काठमाडौं, २० कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३० ले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलव ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ ।
कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर रु ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट रु तीन करोड ७८ लाख ३९ हजार छ सय ६०,हिमालय बैंक रु तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स रु दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नौ दशमलव ९३, आशा लघुवित्त छ दशमलव १६,दिव्यश्वरी हाइड्रोपावर पाँच दशमलव ८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ८२ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी लघुवित्त चार दशमलव २८, विन नेपाल लघुवित्त तीन दशमलव ९९, एनआइसि एशिया लघुवित्त तीन दशमलव ९१,एनआइसि एशिया ब्यालेन्स फण्ड तीन दशमलव शुन्य एक र माया खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन् ।