शनिबार ०१ असार, २०८१

नेपाली समय

सदनमा कुरा त राख्छु, संबोधन हुँदैनः नेत्री सिंह

सदनमा कुरा त राख्छु, संबोधन हुँदैनः नेत्री सिंह

काठमाडौँ, ३१ वैशाख । राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन । पछिल्लो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले भने राजनीतिमा महिला समावेशीतालाई बाध्यकारी बनाइदिएको छ । फलस्वरुप चाहेर वा नचाहेर घुम्टो पन्छाउँदै घरदेखि सदनसम्म आउन मधेसका महिला तयार हुनुहुन्छ । 

परिवारभित्रको जिम्मेवारी, राजनीतिक शक्तिको सङ्घर्ष र संसदसम्मको भूमिकामा एक महिला कसरी आफूलाई तयार बनाउनुहुन्छ ? यसबीचका चुनौतीहरु के कस्ता खेप्नु पर्छ र घरदेखि सदनसम्मको अनुभवमा के फरक छ ? पहिलो पटक प्रतिनिधिसभामा सदस्य निर्वाचित हुनुभएकी जनमत पार्टीकी सांसद् बिनिताकुमारी सिंहसँग परिवार र संसदको सङ्घर्ष अनुभव रोचक छ । मधेसको किसान आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएकी सिंह सिराह क्षेत्र नं. २ बाट आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै समानुपातिक सांसदमा चुनिनु भएको हो । सांसद् सिंहले  समाचारदाता मधु शाहीसँग सदनको अनुभव यसरी राख्नुभएकोछ । 

राजनीतिमा आउनुअघिको दिनचर्या कस्तो थियो ?

राजनीतिमा आउनुअघि घरपरिवार सम्हाल्नमै व्यस्त थिएँ । हामी महिलाले घरपरिवार सम्हाल्नु पर्छ । अनि मात्रै अरु क्षेत्रमा सक्रिय हुनुपर्छ । सबै रोजाइ महिलाले पछि छान्नुपर्छ । पहिला परिवार नै हेर्नुपर्छ, परिवार नै सम्हाल्नु मुख्य दायित्व हुन्छ । 

परिवार सम्हाल्दै राजनीति गर्दा के कस्ता चुनौती आउँदा रहेछन् नि ?

पहिलो कुरो त मधेसका महिला घुम्टो उठाउँदै अघि बढ्नु पर्ने मुख्य चुनौती छ । म पनि त्यहि माटोकी हुँ । म त्यो घुम्टोबाट अछुतो कसरी हुन सक्छु ? तर, मलाई राजनीतिक चेत छ । त्यसैले परिवारमा मात्रै रुमलिएर हुँदैन, देश र जनताका लागि पनि केही गर्नुपर्छ भन्ने भावना सङ्गालेकी छु । त्यही भावनाले गर्दा नै म घुम्टो खेलेर सदनमा पुग्न सफल भएकी हुँ । मधेसमा अत्यन्त सीमित महिला राजनीतिमा आउने अवसर पाउँछन् । जुन मैले पाएकी छु । यसको श्रेय परिवार र श्रीमानलाई जान्छ । 

चुनौतीचाहिँ के रहेछन् त ? 

चुनौती थुप्रै छन् । दुई वर्षअघि प्रतिनिधिसभाको सांसदको शपथ लिँदा मेरो छोरो चार वर्षको थियो । अहिले छ वर्ष पुगेको छ । स्कुल जान्छ । तपाईंले अनुमान पनि लगाउन सक्नुहुन्न मेरो दैनिकीको व्यस्तता कति छ भनेर । बिहान उठेदेखि बेलुकासम्म कामले फुर्सद पाउँदिन । छोरालाई खाना पकाएर खुवाऊ, स्कुल पुर्याऊ, परिवारको सेवा गर अनि फेरि संसदमा जाऊ । राति परिवार मस्त निदाउँछन्, म संसदको विधेयक पढ्न थाल्छु । म संसदको शिक्षा स्वास्थ्य समितिमा पनि सदस्य छु । समितिको दैनिकजसो बैठक हुन्छ । त्यसको लागि अध्ययन गर्नुपर्छ । परिवार र जनताको सेवा एक साथ गर्दै आएकी छु । 

परिवारको अनुभव त सबै महिलाको सन्दर्भमा लगभग उस्तै हो । संसद्को चाहिँ अनुभव कस्तो हुँदो रहेछ ?

दुई वर्ष अघि संसद बैठकमा पहिलो पटक पस्दा रमाइलो लाग्यो । तर, पछि बुझ्दै गएँ यहाँ रमाइलो होइन, गम्भीर हुनुपर्दो रहेछ । जनताप्रति जिम्मेवार हुने क्षेत्र रहेछ । जनताकै लागि बोल्ने थलोमा पुगेकी रहेछु । संसदको दोस्रो वर्ष मात्रै यहाँको भाव बुझ्न थालेँ र मैले खासगरी जहाँबाट निर्वाचित भएकी थिएँ त्यहाँका जनतासँग भेट्न थालेँ । उहाँहरुको समस्या सुनेर, देखेर, बुझेर संसदको बैठकमा उठाउँदै आएकी छु । 

कस्ता समस्या राख्दा रहेछन् जनता ?

सिरहा जिल्ला शिक्षा, स्वास्थ्य, रोजगार सबै हिसाबले पछि परेको ठाउँ हो । खासगरी यहाँका महिलाको स्थिति अझै दर्दनाक छ । मधेसी दलितको स्थिति उस्तै पीडादायी छ ।

भोक, गरिबी, अभाव र असुरक्षा लगायत जनताका थुप्रै समस्या छन् । म एउटा सांसदले उहाँहरुको कुरा धैर्यपूर्वक सुनिदिए मात्रै पनि धेरै राहत मिल्छ जस्तो लाग्छ । त्यसैले म गाउँमै जान्छु र उहाँहरुको कुरा सुन्छु । म महिला सांसद् भएर पनि होला, धेरै गुनासो महिला दिदीबहिनीले मसँग खुलेर गर्नुहुन्छ ।

सिरहाका महिलाका कस्ता गुनासा छन् नि ? 

सिरहाका महिलाहरुका गुनासा थुपै्र छन् । अति सूक्ष्म र महत्वपूर्ण छन् । त्यहाँका महिलाहरु पछिल्लो समय आत्मनिर्भर बन्न चाहनुहुन्छ । आफ्नै खुट्टामा उभिन चाहनुहुन्छ । त्यही अपेक्षाले होला सायद, कपडा सिलाउने मेसिन, धुप बनाउने सामग्री, व्यापार गर्ने लगानी दिनु पर्यो सांसद् ज्यु भन्दै अनुरोध गर्नुहुन्छ । 

अनि तपाईंले पूरा गर्नु भएको छ त उनीहरुका माग ? 

यो प्रश्न तपाईंले गर्नुभन्दा पहिला मैले म आफैँलाई धेरै पटक सोध्ने गरेकी छु । के साँच्चिकै मैले मेरा मतदाताको समस्या सम्बोधन गर्न सकेकी छु त ? उत्तर पनि आफैँले पाउँछु, “छैन” । 

थुप्रै नेताले जनताको माग पुरा गरेकै छौँ भनेर ठोकुवा गर्छन् । तपाईंले त गरेको छैन भन्नुभयो नि ।

म झुटो बोल्न सक्दिनँ । मैले जे गरेकी छु, त्यो गरेकी छु भन्छु । जे गरेको छैन छैन नै भन्छु । मेरा जनतालाई मैले वास्तवमै केही गर्न सकेको छैन । प्रयास भने निरन्तर गरिरहेको छु । नतिजा आउने प्रतीक्षामा छु । तर, सांसद एक्लैले मात्रै जनताको आवश्यकता पुरा गर्न सक्दैन । हामी जनताको कुरा सदनमा पु¥याउँछौँ । सरकारले सुन्दैन, कसरी माग पुरा हुन्छ ? 

सांसद्को कुरा सरकारले सुन्दैन ? 

सुन्छ मात्रै संबोधन हुँदैन । यो मेरो नितान्त व्यक्तिगत अनुभव हो । अरुसँग मेल नखान सक्छ । मधेस जस्तो पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्ने महिला हुँ । मैले धेरै पटक सदनमा मधेसका जनताको आवाज उठाएको छु । चाहे त्यो मधेसको शिक्षाको क्षेत्रमा होस्, चाहे स्वास्थ्य तथा रोगारको क्षेत्रमा होस् । विशेषगरी सिरहामा स्नातक तहको इन्जिनियर विश्वविद्यालय खोल्नुपर्ने मेरो जोडदार माग रहेको छ । किनकी यहाँका अधिकांश युवा पढ्नकै लागि भारत पुग्छन् । साथै पुल, सडकजस्ता पूर्वाधार निर्माणका कुरा उठाएको छु । सिरहामा चिस्यानकेन्द्र जरुरी छ, त्यो पनि अर्को महत्वपूर्ण विषय हो । 

तपाईं आफैँले भन्नुभयो, जनतालाई सहयोग गर्न पाइनँ भनेर । के ले रोक्यो सहयोग गर्न ?

सबैभन्दा ठुलो अवरोध भनेकै आर्थिक रहेछ । सांसद् जनतासँग प्रत्यक्ष ठोक्किन्छन् । एका अर्थले सांसद जनताको गुनासो पेटीका हो । केही सहयोग गरिहाल्यौं भन्यो भने आफूसँग बजेट छैन । मैले धेरै पटक रकम (फन्ड) जुटाउनका लागि अर्थ मन्त्रालय, गृह मन्त्रालय, महिला मन्त्रालय लगायत विभिन्न मन्त्रालय धाएको छु । सबैबाट एउटै उत्तर आउँछ, “माननीयज्यू, सहयोग गर्न त हुन्थ्यो । के गर्ने बजेटै छैन ।” अहिले त सदनमा जनताको पीडा थाँती राखेर सत्ताको लडाईं मात्रै भइरहेको देख्छु ।