पश्चिम नवलपरासी, २ मङ्सिर । मधेसी समुदायको महान् पर्व छठको उपलक्ष्यमा छठ घाटको सरसफाइ गरिएको छ । छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरू स्थानीय तथा नेपाल प्रहरीको सक्रियतामा सरसफाइ गरी सजाएर चिटिक्क पारिएका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका-५ बसहिया स्थित पोखरी छठ घाटको सरसफाइ तथा रङरोगन गरिएको हो ।
बसहिया प्रहरी चौकीका प्रमुख जनार्दन यादवको नेतृत्व तथा वडा अध्यक्ष रमेश बनियाको विशेष पहलमा स्थानीयहरूको सहयोगमा पोखरी छठ घाटको सरसफाइ तथा त्यहाँ बनाइएको बेदीहरूको रङरोगन गरिएको हो । बसहिया प्रहरी चौकीका इन्चार्ज यादव कै पहलमा बैदौली स्थित सार्वजनिक प्रतीक्षालयमा पङ्खा समेत लगाएको स्थानीय प्रदेशी नेटुवाले बताए । यादवले बसहिया प्रहरी चौकीका इन्चार्ज सम्हाले देखि नै स्थानीय जनतालाई प्रहरी हाम्रो साथीको अनुभूति हुन थालेको नेटुवाले बताए ।
छठ पूजाको लागि घाटमा व्रतालुहरूलाई रातभर जाग्राम बस्न उपयुक्त हुने किसिमले इलाका प्रहरी कार्यालय बेलाटारी मातहतका सम्पूर्ण प्रहरी चौकी स्थित रहेका छठ घाटहरूको सुरक्षा व्यवस्था मजबुत बनाईको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताएका छन् ।
छठ पर्वको व्रत सुरु भएकोले छठको अवसरमा शान्ति सुरक्षालाई कायम राख्न जिल्लाभर निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य बताए । छठ पर्वको समयमा हुन सक्ने आपराधिक घटनालाई लिएर जिल्लाका हरेक छठघाटमा शान्ति सुरक्षा व्यवस्था मजबुत बनाइएको उनले बताए ।