काठमाडौं, १६ असोज । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यतिबेला सर्वत्र आलोचनाको विषय बनेको छ । नवौँ संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली काँग्रेसको युवा सङ्गठन तरुण दलमा आबद्ध थिए ।
हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगन्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलिदेखि काठमाडौँको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छिन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताइन् ।
ठूला भनिने नेताहरूले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने अवस्था आएको उनको गुनासो छ । रिगलको पक्षबाट पहिलापनि उक्त घट्नालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्की दिएको उनको भनाई छ । चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनको भनाई छ ।
घटना घटेको आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् । उक्त घटनादेखि डिप्रेसनको औषधी खाँदै आएकोमा आममाफीले झनै पीडा दिएको उनको भनाई छ ।
‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधी अझै पनि चलिरहेको छ ।’ उनले भनिन्,‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु ?’
चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुश भएको उनको भनाई छ । राष्ट्रपतिले आममाफी दिएर पुरानो घट्नाको पीडा फेरी दोहा¥याइ दिएको उनको आरोप छ ।
‘जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले यो पीडा दोहा¥याइ दिनु भयो । जुन म पहिला पीडामा थिएँ, फेरी दोहो¥याइ दिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,’– उनले भनिन् ।
हत्यारा छुट्नुले देशमा कानुन नभएको महसुश भइरहेको उनले बताइन् । केही समय वातावरण शान्त बनाएर पीडकलाई राज्यले फूलमाला सहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्ति जनाईन् । आफूले लामो कानुनी लडाइँबाट रिगललाई कारागार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिविना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने बताइन् । उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो ?तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्न समेत गरिन् ।
‘राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरी त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पु¥याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो,’– उनले भनिन् ।
हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनको माग छ । आममाफी मिल्ने हो भने आफूपनि मार्नकालागि तयार रहेको उनको भनाई छ । ‘त्यसो हुन्छ भने हामी पीडित छौँ, हामीलाई पनि हतियार देउ । हामीपनि मारेर बस्छौँ, आममाफी मिल्छ भने,’– उनले भनिन् ।
मनलाग्दी आममाफी दिने सरकारलाई जनताले सबक सिकाउन आवश्यक रहेको उनले बताइन् । उनले आममाफीका विषयमा राष्ट्रपतिलाई प्रश्नैप्रश्न गरिन् । यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनु हुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् ।
‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलीबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ प्रश्न गर्दै उनले भनिन्,‘मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त?यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आज मलाई यो दिन देखाउनुभयो । न्यायका लागि गुहार मान्छे बनाउनुहुन्थ्यो होला त ?’
हत्या अभियोगमा जन्मकैदको सजाय पाएको रिगलको आममाफीको घट्नाले आफूले फेरी मरेको महसुश गरेको उनको भनाई छ । रिगलको विरुद्धमा कसैले पनि बोल्ने आँट नगरेको भन्दै उनले आपत्ति जनाईन् ।
‘आममाफीको खबर मैले सुनेँ, म मरिसकेको महसुश गरेको छु । सरकारले उसलाई आममाफी दियो भने मैले कहाँ गएर गुहार माग्ने ?’ प्रश्न गर्दै उनले भनिन्,‘हत्यारा हो, भोलि उसले हामीलाई पनि मार्छ भन्ने डर र त्रासका कारण कोही पनि बोल्ने आँट गरेनन् । मैले कसैको पनि साथ सहयोग पाएको छैन ।’
एउटा हत्यारालाई आममाफी दिँदा पीडक परिवारको सहमती नलिनु दुःखद भएको उनको भनाई छ । जिन्दगी तहसनहस भएकाहरूलाई बेवास्ता गर्दै घुम्ने कुर्सीमा बसेर आममाफीको पत्रमा सही गर्ने अधिकार राष्ट्रपतिलाई नरहेको उनको भनाई छ । आममाफी दिने वा नदिने भन्ने अधिकार आफू र आफ्नो परिवारमा निहित हुनुपर्ने उनको भनाई छ । राष्ट्रपतिले एकपटक मरिसकेको मान्छेलाई आममाफीको नाममा फेरी मारेको उनको टिप्पणी छ ।
‘राष्ट्रपतिजस्तो व्यक्तिले मलाई आज फेरी मार्यो । मरिसकेको मान्छेलाई फेरि मार्यो । यत्तिका वर्षसम्म त म मरेकै थिएँ, आममाफीले मलाई फेरी मार्यो,’– उनले भनिन् ।
पत्रकार सम्मेलनमा पत्रकार तथा समाजसेवी आशिष मल्ल ठकुरीले आममाफीको विरुद्धमा भोलिदेखि सुरु हुने रिले अनशनमा समर्थन जनाउनका लागि नागरिक समाज, बुद्धिजीवी, मानवअधिकारकर्मी र पत्रकारहरूलाई आग्रह गरे । उनले आफूले गोली खान परेपनि अन्याय र अत्याचारको विरुद्धमा लडिरहने प्रतिबद्धता जनाए । भोलि (असोज १७गते) बिहान १० बजेदेखि माइतीघर मण्डलामा सुर हुने रिले अनशनमा समर्थन जनाउन उनले सबै समक्ष आग्रह गरे ।
सामाजिक अभियन्ता सावित्री सुवेदीले आफू भारती मानन्धरले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको बताइन् । उनले राष्ट्रपतिलाई प्रश्न गर्दै भनिन्,‘यो देश पीडितको होइन ? यो देश महिलाको होइन ?अपराधीलाई र बलात्कारीलाई आममाफी दिन पाईदैन ।’ आममाफीका विरुद्धमा भोलिबाट सुरु हुने रिले आनशनमा पूर्ण समर्थन रहेको उनले बताइन् ।