परासी, १५ असोज । नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले संविधान मार्फत नेपालको राजनीतिक व्यवस्था परिवर्तन भएको बताएका छन् । प्रतापपुर गाउँलेकाले आज आयोजना गरेको ११० औँ जन्म जयन्तीको अवसरमा बि.पि. कोइराला सालिकको अनावरण गर्ने कार्यक्रममा बोल्दै यादवले राजनीतिक परिवर्तन भएको र अब आर्थिक परिवर्तनका लागी दलहरू लाउनु पर्ने बताए ।
उनले भने, "बि.पि. कोइरालाको मर्म अनुसार संविधान आएको छ । भारत, अमेरिका लगायतका राष्ट्रमा पनि पटक पटक संविधान संशोधन भएको छ । संविधान संशोधन गरी समय सापेक्ष गराउन सकिन्छ । आर्थिक समृद्धिका लागि प्रकृतिलाई प्रयोग गर्ने सकिने बताउँदै उनले बि.पि कोइरालाले प्रकृतिलाई संरक्षण गरी प्रकृति सङ्ग रमाउन सके नेपालको आर्थिक विकास हुन्छ त्यसैले हामीले प्रकृतिको दोहन नगरी संरक्षण गर्नु पर्छ ।"
पछिल्लो समयमा देशको विकासका नाउमा प्रकृतिको दोहन भएको बताउँदै उनले नेपालले चुरे पहाडको संरक्षण गर्ने सक्नु पर्ने भनाई थियो ।
कार्यक्रममा पूर्व मन्त्री एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन र संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले समाजवादका प्रवर्तक महामानव बिपी कोइराला राष्ट्रिय व्यक्तित्व भएको बताउँदै कोइरालाको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रतापपुर गाउँपालिकाले सबै पार्टीका व्यक्तित्वलाई राखेर सालिकको अनावरण गर्ने सफल भएकोमा गाउँपालिकालाई बधाई दिएका थिए ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राज्य रक्षा मन्त्री एव जसपाका केन्द्रीय सदस्य रामबच्चन यादवर नेकपा माओवादीका केन्द्रीय सदस्य एव पूर्व स्थानीय विकास राज्य मन्त्री घनश्याम यादव लुम्बिनी प्रदेश सभा सदस्य बिस्वप्रेम पाठकले जिल्ला समन्वय भगौती प्रसाद यादव, नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोख्रेल, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी प्रतापपुर गाउँपालिकाका अध्यक्ष उपप्रमुख मान कुमारी चौधरी लगायतले सम्बोधन गरेका थिए ।