२०७८ असार १०, बिहीबार

img-responsive

१२:०८:०३

 

पर्सा प्रहरीद्वारा अवैध मदिरा भट्टी नष्ट, मदिरा सेवन गर्न आउने भारतीयलाई कडाइ कि छुट ?

मदिरा भट्टी सञ्चालनले कोरोनाको जोखिम उच्च

गोठालो खबर
बलिराम यादव , २०७८ जेठ २७, बिहीबार,०९:२१:AM  
img-responsive

वीरगंज, २७ जेठ। हामीले बेलाबखत सुन्छौ, ‘प्रहरीले .... लिटर घरेलु मदिरा नष्ट ग¥यो । बुधवार पनि पर्सा प्रहरीले भारी परिणाममा अवैध मदिरा नष्ट गरेको छ । मदिराजन्य पेय राम्रो होइन, स्वास्थ्य र समाज दुबैका लागि घातक हो भने कुरा मदिरा पिउने सबैलाई थाहा छ । तर पनि मदिरा सेवन गर्ने र बिक्री वितरण गर्ने क्रम भने रोकिएको छैन ।

प्रहरीले पर्साको कालिकामाई गाउँपालिका र जिराभवानी गाउँपालिकामा अवैध रूपले सञ्चालनमा रहेको मदिरा भट्टी बुधवार नष्ट गरेको छ । कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीस्थित सोहन साह कलवार र सोही ठाउँका जयराम साह समेतले संचालन गरेको अबैध मदिराभट्टी प्रहरीले नष्ट गरेको हो । मदिरा भट्टीबाट कच्चा पदार्थ ६ सय लिटर, तयारी मदिरा एक सय लिटर, ड्रम ६ थान ग्याँस दुई थान, सखर मिठा ५ बोरा, फलामको रक्सी बनाउने पाइप एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै, जिराभवानी गाउँपालिका वडा नं. ५ बस्ने तुलसी माझी, लक्षुमन बिन, अनुद्र महतो, सुदामा महतो, राम कमकर र रामेश्वर महतोले संचालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । तुलसी माझिले संचालन गरेको मदिरा भट्टीबाट कच्चा पदार्थ अं. १०० लिटर, मेशिन १ थान, ड्रम १ थान, बरामद भएको पर्सा प्रहरीले जनाएको छ । यस्तै, दर्शन महतो नुनियाको मदिरा भट्टीबाट कच्चा पदार्थ एक हजार १ सय लिटर, तयारी मदीरा ५० लिटर, मेशिन १ थान, ड्रम ९ वटा, लक्ष्मण विनको मदिरा भट्टीबाट ४०० लिटर कच्चा पदार्थ ड्रम २ थान, अनुद्र महतोको मदिरा भट्टीबाट ३०० लिटर कच्चा पदार्थ ड्रम १ थान, सुदामा महतोको मदिरा भट्टीबाट २०० लिटर कच्चा पदार्थ ड्रम १ थान, राम कम्करको मदिरा भट्टीबाट १०० लिटर कच्चा पदार्थ ड्रम १ थान र रामेश्वर महतोको मदिरा भट्टीबाट १०० लिटर कच्चा पदार्थ ड्रम १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

१० लाख बराबरको अवैध कस्तुरी पनि प्रहरीको फन्दामा

गत बिहीबार प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ बञ्जारीस्थित दशगजा क्षेत्रबाट पर्सा प्रहरीले रु १० लाख बराबरको अवैध कस्तुरी(मदिरा) बरामद गरेको थियो । ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा खटेको प्रहरी टोलीले बाहिर खाद्यान्न सामाग्री ढुवानी भनेर लेखिएको प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टर दशगजा क्षेत्रमा रोकेर चेकजाँच गर्दा उक्त ट्याक्टरमा कस्तुरी लेखिएको मदिरा ३ सय कार्टुन बरामद गरेको थियो । यसअघि पनि पटक-पटक पर्साको ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको थियो ।

घरेलु र अवैध रूपले उत्पादित मदिराको प्रभाव के ?

पर्सामा अवैध रूपमा उत्पादन गरिने र घरमा उत्पादन गरिने मदिराको उपभोग अत्यधिक रहेको पर्सा प्रहरीले बरामद गर्दै आएको मदिराबाट प्रमाणित हुन्छ । भारतको बिहार सरकारले मदिरा पूर्ण रूपमा प्रतिबन्ध लगाएदेखि झन् सीमा क्षेत्रमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणको अवस्था बढेको देखिन्छ । मदिरा अनियन्त्रित तरिकाले उपभोग गर्नुहुँदैन । घरेलु र अवैध रूपले उत्पादित मदिराले ठूलो मानवीय क्षति हुनसक्ने जानकारहरू बताउँछन् । तैपनि पर्सा जिल्लामा घरेलु मदिरा उत्पादन र बिक्री वितरणको घटना कम भएको छैन । प्रहरीले जतिसुकै कडाइ गरेपनि केही ठाउँमा भने प्रहरीकै संरक्षणमा लुकिछिपी अवैध मदिरा भट्टी संचालन रहेको बुझिएको छ ।

मदिरा भट्टी सञ्चालनले कोरोनाको जोखिम उच्च

पर्साको सबैठवा र धोबिया टोलाको बिचमा रहेको दशगजा क्षेत्रस्थित फूसको घरमा उत्पादित अवैध घरेलु मदिरा सेवन गर्न दिनहुँ एक सय ५० जनाभन्दा बढी मानिसको भिड नै लागेको स्थानीय बताउँछन् ।

भारतीय सीमासँग जोडिएको उक्त क्षेत्रबाट भारतीयहरू दिनहुँ सयौँको संख्यामा नेपाल प्रवेश गरी मदिरा सेवन गर्ने गर्छन् । यही मङ्गलवार साँझ पख सबैठवामा मदिरा सेवन गर्ने भारतीयको भिड लागेको सूचना पाएर सशस्त्र प्रहरी बल लहावरथकरीबाट गएको सशस्त्र प्रहरीको टोलीले लट्ठी प्रहार गर्दा मदिरा सेवनकर्ता भागाभाग भएको भिडियो नै फेला परेको थियो । प्रहरी आएको थाहा पाएपछि मदिरा संचालकले ताल्चा लगाई फरार भएको सशस्त्र प्रहरी बताउछन्।

भारतको बिहार सरकारले मदिरा बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएपछि खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय नागरिक सजिलै नेपालमा आएर मदिरा सेवन गर्ने गरेको र नेपालीहरूसँग निरन्तर सम्पर्कमा आइरहेको कारणले ग्रामीण भेगतिर मदिरा भट्टीबाटै पनि कोरोनाको जोखिम बढ्न थालेको स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

मदिरा सेवन गर्न आउने भारतीयलाई कडाइ कि छुट ?

मदिरा सेवनको लतलागेका भारतीयहरू निषेधाज्ञामा पनि दिनहुँ जसो नेपाल प्रवेश गरी मदिरा सेवन गरेको पाईएको छ । सीमा क्षेत्रमा तैनाथ प्रहरी प्रशासनले कडाइ गरे पनि खुल्ला सीमानाको फाइदा उठाउँदै नेपाल प्रवेश गरी मदिरा सेवन गर्ने गरेका छन् । त्यसमा प्रहरी प्रशासनले नै नसघाएको जस्तो छैन । आर्थिक लाभ लिन केही प्रहरीका कमाण्डरले अवैध मदिरा भट्टी संचालन भएको देखेर आँखा चिम्लेर बसेको हुनाले घरेलु मदिरा बिक्री वितरण रोकिएको छैन । जसले भारतीय नागरिक नेपाल प्रवेश गरी मदिरा सेवन गर्ने गरेको र अवैध मदिरा कारोबारीलाई व्यवसाय संचालन गर्न टेवा पुगेको सबैठवाका एक स्थानीय वृद्धले बताए ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन र कोरोनाको जोखिम न्यूनीकरण गर्न पर्सा प्रहरीको महत्त्वपूर्ण भूमिका देखिए पनि केही ठाउँमा प्रहरीको साँठगाँठले अवैध मदिरा भट्टी संचालन हुँदै आएको मदिरा बरामद घटनाले पनि पुष्टि गरेको छ ।

निषेधाज्ञा खुलेपछि मदिरा भट्टीलाई नै टार्गेट

यता पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रबक्ता ओमप्रकाश खनालले तस्करी, घरेलु तथा अवैध मदिरा कारोबारसंग केही मानिसको जीविका नै जोडिएको हुनाले जति कानुन कडाइ गरिएपनि यस्ता कारोबार बन्द हुन नसक्ने बताए ।

‘‘जबसम्म त्यस्ता मानिस अन्य विकल्प वा आर्थिक रूपले सक्षम हुँदैन, तबसम्म हामीले जति कडाइ गरेपनि अवैध घरेलु मदिराको कारोबारलाई न्यूनीकरण सकिँदैन’, उनले भने,‘तर हामीले सूचना पाएको खण्डमा एक्सन नै गर्ने हो र गरेका पनि छौ ।’’ तराईको सीमा क्षेत्रमा मात्रै होइन, पहाडमा पनि यो समस्या रहेको उनले बताए ।

उनले निषेधाज्ञाका कारण मानिसलाई आवतजावतमा कडाइ गर्ने, स्वास्थ्य लगायतका क्षेत्रमा बढी ध्यान दिएर जनशक्ति परिचालन गरिएकोले केही ठाउँ लुकाई छिपाई घरेलु मदिरा उत्पादन हुने गरेकोले निषेधाज्ञा खुलेपछि मदिरा भट्टीलाई टार्गेट नै गरी बढी जनशक्ति परिचालन गरी न्यूनीकरणतर्फ लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit