मंगलबार २२ असोज, २०८१

नेपाली समय

देशलाई समृद्धिको मार्गमा एमालेले डोर्‍याउने दाबी

देशलाई समृद्धिको मार्गमा एमालेले डोर्‍याउने दाबी

वीरगञ्ज (पर्सा) ५ मङ्सिर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताउनुभएको छ । 

एमाले पर्साद्वारा आज पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टीको एकल सरकार अपरिहार्य भएको बताउनुभयो । 

आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न नेता ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । केही वर्षअघि तराई मधेसका जिल्लामा सञ्चालन गरिएको ‘मेची–महाकाली यात्रा’जस्तै जागरण अभियान यही मङ्सिर १४ गतेदेखि महाकालीबाट सञ्चालन गरिने उहाँले बताउनुभयो । 

तराईमधेस बहुप्रतिक्षित हुलाकी सडक, मदनभण्डारी लोकमार्ग, पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति, जनता आवास कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजना एमाले नेतृत्वको सरकारले ल्याएको अध्यक्ष ओलीले दाबी गर्नुभयो । 

पार्टी सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले देशलाई विकासको बाटोमा अघि बढाउन नेकपा एमाले क्रियाशील रहेको बताउनुभयो । त्यस अवसरमा जनता समाजवादी पार्टी परित्याग गर्नुभएका पूर्वसांसद हरिनारायण रौनियारलगायत नेता कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभयो ।