वीरगंज (पर्सा), १ मङ्सिर । चाडपर्वको बेला खुल्ला सिमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रहरूमा तस्करहरूको अहिले रजगज चलेको छ । सीमानाकाबाट हुने अपराधीक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले सिमानाका लगायत ठाउँ ठाउँमा प्रहरी परिचालन गरेको छ । तर भारतसँग जोडिएको पर्साको सीमानाकाहरुबाट सशस्त्र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भइरहेको छ ।
भारतसँग सीमा जोडिएको पर्साको अलौ, झौवागुठी, अमरपट्टी, प्रसौनिभाठ्ठा लगायतको सीमानाकाहरुबाट सशस्त्र प्रहरीको संरक्षणमा खुलेआम तस्करी भइरहेको पाइएको हो ।
चार्ड पर्वको रौनक थपिएसँगै निर्बाध रूपमा कपडाको तस्करी भइरहेको छ । राजस्व सङ्कलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी सङ्गठन पनि हो । जसले सिमानाकाबाट तस्करी गरी राजस्व छल्ने अवैध कारोबारलाई नियन्त्रण गरी राज्यको राजस्व सङ्कलनमा टेवा पुर्याउछ । तर अहिले सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको अलौ-कोनिया, झौवागुठ्ठी, अमरपट्टी लगायतको सीमानाकाबाट व्यापक रूपमा कपडाको तस्करी भइरहेको छ ।
यस सीमानाकाबाट सरोज, अशोक, बिनोद, सरफदेव, राजु, मुन्ना लगायतका दर्जनौँ तस्करहरू कपडा तस्करी गर्न सक्रिय भएका छन । राती भएदेखि बिहानको उज्यालो नभइन्जेलसम्मको बिचमा सो नाकाहरूबाट कपडाको तस्करी गर्ने गरेका छन । पछिल्लो समय बारा जिल्लाको सिमानाकाबाट तस्करी गर्दै आएका जितपुर सिमरा घर बताउने सरोज अहिले अमरपट्टी, प्रसौनिभाठ्ठा नाकाको प्रयोग गरी तस्करी गर्दै आएका छन् । सरोज भन्नेले प्रत्येक दिन ४/५ वटा मोटरसाइकलमा सो नाकाहरूबाट तस्करी गर्दै आएका छन ।
सरोज लगायतका तस्कर समूहले सशस्त्र प्रहरी बल बिओपी अलौ-कोनियाका इन्चार्ज डिएसपी प्रदिप थापा, बिओपी मरपट्टिका इन्चार्ज इन्स्पेक्टर धर्मराज पाण्डे, बिओपी प्रसौनिभाठ्ठाका इन्चार्ज इन्स्पेक्टर सन्तोष न्यौपाने लगायतको मिलेमतोमा तस्करी गरिरहेको स्रोतको दाबी छ । सरोज भन्नेले यस क्षेत्रबाट करिब एक महिनादेखि कपडाको तस्करी गरिरहेको बताइन्छ ।
तस्करीका कपडा पर्साको बिन्दवासिनी, बहुअरी, बिश्रामपुर, जितपुर सिमरा लगायतको ठाउँमा सञ्चालित कपडा पसलहरूमा जाने गरेको बताइछ । जहाँ तस्करीकै कपडाले कारोबार हुने गरेको छ । राजस्व छली गरी अवैध तरिकाले कपडा आयात गर्ने तस्कर समूहहरूसँग बिओपी इन्चार्जदेखि जिल्ला समेतको सेटिङ रहेको बताइन्छ ।
सरकारको आम्दानीले साधारण खर्चै नधानिने, कर्मचारीले तलबै नपाउने अवस्था आउने त हैन भन्ने आशङ्का गरिराखिएको बेला आम्दानीको प्रमुख स्रोत राजश्व सङ्कलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक सशस्त्र प्रहरी सङ्गठनका यी जिम्मेवार डि.एस.पी. थापा, इन्स्पेक्टरद्वय न्यौपाने, पाण्डेमाथि सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी दिपेन्द्र शाहको संरक्षण रहेकोले खुल्ला सिमानाकाको फाइदा उठाउँदै तस्करी गराइरहेको स्रोतले जनाएको छ । तस्करीमा डिआइजी शाहको संलग्नता रहे नरहेको अन्याैल रहेपनि ती सीमानाकाहरुबाट तस्करीको लाइन दिने ती प्रहरी अधिकारी भने डिआइजीकै नजिक मानिने बताइएको छ ।
तर, सशस्त्रका डि.एस.पी. थापा, इन्स्पेक्टर न्यौपाने लगायतकाले भने तस्करी नभएको झुक्क्याउने प्रतिक्रिया दिए । इन्स्पेक्टर पाण्डेले चाडपर्वको बहाना देखाउँदै सर्बसधारणले घरायसी प्रयोजनको लागि ल्याएको बताउँदै तस्करी नभएको दाबी गरे ।
यता, डिआइजी शाह बिदामा गएकोले यस विषयमा कुरा गर्न खाेजेपनि सम्पर्क हुन सकेको छैन ।