काठमाडौँ, १३ असोज । मनोचिकित्सक डा अनन्त अधिकारीले लेख्नुभएको कविता सङ्ग्रह ‘सर्भावल नोट’ सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा लेखक डा अभि सुवेदीले सङ्ग्रहको सार्वजनिक गर्दै कवितामार्फत निराशाबाट आशा देखाउने प्रयास गरिएको बताउनुभयो ।
उहाँले अहिले जताततै मानिसहरू निराश भइरहेको अवस्थामा लेखकले कवितामार्फत ती निराशालाई आशामा परिवर्तन गर्न सकिने कुरा उल्लेख गर्नुभएको छ । ‘सुसाइट नोट’ लेखेर मानिसलाई झनै निराशा बनाउने कुरा गर्ने गरेको उल्लेख गर्दै उहाँले मनोचिकित्सक डा अधिकारीले ‘सुसाइट नोट’को विरुद्ध ‘सर्भावल नोट’ रहेको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अनन्त वाग्लेले पुस्तकले मानिसलाई सकारात्मक सोच ल्याउन परिवर्तन गर्ने बताउनुभयो । उहाँले युवा पुस्तालाई नेपाली भाषाप्रति अभ्यस्त गराउनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा समालोचक डा गीता त्रिपाठीले चिकित्सकले उपचार गर्दा देखेका मानिसको हृदयको कुरालाई कवितामार्फत देखाउनु खोजेको बताउनुभयो ।
गीतकार दिनेश अधिकारीले बाँच्नका लागि आधार खोज्न पुस्तकले सहयोग गर्ने बताउनुभयो । लेखक डा अधिकारीले समाज र पेशागत जीवनमा आफूले भेटेका आत्महत्याका घटनाहरू, बिरामी र जीवनदेखि हारेका कैयौँ व्यक्तिको ‘सुसाइड नोट’को विपक्षमा पैरवी गर्नका लागि कविता सङ्ग्रह लेखेको बताउनुभयो । पुस्तकमा ४२ वटा कविता रहेका छन् ।