रौतहट, १८ फागुन । रौतहट प्रशासनले वंशजको आधारमा दुई हजार भन्दा बढी नेपाली नागरिकता प्रमाण पत्र बितरण गरेको छ । नेपाल सरकारले जन्मको आधारमा नेपाली नागरिकता प्रमाण पत्र पाएका बुवा आमाका छोराले वंशजको नाताले नेपाली नागरिकता पाउने भनी कानून पारित गरेपछि जन्मसिद्ध नागरिकको छोराछोरीले नेपाल नागरिकता प्रमाण पत्र पाएका हुन् ।
नागरिकता ऐन पारित भएपछि नेपाली नागरिकताबाट वञ्चित भएकाले अहिले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिन लागेको हो । जिल्ला प्रशासन कार्यालय गौरबाट एक हजार ७२ जना, इलाका प्रशासन कार्यालय गरुडाबाट ६१२ जना तथा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट ३७१ जना जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता प्राप्त गरिसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी प्रशासकीय अधिकृत मणिभूषण साहले जन्मको आधारमा २०६३ सालमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनमा कानूनी जटिलता देखा परेको गुनासो गरेका छन् ।
आमा र बुवाको नागरिकता हुनुपर्ने कानूनमा लेखिएको भएपनि नागरिकता लिन आउँदा आमाको भए बुवाको हुँदैन, बुवाको भए आमाको नागरिकता नहुँदा अन्यौलता उत्पन्न हुने गरेको उनको भनाई छ । दाजु भाईमध्ये टोलीमा एक जनाले नागरिकता लिएको र एक जना नलिएको अवस्था रहेकाले छुटेकालाई कसरी नागरिकता दिने भनी पनि स्पष्ट कानूनी व्यवस्था नरहेकोले वितरणमा समस्या उनले बताए ।
नागरिकता टोलीमा नेपाली नागरिकता लिए पनि जिल्ला प्रशासन कार्यालयमा अभिलेख नहुँदा समस्या हुने गरेकोले प्रष्ट पारे । यता जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि सबै स्थानीय तहको वडामा र टोली खटाएको जनाएको छ ।
राष्ट्रिय परिचयपत्र महत्त्वपूर्ण रहेको र धेरै कुरामा काम लाग्ने भएकाले समयमा नै बनाउन प्रशासनले आग्रह गरेको छ । रौतहटको ८ लाख ५ हजार जनतामध्ये १ लाख ९२ हजार जनाले मात्र राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको जनाइएको छ ।