सोमबार ३१ भदौ, २०८१

नेपाली समय

राजनीतिक अवस्था मौसम झैँ परिवर्तनशील: माधव नेपाल

राजनीतिक अवस्था मौसम झैँ परिवर्तनशील: माधव नेपाल

रौतहट, ९ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवम्  माधव कुमार नेपालले नेपालको राजनीतिक अवस्था मौसम झैँ परिवर्तनशील रहेको बताएका  हुन्। 

सदरमुकाम गौर स्थित निजी निवासमा समाजवादी प्रेस सङ्गठन नेपाल जिल्ला कार्य समिति रौतहटले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मौसम परिवर्तनको ग्यारेन्टी हुँदैन त्यस्तै नेपालको राजनीतिकमा कुन बेला के हुन्छ थाहा नहुने अवस्था रहेको बताए। 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका मन्त्रिहरुको कारण पुरानो गठबन्धन भत्किएको जिकिर गर्दै मुलुकमा सुशासन, गणतन्त्रको स्थायित्वको लागि नयाँ गठबन्धनको निर्माण भएको बताए। 

रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य समेत रहेका नेपालले नेकपा एमाले सँग एकता हुने कुरो अफवाह भएको उल्लेख गर्दै विचार, सिद्धान्त मिले सहकार्य गर्न सकिने जनाए! नयाँ गठबन्धन निर्माण भएको कारण प्रदेशमा सरकार परिवर्तन गर्ने विषयमा समस्या देखिएको बताए। अध्यक्ष नेपालले भने पार्टीलाई बलियो बनाउने तर्फ लागि परेको बताए। सङ्घीयता विरोधी, गणतन्त्र विरोधी, संविधान विरोधी विकास विरोधी सँग कहिले पनि एकता र सहकार्य गर्न नसकिने बताए। 

मुलुकमा रहेको बेरोजगारी समस्या समाधान, मिटर ब्याजीको समस्या समाधानको विषयमा गम्भीर भएर अघि बढ्नु पर्ने प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरेका हुन्।