइरहेको बताउनु भयो । उहाँले क्याम्पसमा पहिलो पटक विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रम अन्तरगत नन क्रेडिट कोर्षहरु ४० घण्टे उद्यमशीलता विकास कार्यक्रम र ४५ घण्टे कम्प्युटर आधारभूत तथा ९० घण्टे कम्प्युटर एडभान्स कोर्षहरु सञ्चालन गर्न सफल भएको पनि जानकारी दिनु भयो ।
अनुगमन निर्देशनालयका निर्देशक विष्णु खनालले तेह्रथुम जिल्लाको दुर्गम इलाकामा रहेको आङ्गिक क्याम्पसको स्थापना कालमा ऐतिहासिक महत्त्व रहेको र क्याम्पसप्रति हालसम्म पनि स्थानीय जनसमुदायको नितान्त माया र ममता रहेको आफूले पाएको बताउनु भयो ।
क्यूएए युनिट अन्तरगत विज्ञ प्रा.डा. कृष्णदास मानन्धरले विश्वविद्यालय अनुदान आयोगको ८ बटा आधारभूत वेन्चमार्कहरु अन्तरगत २९ वटा प्रश्नहरू आधारभूत रूपमा र १२० वटा प्रश्नहरू अङ्क प्रदान गर्ने गरी सोधिने व्यवस्था रहेकोमा कम्तीमा ५० प्रतिशत अङ्क प्राप्त गर्ने क्याम्पस, विभागहरूलाई प्रतिवेदन स्वीकार गरी अगाडि बढ्न सिफारिस गर्दै आएको जानकारी दिनुभयो । गुणस्तर सुनिश्चितताका लागि प्रक्रियागत जटिलता रहेता पनि गर्न सकिने अवस्था रहेको उहाँले बताउनु भयो । हालसम्म १५ वटा आङ्गिक क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गरिसकेको र ३७ वटा क्याम्पस, विभागहरू प्रतिवेदन पेश गरी प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा अनुगमन निर्देशनालयका सदस्य एवम् तेह्रथुम क्याम्पसका पूर्व क्याम्पस प्रमुख हिक्मतकुमार रायाले क्याम्पसको विगतको अवस्थाभन्दा अहिले परिवर्तन आएको र क्याम्पसले जिल्लाको त्यस दुर्गम क्षेत्रमा पनि विद्यार्थी संख्या वृद्धि गरी शैक्षिक योगदान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रमको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नुहुँदै क्यूएए युनिटका निर्देशन प्रा.डा. प्रेमबहादुर थापाले त्रिविका क्याम्पस तथा विभागहरूलाई यो प्रक्रियाको लागि युनिटले निरन्तर सहजीकरण गरिरहेको बताउनु भयो ।
कार्यक्रममा विज्ञ प्रा.डा. बालमुकुन्द भण्डारी र सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमबहादुर श्रेष्ठको समेत सहभागिता रहेको थियो ।