पश्चिम नवलपरासी, २७ चैत । प्रतापपुर गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका भित्रका पाँच वडामा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमै गएर क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मन्तोष मुरावले जानकारी दिए ।
यही चैत २७ गतेदेखि ३० गतेसम्म पालिकाको वडा नं १ देखि ५ वडा सम्मका सम्पुर्ण गाउँमा क्षयरोग खोज पडताल गर्न स्वास्थ्यकर्मी सहितको टोली पुग्ने भएको छ । क्षयरोग परीक्षण र खोज पडतालका लागि स्थानीय सरोकारवालाहरूलाई अभिमुखीकरण र स्वमसेवक चयन लगायतका सबै तयारी भइसकेको बैदौली स्वास्थ्य चौकीका इन्चार्ज कौशल कुमार यादवले जानकारी दिए ।
सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्य प्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका उनी बताउँछन् । यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवनशैली हो । प्रमुख मुरावले भने, “स्वास्थ्यकर्मी सहितको टोली प्रतापपुर गाउँपालिकाका यी वडाको गाउँ गाउँमा पुग्दै छन् ।
स्वास्थ्य सेवालाई सहज पहुँचमा पुर्याउनका लागि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिने थालेको गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवले जानकारी दिए । प्रतापपुर गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित काम अघि बढाएको अध्यक्ष यादवले बताए ।
पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँमा लिएर स्थानीयको स्वास्थ्य जाँच र उनीहरूको स्वास्थ्य समस्या बारे समाधान गर्न लागि गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष यादवको भनाइ छ ।