पश्चिम नवलपरासी, १३ मङ्सिर । रुपन्देहीको रोहिणी गाउँपालिका-३ धकधइमा नेपाल प्रहरीले पक्राउ गरेको सुकेको सिद्रा माछा नवलपरासी कै भएको पुष्टि भएको छ । मङ्सिर १० गते धकधइमा चेकजाँचको क्रममा लु २ च ८५४६ नम्बरको पिकअपमा २४ बोरा करिब १२ सय किलोग्राम सुकेको सिद्रा माछा प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले सुरुको अनुसन्धानमा भारतीय माछा भएको पुष्टि गरेपनि अहिले त्यो माछा नवलपरासी पश्चिम जिल्ला सुस्ता गाउँपालिका वडा नं २ सतपत्तीको लक्ष्मी एकीकृत कृषि फर्मको रहेको उक्त फर्मका सञ्चालक विजय चौधरीले दाबी गरेका हुन् ।
चौधरीले आफ्नै फर्ममा उत्पादन गरिएको माछालाई प्रहरीले भारतीय माछा भएको पुष्टि गरेकोमा दुख व्यक्त गरेका हुन्।
उनले अनुसन्धानको क्रममा भेटेरिनरी परासीका डाक्टर निरज पासवान र भैरहावा भेटेरिनरी कार्यालयका प्रमुख भक्त न्युरेले स्वयं स्थगन अनुसन्धान गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त माछा नेपाल कै भएको र ठिक साचो प्रमाणित पशुपंक्षी/पशुपंक्षीजन्य पदार्थ ऐन अनुसार निरीक्षण गरेको र यसमा कुनै किसिमको कुनै पनि सर्ने खालको सङ्क्रमित रोग नभएको पुष्टि र ओसारपसार तथा बिक्री वितरण गर्न योग्य रहेको जानकारी दिए ।
उक्त माछा नवलपरासी पश्चिम जिल्लाको रामनगर नाकाबाट अवैध रूपमा भित्रिएको विभिन्न समाचार माध्यममा प्रकाशित भएको थियो । माछा किन्ने व्यापारी कपिलवस्तुका बिशु मुसलमानले पनि नवलपरासी पश्चिम जिल्लाको सुस्ता गाउँपालिका-२ सतपत्ती स्थित लक्ष्मी एकीकृत फर्मबाट किनेको बताएका हुन ।
अहिले भेटेरिनरी परासी र भैरहवाले उक्त माछा स्थानीय जनप्रतिनिधिको रोहबरमा अनुसन्धानको क्रममा सुस्ता-२ लक्ष्मी एकीकृत फर्ममा उत्पादित भएको पुष्टि गरेपछि सत्यतथ्य कुरा बाहिरिएको हो । प्रहरीलाई बदनाम गर्नेगरि केही तत्त्व लागिपरेको स्थानीयहरूले बत्ताउँछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले आफ्ना मातहतका सम्पूर्ण इलाका प्रहरी , प्रहरी चौकी तथा चेक पोष्टलाई अवैध तस्करी नियन्त्रण गर्नलाई कडा निर्देशन दिँदै आएका छन् ।
आचार्यले निर्देशन विपरीत कार्य गर्नेलाई विभागीय कार्यवाही गर्दै आउनु भएको प्रहरीका एक अधिकारीले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख श्याम प्रकाश यादवले आफ्ना मातहतका सम्पूर्ण प्रहरी चौकी तथा चेक पोष्टलाई अवैध चोरी पैठारी तथा तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएको प्रहरी स्रोतले बताएको छ । उनी इलाका प्रहरी कार्यालय बेलाटारीका जिम्मेवारी निर्वाह गरेदेखि इलाका भित्रका स्थानीय जनतालाई शान्ति सुरक्षा तथा प्रहरी हाम्रो साथी भएको महसुस हुन गरेको स्थानीय सुस्ताका महातम बिनले बताए ।
निरीक्षक यादवले केही व्यक्तिले आफूलाई बदनाम गर्न लागि परेको बताएका हुन । इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश यादव घुमुवा नभई आफ्नो प्रहरीको ड्युटी निर्वाह गरिरहेको बेलाटारी प्रहरीले जनाएको छ । उता रामनगर प्रहरी चौकीका इन्चार्ज पुरन केवटले रुपन्देहीमा बरामद गरिएको सुकेको सिद्रे माछा रामनगर नाकाबाट नगएको बताउँदै आएका थिए । गेर्मी प्रहरी चौकीका सहायक हवलदार ओमप्रकाश यादवले घुमुवा नभई सामान्य प्रहरीको ड्युटी गर्दै आएको उक्त चौकीका प्रमुख इन्चार्ज ब्रिजेश निषादले बताए ।
उता जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा कार्यरत प्रहरी सहायक हवल्दार किरन कुवर र प्रहरी जवान प्रदिप गुप्ता जिल्ला घुमुवा नभई सूचना सङ्कलन तथा फरार प्रतिवादीलाई पक्राउ गर्नका लागि खटाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।