रौतहट, १४ चैत । जिल्लाको यमुनामाई गाउँपालिकाका अध्यक्ष शेख साउदले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मर्यादित रूपमा दिन आग्रह गरे । यही चैत १५ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि दुई वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले बताए ।
दुई वटा परीक्षा केन्द्रमा परीक्षाको सम्पूर्ण तयारी पुरा भई सकेको उनले जानकारी दिए । उनका अनुसार यमुनामाई माध्यमिक विद्यालय, झुनखुनवा माध्यमिक परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन उनले आग्रह समेत गरे। यही चैत १५ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तोक्नुका साथै उत्तरपुस्तिका कार्यालयमा र प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाई रौतहटले जनाए ।
शिक्षा विकास तथा समन्वय ईकाइ अधिकारी रामविनय सिंहले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण गर्ने बताए । उनका अनुसार मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोलीले अनुगमन गर्नेछ ।
जिल्लामा ९ हजार ४६९ जनाले यस बर्ष माध्यमिक शिक्षा परीक्षा एसईई मा सहभागी हुने भएका छन् । यहाँ ३९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए। शिक्षा विकास तथा समन्वय एकाई रौतहटले चैत्र १५ गते देखि हुन लागेको परीक्षाको तयारी पूरा भएको जनाइएको हो । बिहीबारदेखि सुरु हुने एसईई परीक्षा चैत्र २७ गते मंगलबारसम्म संञ्चालन रहने कार्यतालिका छ ।
मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी धनुषामा र सबभन्दा कम सप्तरीमा परीक्षा दिने परीक्षार्थीको संख्या रहेको छ । धनुषामा ४८९ जना प्राविधिक तर्फका गरी १२ हजार २१४ जना विद्यार्थी एसईई दिने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।
धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । यसै गरी सप्तरीमा नौ हजार ३२३ जना विद्यार्थी एसईईमा सामेल हुने भएका छन् । त्यस्तै, सिराहामा १० हजार ९२३, महोत्तरीमा नौ हजार ४३१, सर्लाहीमा १० हजार ८९६, बारामा नौ हजार ४४४ र पर्सामा १० हजार ६८ विद्यार्थीले एसईईमा सहभागी हुने छन् ।
मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुने भएको शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।