(सत्येन्द्र प्रताप सिंह)
फागुन, ११ रौतहट । सर्लाहीको नयाँ बस्ती चोकबाट प्रहरीले एक निजी कारमा लुकाई राखेको अवस्थामा ११६ किलो लागुऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार कारलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो ।
बागमती नगरपालिका ३ स्थित नयाँ बस्ती चोकबाट विशेष सूचनाका आधारमा बागमती प्रदेश (१) ०२६ च ५१५९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा १० पोकामा राखिएको गाँजा बरामद गरेको सर्लाही प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीले बताए । उनका अनुसार नयाँरोड बरहथवा सडक खण्डबाट उक्त परिणामको गाँजा बरामद गरिएको हो । निजी कारमा गाँजा बोकेर हिँडेका कार चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा कार चालक पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका ११ बस्ने वर्ष ३० को सूर्य परियार रहेको उनले बताए । दक्षिणबाट उत्तर तर्फ जाँदै रहेको अवस्थामा निजी कारमा चेकजाँच गर्दा गाँजा फेला परेको उनको भनाई छ । पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा लिई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिने जनाएको छ ।
यस घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । जिल्लामा तस्करीको नयाँ नयाँ तरिका अपराधीक गिरोहले गर्दछ भने सूचनाका आधारमा निजी कारबाट लागुऔषध तस्करी हुँदैछ भने खबर आएपछि प्रहरी टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी टोलीले प्याकिङ्ग ११६ किलो ग्राम रिफाईन गाँजा फेला परेको हो ।