सोमबार २१ फागुन, २०८०

नेपाली समय

सङ्कटमा सालक

सङ्कटमा सालक

हेटौँडा, २३ जेठ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित साना स्तनधारी जनावरमा सूचीकृत छ सालक । सालक मात्र एउटा यस्तो जनावर हो, बागमती प्रदेशका १३ जिल्लामै पाइन्छ । हिमाली भेगको रसुवादेखि भित्री मधेसको मकवानपुरसम्म र दोलखादेखि धादिङसम्म सालक पाइन्छ । सालकलाई बागमतीको ‘गौरव जनावर’ घोषणाको अभियान  चलाउन सके सङ्कटमा रहेको सालक संरक्षण हुन सक्ने र वातावरण संरक्षणसँगै किसानलाई अरू लाभ पुग्ने वन संरक्षणकर्मीहरुको भनाइ छ ।

गैँडा, बाघ चितवनमा मात्र पाइन्छ । दुर्लभ ‘रेड पान्डा’ रसुवा र केही हिमाली जिल्लाका भेगमा मात्र पाइन्छ तर सालक बागमतीका सबै जिल्लामा पाइन्छ । सालक एक प्रकृतिप्रेमी प्राणी पनि हो । सालक वातावरणमैत्री जनावर हुनाका नाताले किसानको साथी त हुँदै हो, मानव समुदाय, अन्नबाली, अन्य घरपालुवा जनावर कसैलाई हानि नगर्ने र धमिरा तथा कमिला मात्र आहारा बनाउने सालक संरक्षण अभियान चलाउन जरुरी छ ।

बागमती प्रदेशको वन मन्त्रालयले प्रदेशका सबै जिल्लामा सालक संरक्षणलाई केही रकम विनियोजन गर्न थालेको छ र सालक संरक्षण अभियान पनि सुरु हुँदैछ  । सालक संरक्षण अभियान चलाउने समय भइसकेकामा वनकर्मी, संरक्षणकर्मीहरु पनि सहमत देखिएका छन् । यसलाई अति लजालु, संवेदनशील एवम् शान्त वातावरणमा बस्न रुचाउने, मानवलाई हानि नगर्ने र इकोसिस्टमलाई चुस्त बनाउने जीव मानिन्छ । प्रदेश सरकारले ‘गौरवको जनावर’ घोषणा गर्न सके कम्तीमा एउटा संरक्षित जनावर प्रदेश सरकारले अपनत्व लिइदिँदा देशभर संरक्षण क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने र सालक संरक्षण अभियानले गति लिन सक्ने देखिन्छ ।

पहिलोपटक देख्नेले सानो न्याउरी मुसा जस्तो पनि मान्न सक्छन् । स्तनधारी जीव सालकको शरीरमा बाक्लो र कडा कत्ला ९खबटा० हुन्छ । उसो त यो सानो डाइनोसोर जस्तो पनि देखिन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकेको हुन्छ । सालक पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ । सालकको दाँत हुँदैन, जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिनसक्ने क्षमताको हुन्छ । रङ्ग माटोजस्तै देखिन्छ । आहाराको खोजीमा रातिमात्र निस्कने सालक कतैबाट आक्रमण वा खतरा महसुस गरे पनि नभागी बस्छ । यस्तो बेला भकुन्डो आकारमा थुतुनो केन्द्रमा पारेर डल्लो परेर बस्छ । खतरा महसुस नभए डल्लो परेको सालक आफ्नो ज्यान साबिकको आकारमा ल्याउँछ र गन्तव्यमा हिँड्छ ।

संसारमा आठ प्रकारका सालक पाइने गरेको अनुसन्धानले देखाएका छन् । नेपालमा भने दुई प्रकारका सालकमात्र पाइन्छन् । नेपालमा कालो खबटा भएको ‘चिनियाँ प्याङ्गोलियन’ र फुस्रो खबटा भएको ‘भारतीय प्याङ्गोलियन’ अस्तित्वमा छन् । चिनियाँ प्याङ्गोलियन चाहिँँ विश्वमै अति सङ्कटापन्न सूचीको प्राणी हो । नेपालमा अस्तित्वमा रहेको स्तनधारीमध्ये एउटै मात्र अन्तराष्ट्रियरूपमै अति सङ्कटापन्न वन्यजन्तु सालक हो ।

सालक नेपालका सामुदायिक वनभित्र भेटिने गरेका छन् । जमिनमुनि रहने सालक आफैँ खन्दै हिँडिरहन्छ । सालकलाई घमाइलो वातावरण चाहिन्छ । जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ । समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइको जङ्गलमा सालक पाइने गरेको छ । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अनुसार नेपालका ४३ जिल्लामा सालक पाइन्छ । चिनियाँ प्याङ्गोलियन भक्तपुर, बागलुङ, चितवन, धादिङ, धनकुटालगायत २३ जिल्लामा पाइन्छ । इन्डियन प्याङ्गोलियन कञ्चनपुर, बारा, पर्सा, सुर्खेतलगायत सात जिल्ला पाइन्छ । डडेल्धुरा, सल्यान, म्याग्दी, कास्की, नुवाकोट, सिरहा, मोरङलगायत १४ जिल्लामा दुवै प्रजातिका सालक पाइएको छ ।

चीन र भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि सालकको माग बढी छ । त्यहाँका धेरैजसो रेस्टुरेन्टमा सालकको मासु घरानियाँ र प्रतिष्ठित परिवारको परिकारमा गनिन्छ । सालकको खबटा बुलेट–प्रुफ ज्याकेट तथा गुणस्तरीय टाँक बनाउन प्रयोग हुने गरेको छ । महँगा सौन्दर्यका सामग्री बनाउन पनि खबटा प्रयोगमा आउँछ । त्यसैले सालकको तस्करी बढेको हो । नेपालमा भने सालकको मासु खाए दीर्घरोग निको हुने विश्वास छ । सालकको मासु खाए सुत्केरीको साल छिटो झर्छ भन्ने अन्धविश्वास छ । तर सालक महँगोमा बिक्री हुन्छ भनेर चर्चा गरिएको छ र यसको मारकाट र तस्करी बढेको हुन सक्छ । चोरी र अवैध सिकारले सालक नोक्सान भइरहँदा संरक्षण अभियान चलाउनु जरुरी ठानिएको हो । हरेक दिन तीन सय सालक मारिने अनुमान गरिएको छ ।

एउटा सालकको खबटा बेच्दा कम्तीमा रु पाँच हजार सजिलै पाइने भएकाले वन क्षेत्र आसपासमा बस्नेबाटै सालक मारिने क्रम बढ्दो छ । बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, दोलखामा चाहिँ सालक मार्ने क्रम बढ्दो छ । मारिएका केही सालक चिनियाँ नाका तातोपानीसम्म पु¥याएर तस्करी भइरहेको पाइएको छ । बेलाबखत प्रहरीले सालकसहित केहीलाई पक्राउ पनि गरेको पाइएको छ । खासमा चीनमा सालकको माग बढेसँगै त्यहाँ सालक मार्ने क्रम बढ्दो रहेको पाइएको छ । त्यसैको सिको गरेर काभ्रेमा पनि सालक मार्ने क्रम बढेको पाइएको हो ।

सालकले खेतीबाली र उत्पादनमा नोक्सान गर्ने जीवलाई मात्रै आहारा बनाउँछ । वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा सात करोडसम्म कमिला र धमिरा खान सक्ने अनुसन्धानले देखाएको छ । सालकले खाइदिएकाले नै किरा र कमिला नियन्त्रण भएर बालीनाली फस्टाउन सकेको हो । जमिन खोस्रेर उर्वरा बनाउने काम पनि सालक नै गर्छ । त्यसैले सालक किसानको साथी हो, शत्रु होइन भन्ने धारणाको विकास गराउन जरुरी छ ।

सालक तस्करीमा संलग्नलाई नेपालमा कारबाही गर्ने कानुन छ । सालक मार्ने र व्यापार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना व्यवस्था छ । यस्तै, पाँच देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि ९साइटिस० २०१७ अनुसार रु १० लाखसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय वा दुवै हुनसक्नेछ । विश्वभर सालकको तस्करी बढेपछि साइटिस अभिसन्धिले अतिसङ्कटापन्न वन्यजन्तुको अनुसूची २ बाट १ मा राखेको छ ।

संसारमै सङ्कट खेपिरहेको सालक संरक्षणका लागि केही प्रयास नभएका होइनन् । सालकका प्रजाति संरक्षण, जनचेतनाका लागि हरेक अङ्ग्रेजी महिना फ्रेबुअरीको तेस्रो शनिबार हामी ‘सालक दिवस’ मनाउने गर्दछौँ । फागुनको पहिलो साता यो दिवस पर्दछ । दिवस मनाउने क्रममा सालक संरक्षणबारे बहस, छलफल हुने गरेका छन् ।

यद्यपि यसलाई जनसहभागितात्मक बनाउन सकिएको छैन । सामुदायिक वन समूहसँग छलफल गरेर यसलाई अघि बढाउन जरुरी देखिएको छ । सालकको महत्त्व पहिचान, संरक्षणमा केही प्रयास पनि भएका छन् । बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरिएको ‘दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता’मा बनेको मस्कटमा सालक समेटिएको छ । सालक संरक्षणका लागि मूलतः दुईवटा कार्य हुनुपर्ने बताउनुभयो । एउटा, बागमती प्रदेशले प्रदेश गौरव जनावरमा सालकलाई तोक्न सकिन्छ भने प्रदेश सरकारको नीति तथा कार्यक्रममै सालक संरक्षण अभियानलाई बजेट छुट्याएर १३ जिल्लाका सामुदायिक वन तहसम्म संरक्षण अभियान सञ्चालन गर्न सकिन्छ । ( वीरगञ्जबाट प्रकाशित मधेसदृष्टि दैनिकका सम्पादक एलन प्राणीशास्त्रमा पनि अभिरुचि राख्नुहुन्छ)