शुक्रबार १८ असोज, २०८१

नेपाली समय

‘महा गफाडी’ घोषणा

‘महा गफाडी’ घोषणा

काठमाडौँ, १४ साउन । नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी शो)  ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन् । तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महा गफाडी ।”

यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै कुनै प्रस्तुति पनि दिन पाइने भएता पनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उहाँले बताउनुभयो । 

कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइरहनुभएका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ हुनुहुन्छ । यस्तै, कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्नु हुनेछ । 

आफू गफाडी नभएकै कारण कार्यक्रममा जोडिएको निर्णायक रहनुभएका अभिनेता तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रस्ताव आउँदा म केही अचम्मित भएँ । यद्यपि कार्यक्रमको ढाँचाले मलाई आकर्षित ग¥यो । मेरो लागि यो नयाँ अनुभव हुनेछ ।” 

निर्णायककै भूमिकामा रहनुभएकी अभिनेत्री तुलाधरले सबै आ–आफ्नै भाषामा आफ्नो कला देखाउनु पाउनु सुखद रहेको बताउनुभयो । “हामीले सोच्ने हास्य प्रहसन भाषिक अस्वतन्त्रताका कारण चाहेजस्तो व्यक्त गर्न पाइँदैन । यसमा सबैले आफ्नै भाषामार्फत प्रस्तुति दिन पाउनेछन् । यो पनि नयाँ प्रयोग हो”, अभिनेत्री तुलाधरले भन्नुभयो । 

आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद रु १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद रु १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद रु पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन् । 

सोह्र हप्तासम्म चल्ने कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैङ्गिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी कुनै प्रस्तुति दिन पाउने छैनन् ।