सोमबार २१ फागुन, २०८०

नेपाली समय

पुराना दलका नेता र उनका कार्यकर्ताको संलग्नतामा दर्जनौँ ठूला भ्रष्टाचारका काण्ड भएको छ: नागरिक पहिलो अभियान

पुराना दलका नेता र उनका कार्यकर्ताको संलग्नतामा दर्जनौँ ठूला भ्रष्टाचारका काण्ड भएको छ:  नागरिक पहिलो अभियान

काठमाडौँ, १२ मङ्सिर । 'नागरिक पहिलो अभियान'ले आफ्नो दुई दिने काठमाडौँ  भेला सम्पन्न गरेको छ । अभियानले देशमा स्वशासन र सुशासन प्रत्याभूत गर्न भन्दै प्रगतिशील, लोकतान्त्रिक, समावेशी र अग्रगामी विशेषतायुक्त नागरिक अभियान विकसित गर्ने मुख्य उद्देश्यका साथ कोटेश्वरको कालिन्चोक खड्का पार्टी प्यालेसमा घोषणाको प्रेस–वक्तव्य जारी गर्दै भेला सम्पन्न गरेको हो ।

'नागरिक पहिलो अभियान'को भेलामा नेता डम्बर खतिवडा, प्रशान्त सिंह, अशोक श्रेष्ठ, ठाकुर पोख्रेल, देबराज भारद्वाज, सुरेन्द्र चौधरी, केशव दाहाल, भुपेन्द्र नेम्वाङ्ग, सनोज महत  लगायत देशभरिका प्रतिनिधिमूलक अभियन्ताहरूको सहभागीता रहेको थियो । भेलामा अवधारणा–पत्र प्रस्तुत गरेर  छलफल पश्चात्  अवधारणा–पत्र पारित गरेका छन् । अवधारणा–पत्रमा ‘पाँच समस्या र त्यसका समाधान पनि 'नागरिक पहिलो अभियान'ले  प्रस्तुत गरेको छ ।

लोकतन्त्र, दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, सिन्डिकेटतन्त्र, लुटतन्त्र र दलालतन्त्रमा सीमित र संकुचन हुँदै जानु देशको प्रमुख राजनीतिक समस्या भएको भन्दै  नयाँ नागरिक आन्दोलन मार्फत् प्रत्यक्ष, सहभागितामूलक, समावेशी, समानुपातिक, सभ्य र सुसंस्कृत लोकतन्त्र पुर्नस्थापित गरेर यसको समाधान गर्न सकिने सुझाएका छन् । देशमा आर्थिक मन्दी, गरिबी, बेरोजगारी, महँगी, मुद्रास्फीति, बढ्दो बजेट घाटा लगायतका समस्याहरू व्याप्त रहेको ठहर गर्दै सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरूप तीव्र वृद्धि, वातावरणीय दीगोपन, समावेशी विकास, समन्यायीक वितरण, समतामूलक समृद्धि र मानवीय खुशीको मानक अनुरूप अर्थतन्त्रको उत्पादनमूलक पुनर्संरचना मार्फत समाधान गर्न सकिने उपाय दिएका छन् ।

त्यसैगरी पहिलो नागरिक भेलाले भ्रष्टाचार र कुशासन देशको चौथो ठूलो समस्या औँल्याएको छ । ठूला, पुराना दलका नेता, कार्यकर्ताको संलग्नतामा दर्जनौँ ठूला भ्रष्टाचारका काण्ड भएको दाबी गर्दै निष्पक्ष छानबिन र कारबाहीको दबाब बढाउनु पर्ने भेलाको निष्कर्ष रहेको  छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत दण्डाधिकारी निकायको पुनर्संरचना, ढिलासुस्तीपूर्ण प्रशासनिक प्रक्रियाको सुधार, पारदर्शी अर्थतन्त्र निर्माण कर्मचारीतन्त्रको पुनर्गठन तथा नियामक निकायको सबलीकरण गर्नुपर्ने सुझाएको छ । 

नागरिक पहिलो अभियानको प्रेस–वक्तव्य जस्ताको तस्तै: 

 

‘नागरिक पहिलो’अभियान

People First Campaign

घोषणाको प्रेस–वक्तव्य

१. हामी २०८० मङ्सिर ११–१२, काठमाण्डौं भेलामा सहभागी देशभरिका प्रतिनिधिमुलकअभियन्ता ‘नागरिक पहिलो’ अभियान (People First Campaign) घोषणा गर्दैछौं । अभियानको मूल विषय–शीर्षक ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ (Dignity for All, Prosperity for All) तय भएको छ । देशमा स्वशासन र सुशासन प्रत्याभूत गर्न एक प्रगतिशील, लोकतान्त्रिक, समावेशी र अग्रगामी बिशेषतायुक्त नागरिक अभियान विकसित गर्नु यसको मुख्य उद्देश्य रहेको छ ।

२.अभियानको अवधारणा–पत्र प्रस्तुत, छलफल र पारित भएको छ । सहभागीबाट प्राप्त पृष्ठपोषण र सुझावलाई समावेशी गरी केहीदिनभित्र अवधारणा–पत्र सार्वजनिक गरिने छ । अवधारणा–पत्रले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा भूराजनीतिक सङ्कटको चित्रण गर्दै ‘पाँच समस्या, पाँच समाधान, पाँच काम, एक अभियान’ अघि सारेको छ । 

अवधारणा–पत्रमा उल्लेखित ‘पाँच समस्या र पाँच समाधान’निम्नबमोजिम छन । 

२.१. लोकतन्त्र, दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, सिन्डिकेटतन्त्र, लुटतन्त्र र दलालतन्त्रमा सीमित र सङ्कुचन हुँदै जानु देशको प्रमुख राजनीतिक समस्या हो । यसको समाधान एक नयाँ नागरिक आन्दोलनमार्फत् प्रत्यक्ष, सहभागितामूलक, समावेशी, समानुपातिक, सभ्य र सुसंस्कृत लोकतन्त्र पुनर्स्थापित गर्नु हो । राजनीति र राजनीतिक संस्कृतिकै समग्र पुनर्गठन गर्नु हो । 

२.२. आर्थिक मन्दी, गरिबी, बेरोजगारी, महँगी, मुद्रास्फीति, उद्यमशील तथा लगानीमैत्री वातावरणको अभाव, निरन्तर बढ्दो बजेट घाटा र सार्वजनिक ऋण, न्यून पुँजीगत खर्च, वित्तीय तथा बजेटरी असन्तुलन, कृषि तथा पर्यटन जस्ता अर्थतन्त्रका आधार स्तम्भ धराशायी हुनु, जनशक्तिको अस्वाभाविक विदेश पलायन, असाध्यै महँगो तथा गुणस्तरहीन शिक्षा, स्वास्थ्यलगायतका सार्वजनिक सेवा, भौतिक पूर्वाधार विकासमा सुस्तता, सुस्त आर्थिक वृद्धि तथा गरिब र धनीबिचको बढ्दो खाडल आदि देशका मुख्य आर्थिक समस्या हुन । यसको समाधान सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरूप तीव्र वृद्धि, वातावरणीय दीगोपन, समावेशी विकास, समन्यायिक वितरण, समतामूलक समृद्धि र मानवीय खुशीको मानक अनुरूप अर्थतन्त्रको उत्पादनमूलक पुनर्संरचना हो  । 

२.३.सङ्घीयता, समावेशिता र सामाजिक न्यायको कार्यभार अधुरो रहनु, यस सवालमा संविधानले व्यवस्था गरेकै कुरा पनि कार्यान्वयनमा नजानु देशको तेस्रो ठूलो समस्या हो । सीमान्तकृत समुदायको  भावना र आवाजलाई न्याय हुने तथा पहिचान र अधिकारको आन्दोलनसमेत संवोधन हुने गरी सङ्घीयताको पुनरावलोकन, वित्तीय सङ्घीयता, भाषिक, सांस्कृतिक तथा धार्मिक स्वतन्त्रता र अधिकारको प्रत्याभूति, शक्तिको  परिभाषित निक्षेपण, स्वायत्तता र स्वशासनको सम्मान यसको समाधान हो ।

२.४. भ्रष्टाचार र कुशासन देशको चौथो ठूलो समस्या हो । यसको समाधान कर्मचारीतन्त्रको पुनर्गठन, दंडाधिकारी  तथा नियामक निकायको सबलीकरण, निष्पक्षता र तटस्थता हो । देशमा यस बीचमा दर्जनौँ ठूला भ्रष्टाचारका काण्ड भएका छन । त्यसमा तथाकथित ठूला, पुराना दलका नेता, कार्यकर्ताको संलग्नता घाम जत्तिकै छर्लङ्ग छ । भ्रष्टाचारका काण्डको निष्पक्ष छानबिन र कारबाहीका लागि जनदबाब बढाउन जरुरी छ । 

२.५. भूराजनीतिक असन्तुलन र कूटनीतिक अपरिपक्वताको कारण देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा र विश्वासनीयता कमजोर भएको छ । विदेश नीतिको पुनरावलोकन, कूटनीतिक संयन्त्रको सबलीकरण,  विदेश नीतिमा राष्ट्रिय एकता र राष्ट्रिय हित अनुरूपको संलग्नता यसको समाधान हो । 

३. अभियानको कार्यविधि तथा चैत्र मसान्त सम्मको पाँच महिने कार्य योजना प्रस्तुत, छलफल र पारित भएको छ । यस बीच ३.१. अभियानको सम्पर्क पालिका तह सम्म विस्तार गर्ने, ३.२. सबै प्रदेशमा अभियानको उद्देश्यबारे प्रादेशिक अभिमुखीकरण भेला गर्ने, ३.३. आवश्यक व्यवस्थापकीय तथा कार्यालय सञ्चालन सम्बन्धी काम गर्ने, ३.४. नागरिक विधेयक तथा माग पत्र तयार प्रस्तुत गर्ने ३.५. नागरिक विधेयक र माग पत्रको पक्षमा देशव्यापी पैरवी र जनपरिचालन गर्ने काम गरिने छ । 

४. अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत दंडाधिकारी निकायको पुनर्संरचना, ढिलासुस्तीपूर्ण प्रशासनिक प्रक्रियाको सुधार र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने उद्देश्यबाट प्रेरित सुशासन ऐन  तथा दल तन्त्रलाई अन्त्य गरी अन्तपार्टी लोकतन्त्र प्रत्याभूत गर्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने नागरिक विधेयक मस्यौदा गरी दर्ता र पैरवी गरिने छ ।  देशका समग्र समस्यालाई समेटिएको माग–पत्र अविलम्ब सार्वजनिक गरिने छ। 

५.अभियानको संयोजन तथा सञ्चालन गर्न एक अभियान संयोजन कार्य दल निर्माण गरिएको छ ।  

६.देशको विषम, जटिल, समस्याग्रस्त तथा सङ्कटपूर्ण अवस्थाको निकास दिन संसदमा उपस्थिति पुराना तथा नयाँ दुवै प्रकारका दलहरू असक्षम र असफल देखिएका छन । देशमा भयानक राजनीतिक रिक्तता र शक्ति शून्यताको अवस्थामा छ । यस्तो रिक्ततालाई चिर्दै अभियानले ‘जनप्रतिपक्ष’को भूमिका गर्दछ । देशको सङ्कटलाई दृष्टिगत गर्दै अभियानमा जोडिन र  आआफ्नो ठाउँबाट सशक्त भूमिका गर्न सबैमा आम अपिल गरिन्छ ।