मंगलबार १५ फागुन, २०८०

नेपाली समय

पुस्तक समीक्षा : मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

पुस्तक समीक्षा : मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

(श्याम रिमाल)

काठमाडौँ, ८ मङ्सिर । नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार नेपाली भाषापछि दोस्रो सबभन्दा बढीले बोल्ने मातृभाषा ‘मैथिली’ ३२ लाख २२ हजार तीन सय ८९ जना अर्थात् ११ दशमलव ०५ प्रतिशत नेपालीले पहिलो भाषाका रूपमा बोल्ने गर्छन् । नेपालको मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने यो भाषा दोस्रो भाषाका रूपमा दुई लाख ६७ हजार २१ जना तथा  पुर्खाले बोल्ने भाषाका रूपमा २९ लाख ५९ हजार आठ सय ७६ जनाको जनसङ्ख्या छ । 

बोल्दा र सुन्दा निकै मनमोहक मैथिली भाषा नेपालको मधेश प्रदेशमा प्रयुक्त छ । लोकसाहित्य र भाषिक प्रयोगका साथै सांस्कृतिक परम्पराका दृष्टिले यसको लामो परम्परा छ जुन करिब छ सय वर्ष पुरानो छ । यसका साहित्य र संस्कृति समृद्ध रहेको, शब्दकोश र व्याकरण भएको तथा सार्वजनिक सञ्चारमाध्यममा पनि उपयोग भइरहेको अर्काे विशेषता हो । मधेसमा अन्य मातृभाषी समुदायले पनि यसै भाषामा आफ्ना नियमित गतिविधि, व्यावसायिक तथा पेसागत कार्य सञ्चालन गरिरहेका छन् । यो छिमेकी भारतको बिहार र झारखण्ड राज्यमा पनि बोलिन्छ । भारतीय संविधानको आठौँ अनुसूचीमा यो भाषा पनि समाविष्ट छ । मैथिली साहित्यको समृद्ध इतिहास छ र चौधौँ–पन्ध्रौँ शताब्दीमा यसैमा विद्यापतिले ठुलो कवि (उनका कथा पनि छन्) को दर्जा पाए । 

अहिले दोस्रो बहुजनले बोल्ने मैथिली भाषाले नेपाली पत्रकारिता वा आमसञ्चारमाध्यममा पनि सन्तोषजनक उपस्थिति जनाएको छ । मिथिलाभाषी राजेश्वर नेपाली, रामभरोस कापडि भ्रमर, रामनारायण देव, रामरिझन यादव, वृजकुमार यादव, रामआशिष यादव, धीरेन्द्र प्रेमर्षि, श्यामसुन्दर शशी, हिमांशु चौधरी, राजेश अहिराजलगायतले नेपाली र मैथिली भाषा, साहित्य र पत्रकारितामा ठुलो योगदान पुर्‍याउनुभएको छ । साहित्य तथा सञ्चार क्षेत्रमा मातृभाषा मैथिलीको प्रयोग गरेर आफ्नो पहिचान र संस्कृति संरक्षण गर्न अग्रसर साहित्यकार, सञ्चारकर्मी, पत्रिका तथा सञ्चालकहरूले आगामी पुस्तालाई मार्गदर्शन गरेर स्तुत्य काम गर्नुभएको छ । 

यसै सन्दर्भमा सिरहा, बस्तीपुरमा जन्मी हाल धनुषामा बसोबास गर्ने नेपाल पत्रकार महासङ्घका पूर्वाध्यक्ष धर्मेन्द्र झाले ७० का दशकमा  प्रेस काउन्सिल  नेपालबाट मैथिली छापा पत्रकारिताको इतिहास अध्ययन गर्ने जिम्मेवारी पाएअनुसार कोरोना महामारीको समयलाई राम्रोसँग उपयोग गर्नुभयो र नेपाली पत्रकारिता जगत्लाई ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास (वि.सं. २०१४–२०७७)’ प्रदान गर्नुभएको छ  । प्रेस काउन्सिल नेपालले विसं  २०७७ असोजमा प्रकाशन गरेको  चिटिक्क परेको प्रस्तुत ८५ पृष्ठका कृतिमा नेपाली पत्रकारिता जगत्मा मैथिली पत्रपत्रिका र अनलाइन न्युज पोर्टलले पुर्‍याएको योगदानबारे साङ्गोपाङ्गो जानकारी पाउन सकिन्छ । यसमा काउन्सिलका पूर्वसदस्य झाले नेपाली मैथिली पत्रकारिताको साठी वर्षभन्दा बढी समयको इतिहास अध्ययन गरी  छापा र अनलाइन क्षेत्रलाई  समावेश गर्नुभएको छ । 

नेपाल, मिथिला र मैथिली, भाषा–पत्रकारिता तथा साहित्य–संस्कृति, भाषा, सञ्चार र पत्रकारिता, जनकपुरकेन्द्रित मैथिली पत्रकारिता, काठमाडौँ उपत्यकामा मैथिली पत्रकारिता, सप्तरी र सिरहामा मैथिली पत्रकारिताको अवस्था, पूर्वी नेपालमा मैथिली पत्रकारिता, पश्चिममा मैथिली पत्रकारिता, मैथिलीका अनलाइन र ब्लग तथा मैथिली पत्रकारिताका चुनौती र सम्बोधनको रणनीति गरी आठ अध्यायमा विभक्त कृतिमा रहेका  परिशिष्ट र सन्दर्भ सामग्रीले कृतिको आधिकारितालाई अझ बल दिएको छ । हालको मधेस क्षेत्रका आठ जिल्लामध्ये केन्द्रीय भूमि धनुषा, महोत्तरी, सप्तरी र   सिरहा, पश्चिम पर्सा  तथा कोशी प्रदेशका मोरङ, सुनसरी र  झापा तथा काठमाडौँ उपत्यका क्षेत्रमा मैथिली भाषाको पत्रकारिता विकास भएको पाइएको तथा पर्सापूर्व बारा, रौतहट र सर्लाहीमा  भने प्रयाससम्म भएको अध्ययनमा उल्लेख गरिएको छ । त्यस्तै नेपालको पश्चिम क्षेत्रमा पर्ने हालको लुम्बिनीका रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा मैथिलीभाषीको राम्रै उपस्थिति भए पनि मैथिली पत्रकारिता शून्य जस्तै रहेको जनाइएको छ ।  कसैकसैले मैथिली भाषासहित बहुभाषी भनेर पत्रिका दर्ता गरे पनि एकल मैथिली भाषाको पत्रिका भने भएनन् । 

मैथिली पत्रकारिताको विकासका लागि संस्थागत तथा समूहगत रूपमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन, अखिल नेपाल मैथिली साहित्य परिषद्, मैथिली पत्रकार परिषद्, मिथिला सांस्कृतिक केन्द्र, जानकी मन्दिर, जनकपुरधाम, चित्रगुप्त सेवा समिति, जनकपुर । सर्लाही,  मैथिल मञ्च बिजलपुरा, महोत्तरी, मैथिली साहित्य परिषद्, मैथिली साहित्य परिषद्,  जनकपुर । वीरगन्ज । विराटनगर, मैथिली सेवा समिति, निवृत्त प्रतिभा उत्थान मञ्च, वीरगन्ज, मैथिली प्रवर्द्धन समिति, सर्लाही, त्रिवि कीर्तिपुरका विद्यार्थी, तराई विद्यार्थी परिषद्, नेपाल मैथिल समाज, मैथिल महिला समाज नेपाल, तिरहुत ब्राह्मण सेवा समिति, मैथिली विकास मञ्च, काठमाडौँ सिरहाली मञ्च, मैथिली पत्रकार परिषद्, मैथिली मिडिया प्रालि, नेपाल प्रज्ञा–प्रतिष्ठान, गोरखापत्र संस्थानको पनि महत्त्वपूर्ण भूमिका रहेको लेखक झाको अनुसन्धानमा देखिन्छ । गैरमैथिलीभाषी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला र विद्वान् लक्ष्मण शास्त्री तथा भारतीय  प्राध्यापक प्रफुल्लकुमार सिंह ‘मौन’ ले यसको विकासमा निकै योगदान दिएको कृतिमा उल्लेख छ । 

‘हिमालय टाइम्स’ दैनिक र ‘अन्नपूर्ण’ दैनिकले पनि क्रमशः ‘मैथिल भाषा विशेषाङ्क’ (२०५३ मङ्सिर ८)  र ‘तराई प्लस’ अतिरिक्त पृष्ठ  निकालेर मैथिली भाषा पत्रकारितामा योगदान दिएको मैथिली भाषा पत्रकार झाले जनाउनुभएको छ । विसं २०६० पुसमा सप्तरी, राजविराजमा नेपाल प्रेस इन्स्टिच्युट र क्षेत्रीय सञ्चार स्रोत केन्द्र मोरङ, विराटनगरद्वारा आयोजित र २०६१ मङ्सिरमा सिरहा, सिरहा बजारमा आयोजित आफैँ प्रशिक्षक रहेको  मैथिली पत्रकारितासम्बन्धी एकहप्ते तालिमले पनि मिथिला भाषा पत्रकारिताका लागि योगदान दिएको पत्रकार झाले उल्लेख गर्नुभएको छ । झा स्वयंले केही मैथिली भाषी पत्रिका प्रकाशनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले संलग्न भएको देखिन्छ । 

समीक्ष्य कृतिअनुसार यस भाषाको पहिलो पत्रिका सन् १९०५ (विसं १९६२ तिर) मा भारत, जयपुरबाट प्रकाशन भएको मधुसूदन झाको सम्पादकत्वको  ‘मैथिल हीत साधन’ र  मिथिलाञ्चल, भारतबाट पहिलो प्रकाशित पत्रिका विष्णुकान्त झाका सम्पादकत्वको ‘मिथिला मिहिर’ (सन् १९१२, विसं १९६९ तिर )  थिए  भने  नेपाल सरहद रहेको मिथिलाञ्चल जनकपुर क्षेत्रबाट भने त्यसको करिब ४५ वर्षपछि मात्र बल्ल विसं २०१४ मा ‘मैथिली’ भाषासमेत समेटिएको नवोनाथ झा नवीन सम्पादकत्वको ‘नवजागरण’ त्रैभाषिक (नेपाली, हिन्दी र मैथिली) ले पहिलो पत्रिका हुने मौका पायो । 

उहाँका अनुसार पछि ‘आँजुर’, ‘इजोत’, ‘जनक’, ‘मिथिलावाणी’, ‘विद्यापति टाइम्स’, ‘मिथिला डटकम’, ‘आहट’, ‘धुवाधजा’, ‘मिथिलाञ्चल’, ‘तहल्का’, ‘नैमिकानन’, ‘मिथि’, ‘सीमाञ्चल’, ‘पर्यग्नि’, ‘धधरा’, ‘नवविचार’, ‘त्रिवाणी’, ‘सनेस’, ‘मैथिलीजगत्’, ‘तराई जागरण’, ‘अरिपन’, ‘मिथिला’, ‘मिथिलाञ्जलि’, ‘भोरूकवा’, ‘लाल  तराई’, ‘अप्पन मिथिला’, ‘अग्रणी वाणी’, ‘कृष्णा’, ‘विदेहराज’, ‘उगना’, ‘मैथिली मञ्च’, ‘सञ्चार साथी’, ‘विश्वदीप’, ‘अग्रणी वाणी’, ‘दुविधान’, ‘कोशी–कमला’, ‘नवसनेस’, ‘सुरभि’, ‘अभिनव’, ‘मैथिली’ ‘सयपत्री’, ‘आङन’, ‘गोरखापत्र’ लगायतका दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, वार्षिक, समसामयिक सङ्कलनलगायत हस्तलिखित, भित्रेपत्रिका, पोस्टर पत्रिका, साहित्यिक–समाचारमूलक, समाचार–विचारप्रधान, कविताप्रधान छापा, अनलाइन न्युज पोर्टल, रेडियो टिभी आदि आमसञ्चारमाध्यम र केही संस्थाहरूले नेपालका मधेश प्रदेश र काठमाडौँ उपत्यकामा आधार रही प्रकाशन, प्रशिक्षण, पत्रकार संस्था गठन आदि माध्यमबाट मैथिली नेपाली पत्रकारिता जगत्मा योगदान गरे । 

लेखक झाअनुसार मैथिली भाषामा प्रकाशित  केही पत्रिकाले विभिन्न विधा र क्षेत्रमा अगुवा हुने मौका पाएका छन् । तिनमा  एकल मैथिली भाषामा प्रकाशित पत्रिकामा ‘फूलपात’, विचारप्रधान समाचारमूलक साप्ताहिकमा ‘गामघर’, साहित्यिक द्वैमासिकमा ‘अर्चना’, द्वैमासिकमा ‘मिथिलाञ्चल’,  त्रैमासिकमा ‘मैथिली’, कविताप्रधानमा ‘जनक’, प्रेस काउन्सिलको मापदण्ड पूरा गरेको साप्ताहिकमा ‘विद्यापति टाइम्स’,  दैनिकमा ‘मिथिला डटकम’,  पाक्षिक र पूर्वी नेपालमा प्रकाशित समाचारमूलकमा ‘मिथिला टाइम्स’, द्विभाषी साप्ताहिक (नेपाली र मैथिली) मा  ‘तहल्का डटकम’, काउन्सिलको भाषागत पुरस्कार पाउनेमा ‘सीमाञ्चल’ साप्ताहिक, रङ्गमञ्चकेन्द्रितमा ‘आकृति’, हवाई पत्रिकामा ‘पर्यग्नि’ द्वैमासिक,  पोस्टर पत्रिकामा ‘धधरा’, नेपालीय मैथिली विशेषाङ्क प्रकाशन गर्नेमा ‘सिंहावलोकन’, मैथिलीभाषी हस्तलिखित पत्रिकामा ‘बालसखा’, बुकलेट आकारमा प्रकाशित पहिलो ‘मैथिली चौपाडि’, फोल्डर पत्रिकामा ‘कमला’ आदि छन् । 

नेपाली र मैथिली भाषामा थुप्रै हाइकु, तान्का र कवितासङ्ग्रह तथा लामो कविता,  पत्रकारितासम्बन्धी पुस्तक, पाठ्यपुस्तकलगायत कृति, केही दैनिक पत्रिका र अनलाइन न्युज पोर्टलमा पनि सम्पादकका रूपमा रहनुभएका लेखक स्वयंले पनि कतिपय मैथिली भाषाको पत्रिका सम्पादन र प्रशिक्षण  गरिसक्नुभएको छ ।  

प्रस्तुत कृतिका नामबाट नै यो मैथिली छापा पत्रकारिताको इतिहास भएको बुझिए पनि यसमा न्यु मिडियाका रूपमा विकास भएका केही मैथिली अनलाइन र ब्लगका उदाहरण पनि दिइएका छन्, जुन सङ्क्षेपमा छन् । समयाभावले होला, रेडियो र टेलिभिजन क्षेत्रमा भने उहाँले हात हाल्नुभएको छैन ।  पत्रिकाहरूको विवरण दिँदा कुनै कुनैमा भाषा, पत्रिकाको रूप (साप्ताहिक, पाक्षिक आदि),   प्रकाशक, सम्पादक, प्रकाशन साल, कति साल र अङ्कसम्म प्रकाशन  भएको जस्ता  पक्ष छुटेका छन् । 

सर्सरी हेर्दा यहाँसम्म आउँदा मैथिली पत्रकारिताको राम्रै विकास विकास भएको देखिन्छ तथापि मैथिलीलगायत मातृभाषाप्रतिको सरकारी प्रोत्साहन नीति र राजनीतिक संरक्षणको अभाव, हिन्दी भाषाप्रतिको मोह, पञ्चायत कालमा नेपाली भाषामा बढी जोड आदि कारणले  यसको अपेक्षित हुन सकेन । ‘मैथिलीभाषी सञ्चारकर्मीको निरन्तर क्रियाशीलताको अभाव’ पनि यस दिशामा समस्याको कारक रहेको लेखकको ठम्याइ छ । आर्थिक लगानी, वितरण र जनशक्तिजन्य समस्याले धेरै पत्रिका अनियमित भएको  र  पछिल्लो समय यस क्षेत्रमा कोभिड–१९ को महामारी र आर्थिक मन्दीले पनि नकारात्मक प्रभाव पारेको छ  । त्यसैले लेखकले मैथिली भाषागत पत्रकारिताको विकासका लागि विज्ञापन आदिको.उपलब्धताको मागका साथ तीनै तहका सरकारलाई आह्वान गर्दै मातृभाषामा पत्रकारितासम्बन्धी  तालिमहरू आयोजना गर्न पनि सुझाउनुभएको छ । मैथिली भाषाको जग राख्न विद्यालय–कलेजमा पठनपाठनको व्यवस्था गर्न पनि उहाँले जोड दिनुभएको छ । 

नेपालका प्रत्येक मातृभाषा तथा  र त्यससँग सम्बन्धित इतिहास, साहित्य, सञ्चार, कला, संस्कृति आदिको अध्ययन तथा प्रकाशनले हाम्रो  सम्पदालाई नै वैभवशाली बनाउँछ । यस्ता अध्ययन–अनुसन्धानमूलक कृतिले नयाँ पुस्तालाई मार्गदर्शन गर्छन् नै, संरक्षण र विकासका लागि पनि राज्य, निजी क्षेत्र तथा सम्बन्धित भाषाभाषीका साहित्यकार, संंस्कृतिकर्मी, भाषासेवी र सञ्चारकर्मीलाई घच्घच्याउँछ । आगामी दिनमा राष्ट्रिय समाचार समितिका अध्यक्ष झा वा अरू कसै न कसैबाट यस क्षेत्रको अनलाइनको अवस्था  तथा रेडियो –टिभी क्षेत्रमा पनि अनुसन्धान हुन सकेमा मैथिली भाषा पत्रकारिता अध्ययनको पाटो  झन् परिपूर्ण हुन सक्ने विश्वास गर्न सकिन्छ  ।