(जयप्रकाश बगाले)
काठमाडौँ, २७ पुस । अमेरिकीहरू जर्ज वासिंगटनलाई मान्छन्, चिनियाँ हरु माओत्सेतुङ लाई मान्छन्, भारतीयहरू महात्मा गान्धीलाई मान्छन् । नेपाललाई कुनै भगवानले बनाइदिएका होइनन, न त माओत्सेतुङ ले नेपाल चिने, न जर्ज वासिंगटन ले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हो । इतिहासमा पृथ्वीनारायण शाह नभएको भए थाहा छैन सायद नेपाल र नेपाली पहिचान नरहन पनि सक्थ्यो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान लाई कसैले झिनो सम्झन्छ भने त्यो इतिहास प्रतिको गम्भीर भुल हुनेछ ।
सरकारले अग्रज र पुर्खाहरूले राज्य निर्माणका निम्ति गरेको योगदानको सधैँ सम्मान गर्ने विश्वव्यापी परम्परा छ । छरिएर रहेका बाइसे र चौबीसे राज्यहरू एकीकरण गरेर इतिहासमा नेपाल भनेर चिनाउने उनै पृथ्वीनारायण शाह आज नेपालका तथाकथित प्रगतिशील दलहरूले उनलाई सामन्तवाद को प्रतीक भनेर सम्बोधन गर्नु भनेको नेपाल एकीकरण हुनु ठिक थिएन भन्नु सरह नै हो । हामी नेपाली भनेर गर्व गर्नुको सम्पूर्ण श्रेय सायद उनैमा जान्छ । नेपाल एकीकरण नभएको भए यी दलहरू पनि हुने थिएनन् होला, त्यतातिर ध्यान जान नसक्नु ती दलहरूको कमजोरी मात्र नभएर इतिहासप्रतिको अपमान पनि हो ।
समयको गतिसँगै इतिहासले कोल्टे फेर्छ, व्यवस्था परिवर्तन हुन्छ स्वाभाविक प्रक्रिया हो, तर पनि राष्ट्र निर्माता, इतिहासका रचनाकार परिवर्तन हुँदैन । राज्य व्यवस्था र अहिलेको संविधानमा पनि धेरै खोटहरू छन तथापी अहिलेको व्यवस्थामा राष्ट्र निर्माता को लागि अलिकति ठाउँ दिँदा व्यवस्थाको अपमान हुँदैन । केही योगदान नभएका पुर्वमन्त्री, पूर्व प्रधानमन्त्री, विशिष्ट नेताहरूले अनाहकमा राज्यको दोहन गर्न मिल्ने, राष्ट्र निर्माता लाई एउटा सम्मान दिन नसक्ने पनि कुनै प्रगतिशील राज्य हुन्छ ? वर्षको एक दिन उहाँको योगदानलाई कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउँदा राज्य व्यवस्थाप्रति को अपमान हुँदैन, न त कुनै दुष्परिणाम नै आउँछ ।
सारा जनताले सम्मान र आदर व्यक्त गरेको यति ठुलो राष्ट्रिय एकता दिवसलाई जनमतप्राप्त सरकारले हटाउन मिल्दैन, कसको आदेश र इसारामा चलेका छ त अहिलेसम्मका सरकारहरू भन्ने कुराको ज्वलन्त उदाहरण यही हो ।