२०७८ असार १०, बिहीबार

img-responsive

१२:०६:०३

 

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर संयुक्त दलित शक्ति राष्ट्रिय मञ्चद्वारा बैठक सम्पन्न

गोठालो खबर
गोठालो खबर -३ २०७८ जेठ २५, मङ्गलबार,१०:५४:AM  
img-responsive

काठमाडौँ, २५ जेठ। संयुक्त दलित शक्ति राष्ट्रिय मञ्चले भर्चुअल मध्यमबाट बैठक सम्पन्न गरेको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको १५ औँ वर्ष गाठको  सन्दर्भ पारेर “जातीय भेदभाव तथा छुवाछुत उन्मुलनमा संवैधानिक प्रावधान र विद्यमान सामाजिक मनोविज्ञान“ शीर्षकमा सोमबार आयोजित भर्चुअल बैठक मञ्चका अध्यक्ष हस्त बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न गरेको थियो।

कार्यक्रमको स्वागत मन्तव्यमा अभियानका उपाध्यक्ष भिम लकान्द्रिले सहभागी हरुलाई स्वागत गर्दै आफ्नो भनाई राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रदिप घतालले गर्नु भयको थियो। उक्त कार्यक्रममा विशेष अतिथि वक्ताको रूपमा अधिवक्ता मोहन साशंखर, अधिवक्ता जीवन ज्योति विश्वकर्मा र भारत प्रवास प्रमुख अधिवक्ता नरेश विश्वकर्माले आफ्ना विचार राख्नु भएको थियो।

कार्यक्रमका अतिथि वक्ता मोहन साशंखरले यो संविधान २०६३ को अन्तरिम संविधान भन्दा पनि पछाडि फर्केको, मौलिक हकमा दिने भनिएका विषयमा 'कानुन बनाई' भन्ने शब्द राखेर अधिकार दिन नखोजिएको, ऐनमा पीडकलाई गरिएको सजाएको व्यवस्था अति थोरै भएको जस्ता कुराले संविधान दलित मैत्री हुन नसकेको र यसको लागि संघर्ष अझै आवश्यक रहेको धारणा राख्नु भएको थियो।

अधिवक्ता नरेश विश्वकर्माले भारतमा दलितहरूले  नेपालमा भन्दा धेरै अवसर प्राप्त गरेका बताउनु भयो।भारतमा दलितमाथि नेपालमा भन्दा हिंसा पनि कम रहेको बताउँदै संविधान वा कानुनमा लेखिएर मात्र नहुने बरु त्यो कानुन किन कार्यान्वयन हुन सकेन ? भनेर प्रश्न गर्नु भएको थियो। त्यसलाई पुनर्लेखन वा संशोधन के आवश्यक छ भनी सदनमा दलित सांसदहरूले अधिकारका र त्यसको कार्यान्वनको लागि पटक-पटक संघर्ष गर्नु पर्ने विचार राख्नु भएको थियो ।

अर्का अतिथि भद्रमान मोतेले नेपाल विभिन्न अन्तर्राष्ट्रिय महासंधिहरुको पक्ष राष्ट्र भएको हुनाले तिनको हुबहु कार्यान्वयन हुन पर्ने कुरा राख्नु भयो। कानुनको नजरमा सबै बराबरी भएकोले आफूमाथिको अन्याय विरुद्ध कानुनी उपचार प्राप्त गर्न विभिन्न उपाय खोज्न पर्ने कुरा बताउनुभयो । छुवाछुतको स्रोत जात व्यवस्था भएकोले यसको खारेजी गर्नु पर्ने आवश्यकता रहेको मोतेले बताउनु भयो ।

अभियानका सचिव मिरा स्वर्णकारले दलित र महिलामाथिको ज्यादतीले सीमा नाघेकोले एकीकृत संघर्ष गर्नु पर्ने धारणा राख्नु भएको थियो । अभियानका उपाध्यक्ष पूर्णिमा परियारले सतीप्रथा जसरी हटाइयो त्यस्तै गरी छुवाछुत प्रथा पनि हटाउन कठोर सजाय हुनुपर्ने भन्दै त्यसको लागि राज्यलाई व्यापक दबाब दिने अधिकारको लागि आन्दोलनमा नै जोड दिनु पर्ने बताउनु भयो। 

सहभागीहरू सबैले कार्यक्रम असाध्यै उपलब्धिमूलक रहेको बताउँदै थप अधिकार प्राप्तिको लडाइँमा गोलबन्द हुन सबैलाई आह्वान गरेका छन्। त्यस्तै अध्यक्ष हस्त बहादुर विश्वकर्माले हामी दलितलाई अधिकार सम्पन्न गराउन शान्तिपूर्ण निर्णायक आन्दोलनको लागि अघि बढ्ने र यो सरकारलाई जसरी पनि घुँडा टेकाई छाड्ने भन्दै सबैले हामीलाई साथ दिनुपर्ने विचार राख्नु भएको थियो 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit