मंगलबार ०४ असार, २०८१

नेपाली समय

‘खुसी हुन चुरेकाछवासीबाट सिक्नू’

‘खुसी हुन चुरेकाछवासीबाट सिक्नू’

(गोपालप्रसाद बराल)

महोत्तरी, ४ जेठ ! महोत्तरीको सुदूरउत्तरी चुरेकाछबस्तीमा पुग्नुभएको छ ? छभने सम्झनुस् त त्यहाँको जनजीवन ! 

नदी किनार, कान्लाकान्लीको बास । न बाटो, न पुलपुलेसा । बर्खाभरि यहाँका बासिन्दा खोल्सा वारिपारिका छिमेकीलाई पनि भेट्न पाउँदैनन् । न हाटबजार, न त अस्पताल । मिठोमसिनो खाना, राम्रो नाना, ओतलाग्ने सुरक्षित छाना, असञ्चो भइहालेमा स्वस्थोपचार गर्ने संस्था, अहँ ! ती पनि छैनन् ।

अहिले पनि यहाँस्थित चुरेकाछवासीले भात, मनमाफिकको दाल, तरकारी र मिठोमसिनो खान चाडपर्व कुर्नुपर्छ । स्वास्थोपचारका लागि शिविर आउनुपर्छ । स्वच्छ पानीका लागि सरकार र सङ्घसंस्थाले विशेष अभियान नै सञ्चालन गर्नुपर्छ । 

तल मधेसका फाँटमा चुरे दोहनप्रति चिन्ता जाहेर गर्दै मधेस मरुभूमिकरण बन्न लाग्यो भनेर धेरैले धारेहात लाउँछन् । त्यो आवाजले उठिबास पो लाउने हो कि भन्ने पीर पर्दोरहेछ यहाँ ।

अभाव छ । त्रास छ । भौगोलिक, आर्थिक, सामाजिक समस्या छन् । अरु नेपाली सरह रहरलाग्दो जीवन बाँच्ने चाहना छ । तथापि स्थानीयले कहिल्यै आफ्ना समस्या तेस्र्याएर राज्यलाई समस्यामा पार्दैनन् । न त कुनै मागदाबी गर्छन् । अनकण्टारको बास, भौगोलिकरूपमा दुर्गम तर पनि निस्फिक्री बाँचिरहेका छन् चुरेकाछवासी । अभावमा पनि रमाउन सक्नु यहाँको विशेषता हो । स्थानीयले सरकार र सरोकारवालाले देखाउने सामान्य सहानुभूतिमा पनि यी तमाम समस्या क्षणभरमै भुलिदिन्छन् ।

एकसाता अघि नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा र बर्दिवास जनसेवा अस्पतालले बस्तीमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहभागी स्थानीय भन्दै थिए, “बेलाबेला हुने यस्ता कार्यक्रम, स्वास्थ्य जाँच र उपचार सेवाले अकालमै मरिँदैन होला भन्ने विश्वास जाग्छ ।”

लामो समयपछि आफ्नै बस्तीमा स्वास्थ्य जाँच र उपचार सेवा पाएपछि हामीलाई सम्झने पनि छन् भन्दै दङ्ग हुनुहुन्थ्यो स्थानीय कवीरमान बम्जन । उहाँले भन्नुभयो, “गरिबी, अशिक्षा, कुपोषण र अभावको जाँतोमा पिसिँदा भोगेका पीडा यस्ता सहानुभूति र सहयोगले बिर्साउँदा रहेछन् ।”

कहिल्यै विकासे योजना नपुगेका काछबस्तीमा यसअघि बर्दिवास नगरपालिका र रोटरी क्लब बर्दिवासले खानेपानीको सञ्चय गरेर धारा उपलब्ध गराएको गुन पनि काछवासीले बिर्सेका छैनन् । “हामी त बर्खा लागेपछि बाढीकै धमिलो पानी खाएर गुजारा गर्दै थियौँ, परार खानेपानीको धारा जोडिदिनुभयो । त्यसले निकै राहत भएको छ”, दुई वर्षअघिको गुन सम्झँदै बर्दिवास–११ का बम्जनले भन्नुभयो ।

बर्दिबास नगरपालिकाका वडा नं १० र ११ मा पर्ने यस क्षेत्रमा १० भन्दा बढी बस्ती छन् । यी बस्तीमा हाल तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेगरी त्यसताका धारा जडान गरिएका थिए । बस्तीबीचमा एउटा विद्यालय छ । सो विद्यालयमा यही शैक्षिकसत्रबाट कक्षा ९ सम्मको पढाइ हुन थालेको छ । यहाँ विद्यालय र खानेपानीको धाराबाहेक अन्य विकास पूर्वाधार छैनन् । अब भने बस्ती विकासका लागि सरोकारवाला र स्थानीय सरकारको ध्यान पुग्ने आशा जागेको बम्जनले सुनाउनुभयो ।

यसपटक दुई वर्षपछि स्थानीय झ्याउरे बस्तीमा चिकित्सक र अन्य सरोकारवालाको उपस्थिति हुँदा सरकार घरआँगनमा आएको भन्दै प्रफुल्ल हुनुहुन्थ्यो बर्दिवास–१० स्कुलडाँडाका ७० वर्षीय सलामसिंह थिङ । “धेरै दिन भयो आँखा नदेखेर संसार अँध्यारो भएको, डाक्टरसापले उपचारपछि चश्मासमेत दिएपछि अहिले देख्ने भएको छु”, थिङ् भन्नुहुन्छ, “हामीलाई आँखा देखाइदिनेको जय होस् ।”

यसैगरी बर्दिवास–११ भाङ्रे बस्तीकी ७५ वर्षीया कुमारी गोले पनि चश्मा लाएर आँखा देख्ने भएपछि निकैै खुसी हुनुहुन्छ । “आँखाको उपचार गरे, चश्मा दिएपछि त छ्याङ्ङै देख्ने भएँ”, गोलेले भन्नुभयो, “गानोगोलाले पनि हैरान थिएँ, त्यसको दबाई (औषधि) दिएका छन् । सञ्चो होला भन्ने आशा छ ।”

यसैगरी बर्दिवास–११ पूर्वीखोलाका पूर्णबहादुर बम्जन पनि बस्तीमै आएर स्वास्थ्योपचार गरिदिएपछि प्रफुल्ल हुनुहुन्छ । “खै, तीनवटा सरकार छन् भन्छन् । हामी खोलाखाँकरमा बस्नेलाई सधैँ सम्झने फुर्सद हुँदैन । यसपटक भने हाम्रा नाडी छाम्न आउनुभयो, यसरी आइदिँदा आडभरोस लाग्छ”, ७५ वर्षीय बम्जनले खुसी हुँदै भन्नुभयो ।

बर्दिवास–१० स्कुलडाँडाकी डोल्मामाया मोक्तानले उमेरले ७० कटेपछि घरआँगनमै स्वास्थ्य जाँच र सञ्चोबिसञ्चो सोधेपछि आधा रोग निको भएको अनुभूति सुनाउनुभयो । “डाक्टरले घरमै आएर सबै हालचाल सोधे, जाँच गरे, दबाई पनि दिए, अब रोगब्याधी निको होला भन्ने आशा जागेको छ”, मोक्तान भन्नुहुन्छ, “बेलाबेला यसैगरी हालचाल सोध्न आइदिए त अझै केही वर्ष बाँचिन्थ्यो कि !”

बर्दिवास चोकबाट करिब ३० किलोमिटर दूरीमा पर्ने चुरेकाछका पिपलेखर्क, माझखोला, तीनपिपले, तीनतले, झ्याउरे, भाङ्रे, गर्तीदोभान, सातदिने, भालुझोरा र पूर्वीखोलासहितका दशभन्दा बढी बस्तीलाई केन्द्रित गरी रेडक्रस बर्दिबास उपशाखाले सञ्चालन गरेको शिविरमा छ सय ५० जनाले स्वास्थ्य जाँच र उपचार सेवा लिएका थिए । 

यी बस्ती खयरमारा बजार कटेर खयरमारा खोला हुँदै सात किलोमिटर  छिचोलेपछि सुरु हुन्छन् । यहाँ यातायात, स्वास्थ्य सेवा र अन्य अवसर पुगेका छैनन् । यहाँको बाटो नै खयरमारा खोलाको बगर हो । कात्तिकदेखि जेठसम्म खोलाको बगर हुँदै आउजाउ गर्न सकिए पनि बर्खा लागेपछि यहाँ सम्पर्क सञ्जाल टुट्छ । सिन्धुलीको मरिनसँग जाडिएका यी बस्तीमा राज्यको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ रेडक्रस महोत्तरी शाखाका सदस्य मुकुन्दप्रसाद पौडेल ।

गरिबी, सामाजिक दुरावस्था, शिक्षा र चेतनाको कमी तथा कुपोषणका कारण धेरैजनामा स्वास्थ्य समस्या देखिएका शिविर टोलीका चिकित्सकको निष्कर्ष रहेको नेत्रविशेषज्ञ डा दिना ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आँखा, दाँत र पाठेघर जाँच गरिएको थियो । 

त्यसक्रममा दुई सय ७० जनाको आँखा जाँच र उपचार, दुई सय ६५ जनाको दाँत र गिँजा तथा एक सय १५ जनाको पाठेघर जाँच र उपचार गरिएको रेडक्रस बर्दिवास उपशाखाका सभापति रेवन्त कार्कीले जानकारी दिनुभयो । उहाँले रोगको अवस्थाअनुसार उपचार, थप परामर्श, आवश्यकतानुसार अन्य अस्पतालमा रेफर गरिएको बताउनुभयो ।

शिविरमा स्वास्थ्य जाँच र उपचार सेवा लिनेमा चार सयभन्दा बढी महिलासमेत सहभागिता रहेको थियो । बर्दिवास नगरप्रमुख प्रल्हदकुमार क्षेत्री राजनीतिक विभाजनमा बर्दिवास नगरपालिकामा गाभिए पनि सो क्षेत्रलाई नगर भन्न लायक बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुहुन्छ । उहाँ सबैको सहयोगमा योजनाबद्ध रूपमा विकासका काम अगाडि बढाएमा मात्रै सो क्षेत्रका जनताले सुविधा पाउने उहाँको बुझाइ छ । “यी बस्तीमा स्वच्छ खानेपानी, आधारभूत शिक्षा र स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन लागिरहेका छौँ । पहिलेका भन्दा राज्यको पहुँच बढ्दै छ”, नगरप्रमुख क्षेटीले भन्नुभयो, “अब काछवासीले सरकार पुगेको अनुभूति लिनेगरी कामलाई अगाडि बढाउँछौँ ।” उहाँले चुरेकाछका बस्तीमा गत वर्ष नै रोटरी क्लब अफ बर्दिवासको सहकार्यमा स्वच्छ खानेपानीको प्रबन्ध गरिएको र झ्याउरेमा माध्यमिक तहको पठनपाठन सुरु भएको जानकारी दिनुभयो ।

चुरेकाछका बर्दिबास–१०, ११ मा १० भन्दा बढी बस्ती छन् । यी बस्तीमा ९५ प्रतिशत तामाङ जातिको बसोबास छ । अन्यमा केही कामी, दमाई र सार्कीसहित दलित समुदाय छन् । बर्दिबास–१० का वडाध्यक्ष प्रमोदकुमार मोक्तानका अनुसार यहाँ करिब तीन सय परिवारको बसोबास गरिरहेका छन् ।

अरु समस्या त छँदैछन् राम्रो बाटोघाटो नहुनु यी बस्तीको मुख्य समस्या हो । त्यसकारण हरेक वर्षायाममा अधिकांश समय बाह्य सम्पर्कबाट बञ्चित हुनु यहाँको विवशता हो । बर्दिबास–११ का वडाध्यक्ष पूर्ण बल यो अवस्था अन्त्यका लागि भरपर्दो बाटो निर्माणमा तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुहुन्छ । “सानो रकमले हुने काम हामी स्थानीय तहबाटै गरिरहेका छौँ तर सडकबाटो निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकार मिल्नुको विकल्प छैन । नगर भन्ने तर सोअनुसार स्तरोन्नति र सेवासुविधा विस्तारको काम नगर्ने हो भने त्यसले हामी सबैलाई गिँज्याइरहने छ”, उहाँले भन्नुभयो ।