काठमाडौँ, १३ मङ्सिर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको भ्रमण गर्नुभयो ।
बागमती प्रदेशको सञ्चार मन्त्रालयको समेत जिम्मेवारीमा रहनुभएका मन्त्री श्रेष्ठले राससको समाचार सङ्कलन तथा सम्पादन कक्षको अवलोकन गर्नुहुँदै राज्यको आधिकारिक समाचार संस्था रासससँग सहकार्य गर्न बागमती प्रदेश सरकार तयार रहेको स्पष्ट गर्नुभयो । राससमा आबद्ध बागमती प्रदेशका सञ्चारकर्मीका लागि तालिमको व्यवस्थासहित तत्कालका लागि कम्तीमा रासस प्रदेश कार्यालयका लागि दुई–तीन कोठाको कार्यकक्षको व्यवस्था गर्न तयार रहेको उल्लेख गर्दै उहाँले सञ्चारग्रामको निर्माणपछि राससले प्रदेशस्तरीय भवन प्राप्त गर्नेछ भन्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस प्रदेश कार्यालय भवनका लागि बागमती प्रदेश सरकारसँग यसअघि अनुरोध गरेको स्मरण गराउँदै कार्यालय भवनसहित राससकर्मीका लागि तालिमको व्यवस्था गरिदिन मन्त्री श्रेष्ठसँग अनुरोध गर्नुभयो । बागमती प्रदेश सरकारले अहिले पनि आमसञ्चार शीर्षकअन्तर्गत उल्लेख्य मात्रामा बजेट विनियोजन गरेको चर्चा गर्दै कार्यकारी अध्यक्ष झाले देशका सबै जिल्लासहित विदेशमा समेत कार्यसञ्चाल रहेको राज्यसंयन्त्र अन्तर्गतको महत्त्वपूर्ण एवं जिम्मेवार निकाय राससलाई सहयोग गर्न मन्त्री श्रेष्ठको ध्यानाकर्षण गर्नुभयो ।
कार्यकारी अध्यक्ष झासहित महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारी, समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद रिमाल, प्रधानसम्पादक एकराज पाठक, प्रमुख समाचारदाता उत्तम सिल्वाललगायतले मन्त्री श्रेष्ठलाई राससमा स्वागत गर्नुभएको थियो ।