मंगलबार ११ असार, २०८१

नेपाली समय

दसैँगीतका पर्याय विष्णु खत्री

दसैँगीतका पर्याय विष्णु खत्री

(रामबहादुर थापा)

गण्डकी, १५ असोज ।

‘सुनको जलप 

यो दसैँमा घर आउने मन थियो

पापी साहूले दिन्न तलब...’

विसं २०६४ को दसैँ ताका लोकगायक विष्णु खत्रीले ल्याएको गीत हो, यो । जुन गीत उबेला खुबै चर्चित बन्यो । धेरैले रुचाए पनि । खत्री त्यत्तिमा मात्र रोकिनुभएन । त्यसयता सालिन्दा दसैँको छेकोमा उस्तै विषय र भावभूमिमा उहाँका गीत आउन थाले । कतिले त ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’ सम्म भन्न भ्याए ।

खत्रीको सोह्रौँ दसैँगीत ‘दसैँ, तिहार गाउँमा’ आज सार्वजनिक भएको छ । उहिलेको दसैँमा साहुले तलब नदिएपछि घर आउन नपाएका परदेशी अहिलेको दसैँ, तिहार भने गाउँमै मनाउने कुरा गर्दैछन् । सोह्र वर्षको अन्तरालमा पनि खत्रीको गीतको अन्य करिब उस्तै छ । खाली ऊबेला तलब नपाएर दसैँमा घरमा आउन नपाएको परदेशी अहिले घर फिर्दैछ, स्वजनसँग दसैँ मनाउन । 

‘हो पियारी आउँदैछु म गाउँमा 

दसैँ तिहार गाउँमा झैँ रमाइलो, हुन्न कुनै ठाउँमा...’

नेपालीजनले भोगिरहेको परदेश आउजाउको अन्तहीन श्रृङ्खला खत्रीका गीतमा पनि अभिव्यक्त हुने क्रम जारी नै छ । बरु परदेशिने प्रवृत्ति अरु बढ्दो छ । खत्रीले परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सिर्जना गर्दै आउनुभएको छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् । 

उहाँको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ‘दसैँ, तिहार गाउँमा’ त्यसकै सिलसिला हो । मार्मिक सिर्जना र ग्रामिण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन् । गीतको म्युजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ । गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत हुनुहुन्छ । 

“हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ”, खत्रीले भन्नुभयो, “दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।” दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उहाँका दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहनुहुन्छ । 

गत वर्षको दसैँमा खत्रीले ‘उडी जाने जहाज’ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँ, तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । पहिलो दसैँगीत ‘सुनको जलप’मा खत्रीलाई गायिका बिमाकुमारी दुराले साथ दिनुभएको थियो । अहिलेको गीतमा गायक खत्री र गायिका कमला पोखरेलको स्वर छ । 

प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ । “दसैँलक्षित मेरो पहिलो गीत सुनको जलपले खुबै चर्चा बटुल्यो, धेरैले रुचाउनुभयो”, खत्रीले भन्नुभयो, “त्यसयताका प्रायः सबै गीत चर्चामा रहे, आजै युट्युबमा सार्वजनिक भएको गीतलाई लिएर पनि स्रोता/दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, उत्साहित नै छु ।”

सोह्र वर्षदेखि लगातार दसैँलक्षित गीत सार्वजनिक गर्नुभएका खत्री दसैँगीतका पर्यायका रुपमा चिनिन थाल्नुभएको छ । परदेसिएका नेपालीको भोगाइ र उनीहरुको मनोदशा उहाँका सिर्जनामा अभिव्यक्त हुने गरेको छ । खत्रीले तीन वर्षअघि ल्याएको दसैँगीत ‘रिनै रिनको’मा पनि त्यसको सजीव प्रस्तुति पाइन्छ ।  

‘आकाशबाट बाकसमा नआए

ढोका खोल भन्नेछु म आए...’ (पुरुष)

‘घरै धराप छ पहिरो खसेर

बाली खायो सलह पसेर...’ (महिला)

गीतमा बेठेगान परदेशी जिन्दगीको कुरा छ । प्रियजन पर्खेर बसेका परिवारको दुःख र पीडा मुखरित भएको छ । घरमा दसैँ कसरी मान्ने चिन्ता छ । परदेशीले खर्च पठाउनसक्ने स्थिति छैन । परदेशी हुनुको विवशता गीतमा छचल्किएको छ । 

‘के दसैँ मान्छ्यौ र रिनै रिनको’

मेरो केही घर छैन आउने दिनको...’ (पुरुष)

के दसैँ मानौँ र रिनै रिनको

शून्य छ गामवेशी तिमी बिनाको...’ (महिला)

खत्रीका दसैँ गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत हुनुहुन्छ ।