बेइजिङ, ४ मङसिर । चीनले अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति जेभियर मिलेईलाई बधाई दिँदै उहाँसँग काम जारी राख्ने बताएको छ । निर्वाचन अभियानमा मिलेईले बेइजिङसँग सम्बन्ध तोड्ने वाचा गर्नुभएको थियो ।
“चीनले सधैँ रणनीतिक र दीर्घकालीन दृष्टिकोणले चीन–अर्जेन्टिना सम्बन्धको विकासलाई उच्च महत्त्व दिएको छ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, “चीन–अर्जेन्टिना सम्बन्धको विकास दुवै मुलुकमा समाजका सबै क्षेत्रबीच आम सहमति बनेको छ र यसले दुवै मुलुकका जनतालाई ठोस लाभ दिएको छ ।”
उहाँले चीन–अर्जेन्टिना मित्रताको निरन्तरताका लागि अर्जेन्टिनासँग काम गर्न चीन इच्छुक रहेको बताउनुभयो । “जित–जित सहयोगमार्फत सम्बन्धित विकास र पुनरुत्थानलाई चीन समर्थन गर्छ”, उहाँले भन्नुभयो ।
स्वयंलाई ‘अराजक पूँजीवादी’ बताउने मेइलीले लामो समयदेखि अर्जेन्टिनाको राजनीतिमा प्रभुत्व जमाउँदै आएको पेरोनिस्ट गठबन्धनलाई हटाउने गरी ठूलो परिवर्तन गर्नुभएको छ । उहाँले अर्जेन्टिनाका शीर्ष व्यापारिक साझेदारमध्येको एक चीनका साथै ब्राजिलसँग पनि सम्बन्ध तोड्ने वाचा गर्दै भन्नुभएको थियो, “म कम्युनिष्टहरूसँग व्यापार गर्दिनँ ।”
उहाँले आफू गर्भपतनको विरुद्ध रहेको पनि बताउनुभएको छ । उहाँले पोप फ्रान्सिसको समेत अपमान गर्नुभएको छ । अर्जेन्टिनाको क्रुर तानाशाहीअन्तर्गत मृत्यु हुनेको सङ्ख्यामाथि प्रश्न गर्दै उहाँले जलवायु परिवर्तनमा मानवको हात नरहेको बताउनुभएको छ ।