मंगलबार १५ फागुन, २०८०

नेपाली समय

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ, ८ मङ्सिर । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । 

आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिनुभयो । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ । 

गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् । 

आव २०७८/७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट रु १५ करोड आम्दानी भएको थियो । त्यस्तै, एक दशकअघि रु १३ करोडसम्म अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो । आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी भएको थियो । उक्त वर्ष नौ सय ५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए । 

आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यस्तै आव २०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए । 

मर्स्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले यस वर्ष गत वर्षको तुलनामा कम उत्पादन गरी  बढी आम्दानी गर्नुभएको छ । दुई सय ७५ किलो अलैँची दाना बिक्रीबाट तीन लाख ७१ हजार दुई सय ५० रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष साढे तीन क्विन्टल अलैँची दाना बिक्री गरेर करिब रु दुई लाखमात्र आम्दानी गर्नुभएको थियो । 

जिल्लाभरिका अधिकांश किसानले रु एक हजार दुई सयमा प्रतिकिलो अलैँची बिक्री गरे पनि यहाँका तामाङसहित गाउँलेले एक हजार तीन सय ५० रुपैयाँ प्रतिकिलो अलैँची दाना बिक्री गरेको बताइएको छ । तामाङले मात्र नभई जिल्लाका अधिकांश अलैँची किसानको अलँैची खेतीबाट अलैँची दाना उत्पादन कम गरेका छन् । जिल्लाका किसानले कुनैबेला प्रतिकिलो दुई हजार दुई सय रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेको थियो ।

जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँची दानाको मूल्य नपाएको गुनासो गर्दै आए पनि यस वर्ष भने केही राहत महसुस गरेका छन् । यस वर्ष अलैँची दानाको मूल्यवृद्धि हुँदा अलैँची किसान हर्षित भएका छन् । 

जिल्लामा एक हजार हेक्टर बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलभन्दा कम क्षेत्रफलबाट उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।

सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् । जिल्लामा बढी उमेरका अलैँची, कृषकले १५/१६ वर्षको बुढो उमेरका बोटबाट पाना च्यातेर सार्ने, बुढो बगान, स्याहारसुसारमा कमीलगायत कारणले बर्सेनि उत्पादन घट्दै गएको उक्त कार्यालयका कृषि अधिकृत मिजारले बताउनुभयो ।