शनिबार १२ जेठ, २०८१

नेपाली समय

खगेन्द्र सीता परोपकारी संस्थाद्वारा विपन्न र जेहन्दार छात्रछात्राको अभिभावकत्व ग्रहण

खगेन्द्र सीता परोपकारी संस्थाद्वारा विपन्न र जेहन्दार छात्रछात्राको अभिभावकत्व ग्रहण

धनकुटा (चौबिसे), ५ वैशाख । खगेन्द्र सीता परोपकारी संस्थाका संस्थापक खगेन्द्र कुँवरले विपन्न र जेहन्दार छात्रछात्राहरूको अभिभावकत्व ग्रहण गर्नु भएको छ। कुँवरले धनकुटाको चौबिसे -६, राजारानी स्थित पुण्य माध्यमिक  विद्यालयका २ जना छात्राछत्र क्रमशः सगुन लिम्बू र  विपन्न र जेहन्दार छात्र दिपेन लिम्बूलाई अभिभावकत्व ग्रहण गर्नु भएको हो ।

शैक्षिक सत्र २०८० मा सगुन लिम्बू कक्षा ६ मा प्रथम भएकी थिइन् भने दिपेन लिम्बू कक्षा ९ मा चौथो तथा विपन्न र जेहन्दार छात्रमा चयन भएका थिए। संस्थाका संस्थापक कुँवरले यही शैक्षिक सत्र सत्रको पठनपाठनमा हुने सगुन र दिपेनको सम्पूर्ण खर्चको दायित्व (प्रति विद्यार्थी करिब तीस हजार रुपैयाँ बराबरको) खर्च बेहोर्नु भएको छ । उनीहरुको अनुशासन र सिकाइको नतिजा सन्तोषजनक भएमा यो सहयोग निरन्तर रहने गरी त्रिपक्षीय सम्झौता समेत भएको छ । सम्झौता अनुसार दाताले उल्लिखित  विद्यार्थीहरूका लागि खाजा, स्टेशनरी, थप पाठ्यसामग्री, अतिरिक्त कक्षाको शुल्क, यातायात शुल्क (स्कुल बस भाडा) पोशाक आदिमा हुने सम्पूर्ण खर्च व्यहोर्नुहुने भएको छ। 

खगेन्द्र सीता परोपकारी संस्थाका संस्थापक खगेन्द्र कुँवर भन्नुहुन्छ, "विद्यालय जस्तो पवित्र मन्दिरमा मेरो सानो सहयोगले कसैको उज्ज्वल भविष्य बनाउन टेवा पुग्छ भन्ने आशाका साथ म र मेरो परिवारले यो निर्णय लिएका हौँ। म र मेरो परिवार अन्यत्र समेत यस्तै सामाजिक काममा लागि रहेका छौँ। आफू र आफ्नो परिवारको जिम्मेवारीमा मात्र सीमित नरही समाजको लागि काम गर्न पाउँदा हामी असाध्यै खुशी छौँ। भोली र भविष्य कसैले देखेको छैन, सायद देशकै बागडोर समाउने बच्चाहरू यसै विद्यालय मै हुन पनि सक्छ। त्यसैले उत्प्रेरण जगाउन र आर्थिक अभावकै कारणले उनीहरुको शिक्षामा बाधा नहोस् भन्ने हेतुका साथ म र मेरो परिवारले यो निर्णय लिएका हौँ।"

यो खासै ठुलो सहयोगको रूपमा नभए पनि आफ्नो यो कार्यले अरूलाई समेत अनुसरण हुन सके देशैभरका कयौँ बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनु नपर्ने अवस्थाको सृजना हुने कुँवरले विश्वास व्यक्त गर्नु भयो। जुन राष्ट्र र समाजले शिक्षाको महत्त्व बुझेका छन्, त्यो राष्ट्र र समाजले संसारमै सभ्यता र प्रचुर विकासको अग्रपङ्क्तिमा छन्। विश्वका कयौँ मुलुकहरू चन्द्र युगबाट मङ्गल यात्रामा लागिसके पनि नेपाल र नेपाली अझै रोग, भोग, अभाव मै गुज्रनु परेको तीतो यथार्थ राख्नुभयो। देशभर सगुन र दिपेनहरु कयौँ रहेका छन् भन्दै मनकारी मनहरूले आफूले जस्तै उनीहरुको सुन्दर गन्तव्यको सहयोगी बन्नसके उनीहरूले मात्र नभएर राष्ट्रलाई नै चाहिने कुशल जनशक्ति निर्माण गर्नमा ठूलो मद्दत मिल्ने बिश्वास व्यक्त गर्नुभयो।  

पुण्य माध्यमिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर राई भन्नुहुन्छ, "दाताले महान्, परोपकारी र स्तुत्य कार्य गरी मानव सेवाको अनुपम उदाहरण प्रदान गर्नु भएको छ। उहाँको यस महान् कार्यले यस विद्यालय परिवार कृतज्ञ भएका छौँ। उहाँको यो सहयोगले सगुन र दिपेनको आगामी शैक्षिक यात्रा सहज त भएकै छ, त्यो भन्दा बढी उहाँको यो कार्य समाज र राष्ट्रमा नै अरूले समेत अनुसरण गर्न लायक छ। यस कार्यको लागि सिङ्गो  पुण्य माध्यमिक  विद्यालय परिवार यस कार्यप्रति धन्यवाद् ज्ञापन गर्दछौँ ।"

सामुदायिक विद्यालय समुदाय कै भएको र यसको श्रीवृद्धिमा समाजमा रहनु भएका कुँवर जस्तै मनकारी व्यक्तिहरूको सहयोगको अतुलनीय योगदान रहने भन्दै राईले खुशी व्यक्त गर्नु भयो। 

विद्यालयका सहायक प्रधानाध्यापक युवराज कटुवालका अनुसार, विद्यालयलाई  शैक्षिक, भौतिक र व्यवस्थापकीय दृष्टिले एक अव्वल विद्यालयको रूपमा स्थापित गर्न सबैको सहयोग, साथ र हौसला आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, "खगेन्द्र कुँवर ज्यु र वहाँको परिवारले  गर्नु भएको सहयोगले विद्यालयको श्रीवृद्धिमा अमूल्य योगदान गर्नेछ। हामी सरकारी, गैह्र सरकारी र शुभेच्छुकहरूको सहयोगमा दाता सम्मान स्मारक र विद्यालय उद्यान निर्माण  विद्यालय प्राङ्गणमा मञ्च निर्माण, बास्केटबल कोर्ट निर्माण, छात्रवृत्ति अक्षयकोष विस्तार, एकबाट एक करोड अभियानको निरन्तरता, प्रारम्भिक कक्षाका बच्चाहरूका लागि प्ले स्टेसन निर्माण, विद्यालयको घेराबारा  जस्ता कार्यहरू अगाडि योजना रहेको छ।"