बुधबार १९ मंसिर, २०८१

नेपाली समय

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कानुनमन्त्रीद्वारा थप समय माग

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कानुनमन्त्रीद्वारा थप समय माग

काठमाडौँ, २० फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन थप समय माग गर्नुभएको छ ।

प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन तयारी गरेको भए पनि अझै छलफल गर्न आवश्यक भएको बताउँदै समय माग गर्नुभएको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकलाई समितिबाट पारित गर्न केही विषयमा थप स्पष्ट हुनुपर्ने भन्दै मन्त्री गुरुङले समय माग गर्नुभएको हो । मन्त्री गुरुङले भन्नुभयो, “पीडितको सहमति नभए अभियोजनमा जाने र अभियोजन गर्दा सजाय कति हुने ? यस्ता केही विषयमा सल्लाह गर्न बाँकी छ ।” कानुनमन्त्री गुरुङले विधेयकमा धेरै विषयमा सहमति भइसकेको भए पनि केही कुरा स्पष्ट हुन जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई पीडितले न्याय पाउने गरी आपसमा सहमति गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार विधेयक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा पीडितले न्याय पाउने कुराको सुनिश्चित हुनुपर्ने बताउनुभयो । “सङ्क्रमणकालीन न्यायमा पीडितले न्याय पाउनुपर्छ, द्वन्द्वकालीन कुनै पनि घटनामा नियमित कानुनी व्यवस्थाअनुसार सजाय कम हुनुपर्छ,” सांसद बर्तौलाले भन्नुभयो ।

बैठकमा समितिका सदस्यहरु सुशील शर्मा, रञ्जुकुमारी झा, नैनकला थापा, नागिना यादव, सोविता गौतम, सन्तोष परियारले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो टुङ्ग्याएर पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो । बैठकपछि समितिका सभापति विमला सुवेदीले समितिको आगामी बैठकमा विधेयकका बारेमा उठेका विषयहरु समेटेर तयार पारिएको एकीकृत मस्यौदा पेस गर्ने र पारित गर्ने बताउनुभयो ।