बुधबार ०९ जेठ, २०८१

नेपाली समय

सहिदहरुको सम्मान हुन सकेन : सभापति देउवा

सहिदहरुको सम्मान हुन सकेन : सभापति देउवा
फाइल फोटो

लुम्बिनी, २८ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताउनुभएको छ । 

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको आज हाँ अनावरण गर्दै सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उहाँहरुको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । 

सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पु¥याएको योगदानको चर्चा गर्नुभयो । 

सहिद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको सो  कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले आलोकले अगाडि सार्नुभएका चाहना र आङ्काक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो । 

यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो । विसं २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा बहुदलविरुद्धको समूहले गरेको साङ्घातीक आक्रमणमा परी आलोक सहिद हुनुभएको थियो । सोही घटनामा रुपन्देहीकै रामप्रसाद चौधरीसमेत सहिद हुनुभएको थियो । दुवै जना कांग्रेसका कार्यकर्ता हुनुहुन्थ्यो ।