रौतहट, २७ फागुन । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ४ मा रहेको ब्रह्म कुमारी राजयोग सेवा केन्द्रले आध्यात्मिक प्रवचन तथा शिवध्वजा रोहण कार्यक्रममा गरेको हो ।
हरेक वर्ष महाशिवरात्रिको अवसर पारेर शिवको आराधना तथा शिव महिमाका बारेमा धार्मिक प्रवचन दिने कार्यक्रम अन्तर्गत केन्द्रमा शिवध्वजा रोहण सहित स्नेह मिलन कार्यक्रम हुने गर्दछ । सोही अनुसार ८८ औ शिव जयन्ती पर्वको पावन अवसरमा ब्रह्म कुमारी राजयोग सेवा केन्द्र चन्द्रपुरले यो कार्यक्रम गरेको हो । सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमलसिनाले धर्मको भावले गरिने जुनसुकै कामले पनि पूर्णता पाउने तर्क राख्दै धर्मले मानिसलाई अनुशासन र सत्कर्म गर्ने बाटोतर्फ अग्रसर गराउने विचार राखे । यहाँको ब्रह्म कुमारी राजयोगको भवन निर्माणमा आवश्यक सहयोग गरेको उनले उल्लेख गरे।
विगतका दिनमा हुने गरेका हरेक किसिमका कार्यमा आफूले सहयोग गर्दै आएको र अगामी दिनमा पनि गर्ने उनले प्रतिबद्धता जनाए । सबैको साथ सहयोगले भवन निर्माण कार्यको पूर्णता पाएको उनको भनाई छ । उनका अनुसार भवन निर्माण साझा सहयोग भएकाले यहाँबाट हरेक नागरिकले आध्यात्मिक ज्ञान प्राप्त गर्ने गर्दछन् । समाज परिवर्तनमा आध्यात्मिक ज्ञानको महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले यसले समाजलाई सकारात्मक दिशा तर्फ लैजाने बताए ।
पछिल्लो समयमा शिवरात्री मनाउने भन्दै विभिन्न किसिमका शरिरलाई हानी नोक्सानी हुने पदार्थ सेवन गर्नले समाज नकारात्मक सन्देश फैलिरहेकाले यस तर्फ सबै सचेत बन्नुपर्ने उनको तर्क छ । बालबालिकाहरूलाई सानै उमेर देखि सकारात्मक कुराका बारेमा जानकारी गराउँदै आध्यात्मिक ज्ञान र नैतिक शिक्षाका बारेमा बुझाउन सकियो भने देशले कहिल्यै पनि विखण्डन नआउनेमा उनले जोड दिए । ८८ औ शिव जयन्ती पर्वको पावन अवसरमा आयोजित महाशिवरात्री नवयुग आगमनको महापर्वको बारेमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बिरगंजकी क्षेत्रीय सञ्चालिका राजयोगिनी तपसिबीनी रबिना दिदीले प्रकाश पारेकी थिइन् । उनले शिवको महिमा र महाशिवरात्रीको महत्त्व र इतिहासबारेमा जानकारी गराएकी थिइन् ।
आफ्नो धर्म ,संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएकाले सबैले शान्त मनका साथ बह्मकुमारी राजयोग केन्द्रमा आएर दैनिक आध्यात्मिक ज्ञानहरू प्राप्त गर्न सकिने बताए । उक्त कार्यक्रममा महिला अधिकारकर्मी तथा नेतृ देवकी नेपालले ब्रह्म कुमारी राजयोग सेवा केन्द्रबाट सिकेका कुरालाई व्यवहारमा ल्याउन सकेमा जीवनमा परिवर्तन आउन सक्ने धारणा राखे ।
आध्यात्मिक ज्ञानका नहुँदा मानिसमा नकारात्मक सोचको विकास बढी भएको उल्लेख गर्दै उनले सदैव सकारात्मक सोचका लागि यो ज्ञान महत्त्वपूर्ण हुने बताए । उनले यहाँबाट धेरै कुरा आफूले सिकेको र अझै धरै कुरा सिक्न बाँकी रहेको बताए । समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख बनाउन राजयोगको महत्त्वपूर्ण भूमिका निर्वाह गदै आएको उनले जिकिर गरे।
हिन्दु महासङ्घ रौतहटका अध्यक्ष शालिग्राम उपाध्यायले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चन्द्रनिगाहपुरले गदै आएको कार्यहरूको प्रशंसा गरे । कार्यक्रममा सहभागी अतिथिहरूले शिवको जन्म जयन्तीको अवसर पारेर सामूहिक केक काट्नु भएको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वडा अध्यक्ष सहदेव केसी, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत यादव भण्डारी,समाजसेवी अजय साह, विशिष्ट राजयोग प्रशिक्षक ब्रह्म कुमार गुणराज भाइजी, ब्रह्म कुमारी राजयोग चन्द्रनिगाहपुरकी सञ्चालिका ब्रह्म कुमारी मैया दिदी लगायतको स्थानीय बुद्धिजिबी, भद्रभलाद्मीलगायतको उपस्थिति रहेको थियो । परमात्माले मानिसलाई केवल शान्ति दिने र सकारात्मक दिशामा अगाडी बढ्न साथ दिने भएकाले मानिस सत्कर्म र स्वच्छ विचार एवम् ज्ञानमा निर्भर रहँदैन तबसम्म मानिसलाई कहिल्यै सुख ,शान्ति प्राप्त नहुने ब्रह्म कुमारी राजयोग सेवा केन्द्र चन्द्रपुरले जनाएको हो ।