शनिबार १२ जेठ, २०८१

नेपाली समय

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

काठमाडौँ, ३० असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू २३ अर्ब ५० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३६ अर्ब ८४ करोडले घाटामा थियो ।

त्यस्तै, गत भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति रू ५३ अर्ब ६१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २० अर्ब ८१ करोडले घाटामा थियो । 

गत असार मसान्तसम्ममा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन दशमलव नौ प्रतिशतले बढेर भदौ मसान्तसम्ममा रू १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १४ खर्ब ६ अर्ब ५२ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ९३ अर्ब ५९ करोड रहेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १२ दशमलव छ महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । 

गत भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २९ दशमलव सात, ८६ र २६ दशमलव दुई प्रतिशत रहेको छ ।

पछिल्लो दुई महिनामा आयात पाँच दशमलव एक प्रतिशतले, निर्यात सात दशमलव आठ प्रतिशतले र कूल वस्तु व्यापार घाटा चार दशमलव सात प्रतिशतले घटेको छ । 

भदौ मसान्तसम्ममा सरकारको कूल बजेट खर्च रू एक खर्ब ३१ अर्ब १४ करोड र राजस्व परिचालन रू एक खर्ब ४१ अर्ब आठ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय शून्य दशमलव पाँच प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १२ प्रतिशतले बढेको छ ।   

  त्यस्तै, यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन शून्य दशमव एक प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव दुई प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार प्रतिशत छ ।