ढोरपाटन (बागलुङ), २५ मङ्सिर । मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि अन्य ठाउँमा खासै पाइँदैन ।
बागलुङको जैमिनी नगरपालिका–३ दमेककी टीकादेवी क्षेत्री ६५ वर्ष हुनुभयो । यो उमेरमा पनि उहाँ गीत गाउने र रमाइलो गर्ने निकै रुचि राख्नुहुन्छ । बुढ्यौली लागे पनि टीकादेवीलाई पुराना भागाका गाउन कुनै समस्या छैन । मेला, पर्व र गाउँमा लाग्ने महोत्सवमा अहिले पनि उहाँ गीत गाउन हिँड्नुहुन्छ । खास गरी उहाँले बिना सालैजोको ठाडी भाका, यानीमाया, सुनिमाया र झ्याउरे गीत गाउने गर्नुभएको छ ।
पछिल्लो समय नयाँपुस्ताले आधुनिक र विदेशी गीतसङ्गीतप्रति चासो दिँदा मौलिक लोकभाका हराउँदै गएको जनाउँदै उहाँले चिन्ता व्यक्त गर्नुहुन्छ । पुराना मौलिक लोकभाकालाई संरक्षण गर्न टीकादेवीको नेतृत्वमा महिला आमा समूहनै सक्रिय भएका छन् । गाउँमा सिर्जना आमा समूहमार्फत मौलिक गीतसङ्गीतको जगेर्ना भइरहेको छ । बूढापाकाले जानेबुझेका र गाउँदै आएका पुराना गीत सङ्गीत नयाँपुस्तालाई सिकाउने प्रयास उहाँहरुले गर्न थाल्नुभएको छ । धेरै लोकभाका हराउँदै गएपछि सिर्जना महिला आमा समूह सक्रियरुपमा यसको संरक्षणमा लागेका हुन् । गाउँमा हुने हरेक सार्वजनिक कार्यक्रम तथा परम्परागत चाडपर्वमा युवापुस्तालाई सँगै राखेर उहाँहरुले गीत गाउने गर्नुभएको छ । युवा गाउँ छोडेर विदेश तथा बजार झर्न थालेपछि सिक्ने मान्छेसमेत हराउँदै गएका छन् ।
अहिले बजारमा आउने आधुनिक, ¥याप, हिन्दी र अङ्ग्रेजी गीतका कारण वर्षौं पुराना मौलिक गीत लोपोन्मुख हुँदै गएको टीकादेवीले बताउनुभयो । पुराना गीत नसिकेसम्म गाउन नसकिने उहाँ बताउनुहुन्छ । गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णताः दिनुपर्ने हुँदा यो ठाडी भाका गाउन कठिन हुने क्षेत्रीले बताउनुभयो । मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा यस्ता भाका गाउने चलन रहेको उहाँ बताउनुहुन्छ । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम बिना सालैजोको ठाडी भाका, सालैजो र झ्याउरे भाका भएको उहाँको भनाइ छ । आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यस्ता गीत हराउन थालेको टीकादेवीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले–पहिले गाउँघरमा धेरै काम गर्नुपथ्र्यो, मेलापात हुन्थ्यो, त्यति बेला झ्याउरे गाउने, ठाडोभाका आउने गरिन्थ्यो, ती पुराना गीतले थकाइ पनि हराउँथ्यो, रमाइलो र मनोरञ्जन दिने माध्यम बनेको थियो, तर अहिले धेरै गीत आएका छन्, हाम्रा नातीनातिनीले तिनै गीत सुन्ने गाउँने गर्छन्, तर हामीहरुले गाउँने पुराना भाका सुन्दैनन्, मन पराउँदैनन्, केही समय भयो हामी पुराना जमानाका बूढाबूढी मिलेर संरक्षणन गर्नुपर्छ भनेर लागेका छौँ ।”
गलकोट नगरपालिका–१० की पार्वती काउचा मगरले पहिले–पहिले रोधी बस्ने र पुराना भाका गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडेपछि ती भाका हराउँदै गएको बताउनुभयो । अहिले रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पप तथा लोकगीतले ठाडी भाका हराउन थालेको उहाँको भनाइ छ । पुराना भाका कलाकारले पनि कमै मात्रा गाउने गरेको उहाँ बताउनुहुन्छ । बाउआमा, बाजेबजैबाट आफूहरुले पुराना भाका गाउन सिके पनि अहिलेका पुस्ताले चासोनै नदिने काउचाले बताउनुभयो । उति बेला गीत गाउँदागाउँदै बिहे गर्ने चलन रहेको भन्दै अहिले त्यो चलन पनि हराएको उहाँ बताउनुहुन्छ ।
“हाम्रो पालामा त गीत गाउँदागाउँदै मन परेको केटाकेटी भयो भने बिहे गर्ने चलन थियो, अहिले त फोन आयो, फोन गरेर भेट्ने बिहे गर्ने गर्छन्, हाम्ले गीत गाएर बिहे गरेको भन्दै अहिलेका मान्छेले अचम्म मान्छन्, जुग जमाना फेरिएपछि सबै थोक फेरिए”, उहाँले भन्नुभयो, “गाउँपालिका, नगरपालिकाले मौलिकता बोकेका पुराना भाका संरक्षणमा चासो दिनुपर्छ, उहाँहरुले सिकाउने जिम्मा हामीहरुलाई दिए, हामी निःशुल्क सिकाउन तयार छौँ ।”