रौतहट, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पाटीले विभिन्न किसिमको प्रतिलिपी माग गर्दै यमुनामाई गाउँपालिकामा निवेदन दर्ता गराएको छ । नेपालको संबिधानको सूचनाको हक धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपी माग गरेको हो ।
यमुनामाई गाउँपालिकाको कार्यालयका वडा तथा पालिका भित्र रहेका करार कर्मचारीको नामावली, कार्यालयद्वारा २०७९ साल देखि हालसम्म वितरण गरेको आर्थिक सहयोगको नामावली तथा आर्थिक सहयोगको मापदण्ड, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका योजना र गहुँको विउ पाएकाहरूको नामावली माग गरेको छ ।राष्ट्रिय स्वतन्त्र पाटीका अनिल कुमार गुप्ता, हविवु रहमान, अजुवा मिँया, रमेश कुमार यादव, रंजित रामले सूचनाको माग गर्दै मङ्गलवार कार्यालयमा निवेदन दर्ता गराएका हुन् । यसैगरी सोही पाटीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।
वर्तमान अवस्थामा सूचना प्रवाहमा देखा परेको समस्या र ढिला हुने गरेको विकास निर्माणको कार्यले पालिकाबासी मर्कामा परेको उल्लेख गर्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा यहाँ हुने विभिन्न किसिमका विकास निर्माणमा कार्यको सर्वसाधारणले प्रष्ट थाहा पाउने गरी सूचनाको बोर्ड नराखिएको, केन्द्र, प्रदेश र स्थानीय सरकारबाट सञ्चालन हुने विकास निर्माणको कार्य पारदर्शी, स्वार्थरहित तथा खुल्ला प्रतिष्पर्धाबाट हुनु पर्ने भनिएको छ । राष्ट्रिय स्वतन्त्र पाटीले बुझाएको निवेदन तथा ज्ञापन पत्र प्रति आफूहरूको ध्यानाकर्षण भएको यमुनामाई गाउँपालिकाले जनाएको छ ।