परासी, १ मङ्सिर । पश्चिम नवलपरासीको सुनवलमा आगामी मङ्सिर २१ देखि पौष ४ गतेसम्म तेस्रो सुनवल महोत्सव २०८० सञ्चालन हुने भएको छ ।
सुनवल उद्योग वाणिज्य सङ्घ सुनवल नवलपरासीको आयोजनामा सुनवलको सोमनाथ हाट बजारमा कृषि, उद्योग, व्यापार कला र संस्कृति समग्र सुनवलको उन्नति मूल नाराका साथ तेस्रो सुनवल महोत्सव मेला सञ्चालन हुन लागेको हो ।
व्यापार मेलामा उत्पादक र उपभोक्ताबिच सुमधुर सम्बन्ध स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा घरेलु तथा साना मझौला तथा ठूला उद्योग अतिरिक्त विदेशका बस्तु र पहाडी कृषि जन्य र अन्यहरू समेत गरी २०० व्यावसायिक स्टलहरू रहने सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।
मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष कर्माचार्यले बताए । मेलाको मुख्य विशेषता स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ता उत्पादक बितरण निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट भेला गराई सरसमाग्रीहरु अवलोकन गराउने तथा जानकारी दिने बताए ।
अन्तर्राष्ट्रिय, कृषि तथा जडीबुटी पर्यटन सम्बन्धी दैनिक उपभोग्य बस्तु हस्तकला तयारी पोसाक प्रदर्शन गरिने र सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रूपमा रहने सङ्घका अध्यक्ष कर्माचार्यले बताए । मेलाको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रममा विद्यालय स्तरीय डान्स आईडल विज्ञान प्रदर्शनी र खाना महोत्सव सञ्चालन हुने सुनवल उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिए । उनको अनुसार राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति तथा सेल्फि जोन मेला अवधिभर हुने बताए । उनको अनुसार ४५ स्थानीय स्टलहरु रहने बताए ।
मेलामा हेर्न र अवलोकनका गर्न आउने दर्शका लागि टिकट शुल्क एक सय निर्धारण गरिएको छन भने बिद्यार्थीहरुलाई ७० रुपैयाँ र सामूहिक मेला अवलोकन गर्न आउने बिद्यार्थीहरु ५० प्रतिशत छुट हुने र ६८ वर्ष भन्दा माथि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक शतप्रतिशत छुट व्यवस्था गरिएको सुनवल उद्योग वाणिज्य सङ्घका महासचिव तुल्सीराम तिवारीले जानकारी दिए ।