२०७८ असार ९, बुधबार

img-responsive

११:५८:५७

 

पार्टी फुट र जुट: द्वन्द्वात्मक र तत्कालीन एकता केन्द्र र हालको जसपा फुटको तुलनात्मक अध्ययन !

गोठालो खबर
गोठालो खबर २०७८ जेठ २२, शनिबार,१०:५७:AM  
img-responsive

==================

आरम्भ

दार्शनिकहरू भन्ने गर्छन् चुनौतीको सामना नगरी अवसरहरूको सिर्जना हुँदैन । विश्व राजनीतिको हरेक टर्निङ्ग प्वाँइन्टहरुमा हामी त्यो देख्छौँ । पुरातनवादीहरु यथास्थितिमा समाजलाई कायम राख्न जालसाजीपूर्ण तिकडम गर्छन् भने क्रान्तिकारीहरू अग्रगामी योजना लागू गराउन यथास्थितिवादलाई धक्का दिन्छन् । सामाजिक परिवर्तनको राजनीतिक चक्र यसरी नै चलेको हुन्छ । तर अवसरवादीहरू न धक्का दिन्छन् नत धक्का सहन्छन् नै उनीहरू हरेक पेचिलो राजनीतिक खिचातानीमा बाच्छा पाए पनि बच्छी पाए पनि बिगौतीको निम्ति साखुल्ले बन्दै जित्नेको पछि लाग्छन् । असुविधाको बेलामा जहाँ जसरी जुन दुलामा लुकेपनि सुविधाको बेलामा तिललाई पहाड बनाएर सगरमाथा पल्टाएको डिङ हाँक्छन् । राजनीतिका अवसरवादीहरूले सधैँ क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूको बिचमा जता मल्खु उता ढल्कु गर्दै आफूलाई जीवन्त राखेका छन् । 

गलत संस्कार र परम्पराले देशमा चल्ने हरेक प्रकारको आन्दोलनहरू सफलतामा नटुंङ्गीई केबल बलिदान र सम्झौतामा मात्रै टुंङ्गीएको छ । एकटकको निर्णायक आन्दोलनले बिट मार्न नपाउनुको परिणाम केही समयमा फेरी बलिदान दिनुपर्ने र नयाँ कुरुवानीको आवश्यकता पर्ने । यसरी देशले पटक पटक आन्दोलन, क्रान्ति र परिवर्तनको नाममा बृहत् जनशक्तिले श्रम, सिप र समय दिनु परिरहेको छ । त्यसैले राजनीतिक आन्दोलनलाई त्यसको आधारभूत गन्तव्यसम्म पु¥याउनु पाएमा अमेरिका, बेलायत, अस्ट्रेलिया क्यानडा वा पछिल्लो पटकको भारत, चीन र रुस जस्तो एकोहोरो विकासको बाटोमा लाग्न पाइने थियो । यसको निम्ति अमेरिकाको स्वतन्त्रताको आन्दोलनजस्तो, बेलायतको चार्टीस्ट आन्दोलन जस्तो, रुसको ऐतिहासिक समाजवादी क्रान्ति जस्तो, चीनको दीर्घकालीन जनयुद्ध जस्तो आन्दोलनको अभिष्टको आधारभूत विजयको शिखरमा पुग्ने र न्यूनतम सय वर्षको व्यवस्थापनको आधारभूत खाका तयार पार्ने हैसियतसम्म आन्दोलन पुग्नुपर्दथ्यो । तर पटक पटकको आन्दोलन, बलिदान र सम्झौताले अपरिपक्व बाबुका बिग्रेको केटाकेटी जस्तो भएको छ हाम्रो देश । लोकतन्त्रको फेममा हिँड्दै नहिँड्ने ...।

राजनीति केवल संसारभरका आदर्शवादी शब्दहरू टिप्दै कोठामा बसेर गरिने बुद्धीचाल होइन, नयाँ-नयाँ तर्कहरूको आविष्कार गर्दै संसारकै तर्कशाष्त्र समृद्ध बनाउने अभियान पनि  होइन । तर हामीले करिब ८० वर्षदेखि देखिरहेका छौँ, एकाध निर्णायक आन्दोलन र त्यसको तयारीमा लाग्ने क्रान्तिकारीहरूको दार्शनिक वैचारिक सङ्गठनात्मक आधारहरूमा बाहेकको राजनीतिमाका अन्यमा केवल अवसरहरूको तानातान र त्यसैको निम्ति गरिने विभिन्न प्रपञ्चहरू बाहेक केही देखेनौँ । वास्तवमा राजनीति बोल्नको निम्ति होइन, देश र जनतालाई आधुनिकतातर्फ दिशा निर्देश गर्न गर्ने पवित्र सेवा हो । तर स्वार्थीहरूले राजनीतिलाई व्यक्तिगत स्वार्थ सिद्ध गर्दै पद प्रतिष्ठा कमाउने सान र मानकसाथ जिउने पेसा बनाउन थाले । पार्टीहरू जुट्छन् स्वार्थको लागि फुट्छन् स्वार्थकै लागि ...! तर क्रान्तिकारीहरूको पार्टी फुट्दा वा जुट्दा पैदा हुने स्वार्थ केवल देश जनता र परिवर्तनको भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ हुनु पर्छ । त्यसले मात्र देशको परिवर्तनकारी आन्दोलनले न्याय दिलाउन सक्छ । कार्यकर्ताहरूले बगाएको रगत पसिनाले मूल्य पाउँछन् र जनताले गरेको अनेकौँ प्रकारका आशा अपेक्षा सहितको त्याग तपस्या सार्थक बन्छ । 

फुट्नुको तुलनामा जुट्नु सुखद र आशावादी विषय हो । तर यदाकदा क्रान्तिकारी आन्दोलनमा जुट्दा पाइने उमङ्ग भन्दा फुट्दा पाइएको सुस्केराले सुखद अनुभूति गराउँछ प्रतिकृयावादी पार्टीहरूमा जुट्दा निर्वाचनमा सिट जित्न सकिने, सरकारी नियुक्तिहरूमा अंश पाइने, “सरकारी पार्टी” भन्दै ठाउँ कुठाउँमा लाभको सौदा गर्न पाउने ! र फुट्दा पार्टीको आन्तरिक सङ्गठनात्मक संरचनाहरूमा माथिल्लो पदमा पुग्न सकिने .....?! कथित व्यक्तिगत लाभ वा हानीलाई ध्यान दिएर फुट्ने वा जुट्ने हुन्छ । त्यसैले पक्षधरताको मामलामा पनि अधिकांश मात्रामा “जता मल्खु उता ढल्कु हुन्छन् ।” सत्यलाई भन्दा शक्तिलाई आफ्नो लगावको आधार बनाउँछन् । तर क्रान्तिकारीहरू यसको ठिक विपरीत हुन्छन् । उनीहरू पार्टी फुट्दा पद बढेकोमा भन्दा जिम्मेवारी बढेको अनुभव गर्छन् र क्रान्तिको लागि चार चौरास आफ्नो जिम्मेवारी पूरा गर्न लागिपर्छन् । जुट्दाखेरीपनि पद सानो भयो वा घटुवा भयो वा भएन भन्नेमा चिन्ता गर्दैनन् बल्की उनीहरूको ठूलो पार्टी ठूलो जिम्मेवारी र जनताको ठूलो अपेक्षा पूरा गराउन पहिलेभन्दा धेरै जिम्मेवारीपूर्वक दायित्व निर्वाह गराउन तत्पर हुन्छन् । किनकि ठूलो पार्टीमा प्रतिस्पर्धा पनि ठूलै हुने स्वयमसिद्ध छ । त्यसैले क्रान्तिकारीहरू फुट्दा वा जुट्दा क्रान्तिको भविष्य र जनअपेक्षापूर्तिको खातिर खुसी या दुखी हुन्छन् ।

हालको जसपा र तत्कालीन नेकपा(एकता केन्द्र) को फुट तुलनात्मक अध्ययन

इतिहासका केही पक्ष

२०४६–४७ को आन्दोलन सकिनसाथ देशमा आफ्नो सङ्गठन बिस्तारको लागि काँग्रेस कम्युनिष्टहरु जोड तोडले लागे। गिरीजाप्रसाद कोइराला चैत्र २७ जनआन्दोलन समापनको भाषणमै “यो जीत काँग्रेसको पनि हो, कम्युनिष्टको पनि हो, पञ्चहरूको पनि हो !” भन्दै भ्याएसम्मको पञ्चहरू, सोहोर्न हिँडे । अर्कोतर्फ तत्कालीन मदन भण्डारीको माले मनमोहनको मार्क्सवादीलाई “हामीसंग कार्यकर्ता मात्रै तपाईँहरूसँग नेता मात्रै लौ आउनुस् एकता गरौँ नेता र कार्यकर्ताको मिलनबाट देशमा बामपन्थीमय बनाउनु पर्छ !” भनेर एमाले बनाए ।

यता मालेलाई पार्टी नस्वीकार्ने, झापाली गुट भनेर अपमानित गर्ने स्वनामधन्य कम्युनिष्टहरु तुलसीलाल, विष्णुबहादुर, कृष्णदास, रोहीत, रुपलाल बिक, मोहनविक्रम सिंह, निर्मल लामा, रूपचन्द्र विष्ट, प्रचण्ड सबैको आआफ्नो समूह थियो । तर कसैको पनि स्थानीय आधार गतिलो थिएन । यो धरातलीय यथार्थलाई प्रचण्ड र डा. बाबुराम भट्टराई बाहेक अन्य कुनै पनि आफूलाई परिपक्व भनिटोपल्ने नेताहरूले स्वीकारेका थिएनन् । उता मदन भण्डारी मनमोहनले बनाएको एमालेलाई संशोधनवादी अवसरवादी भनेर सत्तोसराप गरेकै आधारमा क्रान्तिकारी बन्न सकिने बुझाई अधिकांश नेताहरूमा थिए । त्यसैले मोहन बिक्रम, मोहन वैद्य, रुपलाल, रोहीत लगायतले “झापाली गुट”को खेदो खनेको खन्यै गरे तर उनीहरुसंग जनाधार जहाँ जे भनेर हुन्छ, त्यही भनेर भर्खरै आएको प्रजातन्त्रमा आफूलाई स्थापित गर्दै जनमत सङ्कलनमा व्यस्त थिए भने अरूलाई गाली गरेर क्रान्तिकारी बन्ने कथित कमरेडहरू दैनिक सुकेनासले ग्रस्त बन्दै गए ।

तर क. प्रचण्ड र डा. बाबुरामले धरातलीय यथार्थ मुताबिक साना-साना दल र नेताहरूको घर-घरमा बाम एकताको नारा दिँदै क्याम्पिङ गर्दै हिँडे । लगत्तै तत्कालीन चौथो महाधिवेशनको नेता निर्मल लामा, प्रचण्डको मोटो मशाल, रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक सङ्गठन, रूपचन्द्र बिष्टको थाहा आन्दोलनबाट रुपचन्द्रवाहेक प्राय रामनारायण बिंडारीको नेतृत्वमा आए त्यस्तै डा. बाबुराम भट्टराई तत्काल मोहनविक्रम मसालमा आबद्ध थिए पार्टी केन्द्रले एकता गर्न अनकनाएपछि शितलकुमारको नेतृत्वमा विद्रोही मसाल बनाएर बाम एकतामा आए । यसरी २०४७को मङ्सिर महिनामा नेकपा एकता केन्द्रको बिधिवत् निर्माण भयो । त्यसका दुई महिनामा बागबजारको होटेल टिभोलीमा एक राजनीतिक भेलाको आयोजना गरी “संयुक्त जनमोर्चा नेपाल”को स्थापना भयो जसको संयोजकत्व डा. बाबुराम भट्टराईले गर्नुभयो भने त्यसलाई आम बामपन्थिहरुको साझा मोर्चाको रूपमा लाने भने पनि पछि आ-आफ्नो समूहले आ-आफ्ना प्रतिनिधि फिर्ता बोलाएपछि केवल एकता केन्द्रको खुल्ला मोर्चा जस्तो मात्र बन्न पुग्यो । पछि २०४८ सालको मङ्सिरमा भएको निर्वाचनमा संयुक्त जनमोर्चाको नेताको हैसियतले डा. बाबुरामले नै सबै बामपन्थिहरुकहाँ “एक बाम एक ठाम”को नारा उराल्नुभयो तर तत्कालीन एमालेको आफ्नै दम्भ, नेमकिपाको सङ्कीर्णता, मोहनविक्रमको क्रान्तिकारी अराजकतावादी लफ्फाजी आदिको कारणले त्यो सम्भव हुन सकेन । अन्ततः संजमोको नाममा जम्मा ७१ सिटको लागि उम्मेदवारी दिएर ९ सिट हात लाग्यो । 

निर्वाचनको लगत्तै ०४८ माघमा नेकपा एकता केन्द्रको एकता महाधिवेशन चितवनमा भयो, जहाँ तीन वटा राजनैतिक कार्यदिशा प्रस्तुत भयो । पहिलो क.प्रचण्डद्वारा प्रस्तुत गाउँले सहर घेर्ने दीर्घकालीन जनयुद्ध, दोस्रो क. रुपलाल बिश्वकर्माद्धारा प्रस्तुत भएको जनयुद्ध र क. निर्मल लामाद्वारा प्रस्तुत भएको सहरी विद्रोह । तर रुपलाल विश्वकर्माले प्रस्तुत प्रतिवेदन र क.प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनको सारमा अन्तर भए पनि रूपमा मिल्ने हुँदा अनिल शर्मा लगायत रूपलालसँग सम्बन्धित अधिकांश कमरेडहरूले गाउँले सहर घेर्ने दीर्घकालीन जनयुद्धको पक्षमा मत राखेर अत्यधिक बहुमतका साथ प्रचण्डको प्रतिवेदन पास भयो । तबदेखि रुष्ट भएका निर्मल लामाले सम्मेलन सकेर हलबाट निस्कने बितिकै युवाहरूको भेटमा आक्रोश पोखिहाले “यी ३६वर्षे केटाहरूले जनयुद्ध गर्ने कुरा गर्दैछन् यदि त्यस्तै हो भने पार्टी फुट्न सक्छ !”

काठमाडौँ आईपुग्नेबित्तिकै तत्कालीन एमालेको मुखपत्र “सूर्य” मासिक पत्रिकामा अन्तरवार्ता दिए किनकि एमालेलाई एकता केन्द्रको अन्तविरोधसंग खेलेर बाम पक्षीय आफ्नो प्रतिद्वन्द्वी शक्तिलाई सखाप पार्नु थियो । त्यस पत्रिकामा उनले “बोराका बोरा फर्जी सदस्यता भरेर हामीलाई अल्पमतमा पारेका !” “मार्क्सवाद, लेनिनवाद विरोधी रूपमा माओवादलाई स्थापित गर्न खोजिएको !” “दीर्घकालीन जनयुद्ध नेपाली क्रान्तिको कार्यदिशा बन्नै नसक्ने तर ३६ बर्षे केटाकेटीहरूको आलाकाँचापनको कारणले उक्त कार्यदिशा पास भएको !” जस्ता अनेकौँ फत्तुर पार्टी महाधिवेशनमाथि लगाए । जो क्रान्तिकारी प्रकृयामा अघि बढ्न अनुशासित पार्टी बनाउने दिशामा पहिलो गाँसमै ढुङ्गा जस्तो भयो । 

अन्तर्वार्ताले एकातिर दुश्मन शक्तिले गाउँ गाउँका पार्टी कार्यकर्ताहरुलाई निराश बनाउने, दुश्मन शक्तिमा उत्साह थपिने, प्रकृया तीव्र गतिमा बढ्यो । अर्कोतिर गिरिजाले निर्वाचनताका दिएको महँगी घटाउने, कर्मचारीको तलब बढाउने र शान्ति सुरक्षा कायम गरी अमनचैनको अवस्था सिर्जना गर्ने उनको सरकार बन्दा पहिलो बाचा सबै पञ्चे पार्टीभित्र हुल्दै माफिया र भ्रष्टहरू च्याप्दा च्याप्दै भुल्दै गएकोमा सरकारको संस्मरणको निम्ति सडक आन्दोलनको साहारापनि लिनु आवश्यक नै थियो । त्यसैले पहिलो पटक कर्मचारीहरूको माग सम्बोधनको निम्ति सडक आन्दोलन गर्न थाल्यौँ, लगातारको आन्दोलनले मदन भण्डारीको नेतृत्वको एमालेले प्रतिपक्षीय भूमिका बाबुरामद्वारा खोसिएको अनुभूति गर्न थाले र संयुक्त जनमोर्चा भन्दा एक कदम अगाडि बढेर “कर्मचारीको आन्दोलन कर्मचारीसंगै !” भन्दै एमालेकै नेतृत्वमा हरेक सरकारी कार्यालय, संस्थानका कार्यालय, यतिसम्मकी जीर्ण भएर बन्द हुने ताकाको साझा यातायातका कर्मचारीहरूले समेत हातमा कालो पट्टी बाँधेर आन्दोलनमा सरिक भए ।

आन्दोलनले एक प्रकारको उद्वेलन त पैदा ग¥यो । तर एमालेसंग कर्मचारीको माग सम्बोधन गर्ने भन्दा संजमोसंग अस्वस्थ प्रतिस्पर्धा वा डा. बाबुराम भट्टराईले खोसेको प्रतिपक्षीय भूमिका फिर्ता गराउने उद्देश्य मात्र थियो । बकुल्लाको जस्तो घाँटी भए पनि कागको जस्तो बठ्याइँ भएका गिरिजाले यो कुरा नबुझ्ने कुरै थिएन । मदन भण्डारी, भरतमोहन अधिकारी र माधव नेपाललाई सिंह दरबार बोलाएर एक पटक संवाद गर्ने बित्तिकै आन्दोलनको माग सम्बोधन बिना नै सडकमा नउत्रने, आन्दोलनमा एमालेले भूमिका निर्वाह नगर्ने बचन दिएर आए । सडक साम्य भयो, सरकारी निकायहरू चल्न थाले, तर आन्दोलनमा केही मान्छेहरूले ज्यान गुमाइसकेका थिए, महिनौँको योगदान पुगिसकेको थियो, त्यसैले आन्दोलनकारीहरुले एमालेको यो कदम धोखा मान्नु स्वाभाविकै थियो । संजमोले सडकबाट एमालेको धोखालाई खबरदारी गर्न छोडेन ।

२०५१को फागुनमा टनकपुर सन्धि पहिले नै भइसकेको कुरा संसदमा लिलामणी पोखरेलले थाहा पाए, र “देश बेच्न पाइँदैन !” संसदमै नारा उराले । र भोलिपल्टदेखि सडकमा उक्त नारा गुञ्जियो । त्यो नारा देशव्यापी बनाउने क्रममा सात बर्षे बालक अनीश शाक्यदेखि ७४ बर्षे चित्रा राणासम्मको हत्या सरकारले ग¥यो, आन्दोलनको ज्वार उठ्न थाल्यो जनआक्रोशको सम्बोधन गर्न संजमोले चैत्र २४ गते नेपाल बन्द घोषणा सानदार ढङ्गले सफल पा¥यो । फेरी एमाले झस्कियो, उनलेपनि सडक र सदनमा देश बेच्न पाइँदैन भन्दै नारा लाउन थाल्यो । स्वभावैले ठूलो पार्टीको सहभागितापछि सडकको रौनकले चमक पाउँथ्यो नै सडक र सदन आन्दोलनमय बन्यो, । गिरिजाले थोरै झुकेर “टनकपुर सम्झौता जो भन्नुभयो त्यो सम्झौता ह्वैन क्या त्यो समझदारी मात्रै हो क्या .....!” तर लिलामणी र अभिक शेरचन, कृष्णबहादुर महराहरूले संसदीय सचिवालयमार्फत दूतावासमा रहेको सक्कल झिकाई मागेर त्यसलाई सार्वजनिक गरे ! सर्वज्ञरत्न तुलाधरको नेतृत्वमा सर्वोच्चमा रिट डायर भयो । गिरिजा सरकार चौतर्फी घेराबन्दीमा प¥यो, यतिखेर सम्ममा काँग्रेसका चक्रप्रसाद बास्तोला, सिके प्रसाईँ लगायतका नेताहरूको अन्तरवार्ताहरू निस्कन थाल्यो, गिरिजाको अलोकतान्त्रिक जनहत्यारा चरित्रको पर्दाफास गणेशमान आफैले पनि गर्न थाले । यो परिवेशमा गिरिजा दूतावास धाउने देखि अनेकौँ तानाबाना बुन्न थाले र यसै परिवेशमा मदनभण्डारीसंग फेरी भेट्न खोजे, भण्डारीले “एक्लै नभेट्ने !” भन्ने खबर पठाएपछि फेरी भरतमोहन, माधव नेपाल, देवीप्रसाद ओझा र मोदनाथ प्रश्रित लिएर सिंहदरबार छिरे ! 

ओम शर्मा र राधा छिनिङ्ग मगरले जनादेशको निम्ति समाचार टिप्पणी तयार गरे ..“बाबुराम जस्तो उग्र वादीको पछि लागेर सडक र सदन अस्त व्यस्त बनाउने ? अहिले प्रमुख प्रतिपक्ष भनेको भोलिको सत्ताधारी हैनै ? भोलि तिमीहरूको पालामा मैले पनि त्यस्तै गरी अस्त व्यस्त मच्चाउने हो भने देश कसरी चल्छ ? प्रमुख प्रतिपक्षी भएपछि जिम्मेवार हुनु पर्दैन ? ” भन्दै गिरिजाले के हकारेका थिए, पाण्डवहरूको टिम एक शब्द नवोली बाहिरिए । (जनादेश साप्ताहिक २०४९ वैशाख १५) भोलिपल्ट देखि सडकको आन्दोलन पातलो हुन थाल्यो, आखिर पार्टी भित्र आन्तरिक सर्कुलर जारी भएछ “आन्दोलनमा नजानु.....!” वैशाख २१ गतेको नेपाल बन्द चैत्र २४को बन्दको तुलनामा फितलो साबित भयो । यो गम्भीर प्रकारको राष्ट्र घात, जनघात थियो । गिरिजा प्रसाद कोइरालाको अराजक अधिनायकवादी चरित्रको बचाउको लागि गरिएको जनता, कार्यकर्ताको आन्दोलनमाथिकै ठूलो बिश्वासघात थियो । 

त्यतिन्जेलसम्म करिब २४ जना सहिदहरूले रगत बगिसकेको थियो । अनेकौँ साथीहरू घाइते, अपाङ्ग भइसकेका थिए । उनीहरूमाथिको गैर जिम्मेवार बन्दै गरेको नाङ्गो अवसरवाद थियो भण्डारी समूहको आत्मसमर्पण । त्यसैले मदन भण्डारीलाई जसले जेसुकै विश्लेषण गुथाएपनि मेरो अनुभवमा उनी कुनै विलक्षण प्रतिभाका धनी होइनन्, सिद्धान्तप्रति दृढ, जनताप्रति प्रतिबद्ध कुनै दार्शनिक थिएनन्, तर आफ्नो वाक पटुतालाई सभ्य रूपमा प्रस्तुत गर्न सक्ने भाषणराज चैँ हुन् । तर उनको वाक चातुर्य कला जनतासंग मात्र हो कुनै शक्तिकेन्द्रको सामु त रुझेको बिरालो जस्तै हो भन्ने कुरा दुई वटा आन्दोलनले प्रस्टै पारेको थियो । तर लासमाथि राजनीति गर्न सिपालु एमाले गुटले उनी मरेपछि अनेकौँ पगरी गुथाएर उनलाई महान् बनाए । यदि उनी बाँचेका भए न उनको बहुदलीय जनवाद बाँच्थ्यो, न त उनको महानताको पगरी नै .... केवल पार्टीभित्र केपीसंग जुध्दै र पार्टी बाहिर डा. बाबुराम र प्रचण्डको क्रान्तिकारी लाईनसंग जुध्दै उनको हालत हालको माधव, झालनाथ वा केपीकै स्तर भन्दा कुनै तात्त्विक अन्तर हुनेवाला थिएन । तर जालझेलका चतुर एमाले गुटले गरेको विज्ञापनकै भरमा जन–मनमा मदन भण्डारी बाँचिरह्यो । जुनसुकै अवस्था र आधारमा भए पनि नेपाली माटोमा कम्युनिष्टको नाममा कोही न कोही बाँच्नु सुखद पक्ष नै मानौँ ।

नेपाली क्रान्तिको आधारहरूको आधारहरू खोजीनिती गर्नु, वर्ग विश्लेषण गर्नु, सङ्गठनात्मक संरचनाहरू चुस्त दुरुस्त बनाउँदै महान् कार्य सम्पन्न गर्न पार्टीको मुखपत्र “मशाल” प्रकाशनमा आयो । जसले पार्टीभित्रकै अवसरवाद र पार्टी बाहिरका संशोधनवादसँग निर्णायक सम्बन्ध बिच्छेद गर्ने सुझाव क. गौरव, क. किरणहरूको लेख प्रकाशनमा आयो । डा. बाबुराम र क. प्रचण्डले पुच्छरवाद नै नेपाली क्रान्तिको तात्कालिक मुख्य समस्या भन्ने विश्लेषण ग¥यो । पार्टीभित्रको अन्तर्विरोधमा निर्मल लामा, अमिक शेरचन, कमल चौलागाई, कमानसिं लामा, लगायत ले ठाउँ कुठाउँमा अराजक प्रस्तुति गर्न थाले । निर्मल लामा ले त एउटा करिब ६०पेजको किताब नै निकाले । अर्थात् क्रान्ति वा प्रतिक्रान्ति बिचको दोहरी चल्यो ।

यही अवधिमा नेकपा एकता केन्द्रको बैठकहरूमा निर्मल लामाहरू सहभागी नभएका समाचारहरू बाहिरिन थाले । माओवाद वा विचारधारा ? दीर्घकालीन जनयुद्ध की: सहरी विद्रोह ? नेपाली क्रान्तिको मोडल चीनियाँ किः रुसी ? जनसङ्गठन प्रधान किः गोप्य दस्ता ? सङ्गठनात्मक रूपमा मास पार्टी कि क्याडर बेस ?  भन्ने सवालहरूमा छुट्टा छुट्टै कार्यकर्ता भेलाहरू हुन थाले । हामी जस्ता भर्खरका युवाहरू क्रान्तिकारी कार्यदिशालाई सार्थक बनाउन लाग्यौंभने आफूलाई परिपक्व ठान्नेहरू निर्मल लामासंग ।

पार्टीको आन्तरिक किचलोलाई मिहिन ढङ्गले हेरिरहेका काँग्रेसीहरूले गाउँ-गाउँमा संयुक्त जनमोर्चाको कार्यकर्ताहरूमाथि होच्याउँदै जिस्क्याउँदै काँग्रेसी बनाउने अभियान चलाए, देशभरि चलेको यो अभियानमा पद पैसा र प्रतिष्ठाको खोलो बगाए । संजमोका कार्यकर्ताहरूले प्रतिकार गर्दा ठाउँ ठाउँमा झडप पनि पर्न थाल्यो । पश्चिम नेपालका रोल्पा रुकुम, दाङ सल्यान प्युठान लगायतका गाउँहरूमा तत्कालीन मण्डले तर पछि काँग्रेसी बनेका गोपाल जी जङ्ग शाहको नेतृत्वमा जनमोर्चाको कार्यकर्ताहरूमाथि प्रायोजित झडप सिर्जना गर्दै मुद्दा लाउने र मानसिक शारीरिक यातना दिने अभियान नै चलाए । देशभरिका ३५०० देखि ४०००सम्म कार्यकर्ताहरूको टाउकामा लुटपाट, कुटपिट, चोरी डकैती, सार्वजनिक जस्ता मनलाग्दी झुट्टा मुद्दाहरू झुण्डियो । गाउँमा टिक्न नसकेर कार्यकर्ताहरू सहरमा ओइरिन थाले ।

देश र जताकोनिम्ति आवाज उठाउँदा, सडक र सदनमा सङ्घर्ष गर्दा प्रतिकृयावादीहरुको दुष्चक्रको यति धेरै सामना गर्नुप¥यो किः धेरै भन्दा धेरै कार्यकर्ताहरूमा कि गर कि मर... को अवस्थामा पुगे । तर पार्टीको व्यवस्थापन चरम खिचातानीमा व्यस्त... । लामा पक्षका साथीहरू धरौटी राख्दै आत्मसमर्पणको दिशा लिन थाले भने प्रचण्ड, डा. बाबुरामसंग सम्बन्धित साथीहरू जङ्गल रोज्दै त्यहीँ विभिन्न स्तरका तालिमहरूमा व्यस्त भए ।

तर यसै समयमा २०५० जेष्ठ ३ गते दासढुंगा दुर्घटनाको खबर आयो, प्रमुख प्रतिपक्ष दलको संसदीय दलको नेता, छायाँ प्रधानमन्त्री, नेकपा एमालेको महासचिव जस्तो गरिमामय पदमा आसीन मान्छे मर्दा स्वभाविकप्रकारको चर्चा र चासो त हुने नै भयो । तर नेकपा एमालेले जेष्ठ ५ गते को मितिसम्म कुनै आन्दोलन वा छानबिनको लागि माग सम्म गरेन । जब ५ गते दशरथ रङ्गशालामा मदन भण्डारी र जीवराज आश्रितको शव श्रदान्जलीको लागि राखियो, तब मात्रै नेताहरूको मुखबाट छानबिन र अनुसन्धानको लागि आवाजहरू उठ्न थाल्यो । तर जनमोर्चाको तर्फबाट भने ३ गतेकै दिनमा विज्ञप्ति आयो स्वतःस्फूर्त र शोकाकुल रूपमा तमाम युवाहरू सडकमा निस्किए । तर एमालेले पार्टीगत सहभागिता ५ गतेपछि मात्रै जनायो । आन्दोलन उत्तेजक बन्दै गयो, आन्दोलनको स्वरूपलाई व्यवस्थापन गर्न वरिष्ठ वामपन्थीहरू, एमाले संयुक्त जनमोर्चा र केही स्वतन्त्र नागरिकहरुसमेतको परिचालन समिति बन्यो त्यसले विष्णुबहादुर मानन्धर, माधव नेपाल र डा. बाबुराम भट्टराई सम्मिलित वार्ता टोली पनि बनायो । 

आन्दोलनको उत्कर्षको रूपमा नेपाल बन्द घोषणा नभए पनि बानेश्वर माइतीघर, सिंहदरबार, रत्नपार्क, त्रिपुरेश्वर दैनिक अस्तव्यस्त हुनेगरी जुलुसहरूको ताँती, सडकमा टायर, कलङ्की कालीमाटीबाट आउने बाटो होस् अथवा बालाजुबाट सोह्रखुट्टे निस्कँदै आउने सडक वा नारायणगोपाल चोकबाट आउने बाटो होस् अथवा पशुपतिबाट गैह्रीधारा निस्कने बाटो नै किन नहोस् संधैं कालो धुवाँ सहित ठाउँ ठाउँमा टायर बालिएका हुन्थे युवाहरू बाटोमा ढुङ्गा थुपारेर आक्रोश पोखिरहेका हुन्थे । बल्ल बल्ल साउनको मध्यमा सर्वोच्च अदालतका रिटायर न्यायाधीश प्रचण्डराज अनिलको एक संसदीय आयोग बन्यो। आन्दोलनकारीको आक्रोशश झन् चुलियो, एकल व्यक्तिको आयोग भनेपछि “गिरिजाप्रसादले नयाँ तानाबाना बुन्यो !” सबैको मनमा प¥यो । “अनिल एउटा जोकर हो गिरिजाको नोकर हो !” सडकमा आक्रोशित नारा गुन्जिरह्यो । उक्त अवधिमा मूल वार्ताकमिटीसंग एकाध पटक वार्ता पनि भए पनि उक्त अवधिसम्म मृत्युवरण गरेका आन्दोलनकारीहरूलाई सहिद घोषणा, घाइते अपाङ्गहरूलाई उचित क्षतिपूर्ति र कर्मचारी आन्दोलनदेखि गर्दै आएका सरकारी गलत रवैयाहरूप्रति नतमस्तक रहँदै आन्दोलनकारीहरूका माग पूरा गराउने ! मागहरूका विषयमा प्रवेश गर्नै नचाहेको कारणले वार्ता निष्कर्षमा पुगेन । तर २०५० भदौ २ गतेको दिनमा आधिकारिक वार्ता टोलीलाई थाहै नदिई माधव नेपाल, भरतमोहन अधिकारी र केपी ओली गएर आन्दोलन माथि कुठाराघात गर्दै ९ बुँदे सम्झौता गरेर आयो । सम्बन्धित पार्टीले नै सम्झौता गरेर आएपछि युवाहरूको आक्रोश दिशाविहीन बन्यो । भलै हामी संयुक्त जनमोर्चाका कार्यकर्ताहरूले सडकमा “माधव नेपाल कहाँ छ ? ठेला गाडा यहाँ छ ...!” भन्दै नारा लाउन छोडेनौँ तर ताप्के भन्दा बिँड तात्नुको अर्थ थिएन । 

यही परिवेशमा मंसिर महिनामा मदन भण्डारीको निर्वाचन क्षेत्रमा निर्वाचन भयो जहाँ काँग्रेसबाट कृष्णप्रसाद भट्टराई र एमालेबाट विद्या भण्डारीले प्रतिद्धन्दीको टिकट पाए । हरेक आमसभामा कृष्ण प्रसाद भट्टराई “कहाँ म हेवीवेट कहाँ त्यो अबला नारी त्यसैले जीत मेरो हन्ड्रेड प्रतिशत मात्र होइन, हन्ड्रेडको हन्ड्रेड प्रतिशत जीत मेरै हुन्छ !” भन्न छुटाउँदैनथे । तर निर्वाचनको अघिल्लो दिनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हेलिकप्टरबाट निर्वाचन क्षेत्रभरी आफ्नै उम्मेदवार विरुद्ध लाखौँ पर्चा छर्न लगाए र परिणाम अबलाले जितिन् हेविवेटले हारे ।

काँग्रेसभित्र गिरिजाप्रसादको अप्रजातान्त्रिक भ्रष्ट, माफिया प्रेमी गतिविधिको कारणले रुष्ट गणेशमान लगायतको पुराना त्यागी तपस्वी तमाम नेता कार्यकर्ताहरु आन्तरिक पीडाले मर्माहत भइरहेको बेलामा नयाँ पीडा थपियो । परिणाम घोषणाले औपचारिकता नपाउँदै बानेश्वरको खुल्ला सडकमा युवाहरूले नारा उराले “गिरिजा मू.... भा...ते , बिद्याको ........ चाटे ..!” लाजले रातोपिरो हुँदै सुन्न नसकेर कान थुन्यौं, उनीहरूको उफ्राइ हेर्न नसकेर छड्के लाग्यौँ, बटुवा महिला तथा सज्जनबृन्दको हालत कस्तो भयो होला अनुमान लगाउन सकिन्छ । तर युवाहरूले घण्टौँसम्म असिना पसिना हुँदै आक्रोश पोखिरहे ।

उपनिर्वाचन लगत्तै नेकपा एकताकेन्द्रले क्रान्तिको लागि चार तयारीको योजना ल्यायो । जतिखेर निर्मल लामा फुटी सकेको थिएन । तर अमेरिका जान नपाएको बहानामा संसदीय दलका नेता लिलामणी पोखरेलले निहुँ खोजिसकेका थिए । भने पार्टीका बैठकहरूमा निर्मल लामा पक्षका ८ जना केन्द्रीय सदस्यहरूले लगातार बैठक बहिस्कार गर्दै आएका थिए । त्यो निर्णयले प्रतिकृयावादी खेमा मात्र होइन, एमाले, मसाल, देखी निर्मल लामाहरुसम्म पनि ठूलो भूकम्प आइसकेको थियो । रोहितले “उग्र वामपन्थी केटाकेटीपन !” “बामपन्थी अराजकतावाद !” माहनविक्रमसिंहले “उग्र वामपन्थी लफ्फाजी = दक्षिणपन्थी संशोधनवाद !” भन्ने विश्लेषण मात्र गरेनन् ठुला ठुला पुस्तक नै तयार पारे । उक्त भूकम्पको पराकम्पन शान्त गर्ने र क्रान्तिलाई रोक्ने एउटै मात्र बाटो देखे नेकपा एकता केन्द्रको फुट ... ! त्यसमा सबैभन्दा पहिला खुल्ला मोर्चामा फुट ल्याउनको लागि लीलामणिको भूमिका बढाए, अपर्झट निरञ्जन गोविन्द वैद्य जो नेकपा को संस्थापक सदस्यको गौरव बोक्दा बोक्दै पनि संयुक्त जनमोर्चा नेपाल गठन को बैठकमा बाहेक अन्य कुनै राजनीतिक गतिविधिमा सहभागी थिएनन् । उनलाई ल्याएर संयुक्त जनमोर्चाको अध्यक्ष बनाएर डा. बाबुराम भट्टराई पम्फा भुसाल लाई कार्यवाही गरेको घोषणा गर्न लगाए कति जालसाजी गरियो अनुमान लगाउन सकिन्छ । दुई तिन पटक निर्वाचन आयोगमा तारिख पनि लिइयो पछि डा. बाबुराम–क.प्रचण्डले “सिद्धान्त र राजनीतिको अस्तित्व नामले होइन कामले धान्ने हो, त्यसैले प्रतिकृयावादीहरुको अदालतमा रोइकराई गरेर कुनै कुराको भिख माग्न जानुको अर्थ छैन !” भनेर तारिख छोडे र संयुक्त जनमोर्चा निरञ्जन गोविन्द वैद्यको संयोजकत्वलाई एकतर्फी मान्यता दियो । यतिखेरपनि निर्वाचन आयोगले बिनकाम केही महिना हल्लाएर केपीको सकुनी चालद्वारा महन्तहरूलाई जिताइदियो भने आश्चर्य मान्नुपर्ने छैन । हालको सरकारको कुशासन र जालझेलको मामलामा सबैलाई जानाकारीनै छ । त्यसैले सिधै समान बुँदा तिर .....

१. यसरी विगतको फुटले क्रान्तिकरीहरुलाई मैदान खालि गराइदिएको थियो, योजना बनाउँदा, बैठक बस्दा, विभिन्न निर्णयहरूको कार्यान्वयन गर्दा केवल दुश्मनसंग लुके पुग्ने भो, आफ्नै साथीसँग लुक्नुपर्ने अवस्था रहेन ।

२. हाल पनि अग्रगामी योजना ल्याउने कि प्रतिगामीको भरिया बन्ने ? भनेर प्रत्येक बैठकमा माथापच्चि गर्नु नपर्ने भयो । अग्रगामी कार्ययोजना ल्याउनको लागि क्रान्तिकारी कार्यकर्ताहरूलाई मैदान खालि भयो । 

३. तत्कालीन अवस्थामा नेकपा एकता केन्द्रको हैसियत २०५ जनाको संसदमा ९ जनाको प्रतिनिधित्व गराएर तेस्रो हैसियतमा थियो । हाल जसपा पनि दुवैतर्फको गरेर ३३जना संसद उपस्थित गराएर तेस्रो हैसियतमै छ ।

४. सिद्धान्त, राजनीति र शक्तिको आधारमा तत्कालीन काँग्रेस र एमालेको विकल्प शक्ति तत्कालीन एकता केन्द्र नै थियो, भने हाल जसपा नै काँग्रेस कम्युनिष्टहरुको विकल्पको रूपमा स्थापित छ ।

५. सङ्घर्षको क्षेत्रमा पनि काँग्रेस सत्ताधारी, एमाले विपक्षीको भूमिकामा रहेपनि एमालेको पटक पटक देखापर्ने अकर्मण्यताले शक्तिमा जेठो, सत्तामा बाठो भएपनि संघर्षमा सधैं बिचौलिया दलाल जस्तो देखिन्थ्यो । त्यसैले एकता केन्द्र नै उनीहरूको विकल्प शक्ति र जनआवाज सडकदेखि सदनसम्म घन्काउन सक्ने संजमो मात्र थियो । हाल जसपा पनि चाहे भ्रष्टाचार विरोधी आन्दोलनको कुरा गरौँ चाहे बिधिसंगत रूपमा प्रमको अराजनीतिक कुतर्कहरुको संसद, सडक वा सरकारमैपनि सशक्त प्रतिवाद गर्दै आउनुभएको छ । त्यसैले उनीहरूको तारो बन्नु संयोगको मामला मात्र नभई अग्रगामी वा प्रतिगामी बिचको प्राकृतिक लडाइँको परिणाम नै हो ।

६. दुवैपटक अग्रगामी प्रगतिशीलताको नेतृत्व डा. बाबुराम भट्टराईले गर्नुभयो भने उक्त बेलामा सरकारको नेतृत्व गिरिजा प्रसाद कोइरालाले गरेपनि समग्र अनुदार राजनीतिक पक्षको नेतृत्व केपी ओलीले नै गर्दथे ।

७. ०५१ सालको पेरिफेरिमा पनि भ्रष्टाचार अनियमितता कमिसनखोर माफियाखोरहरुको संरक्षणमा सरकार आफै लाग्थ्यो, यतिखेरपनि हरेक भ्रष्टाचारी अनाचारी जोगाउन सरकार स्वयम लागेको छ ।

८. त्यो बेला पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आफूलाई अब्बलको लोकतान्त्रिक सरकार चलाएको दम्भ राख्थे भने हाल पनि नयाँ संविधान बनेपछिको अब्बलको सरकारको रूपमा दम्भ प्रस्तुत गर्दछन् ।

९. त्यतिखेर पनि सीमा अतिक्रमण, टनकपुर महाकाली जस्ता राष्ट्रिघातका कुरा थिए भने हाल पनि भारतसंग विभिन्न अराजनीतिक हरकतको कुरा मात्र छैन एमसिसि जस्ता महान् राष्ट्रघातको कुरासम्म छ । जसको विरोध पृथक स्थानमा बसेर क. प्रचण्डले भूमिका निर्वाह गर्नुभएको छ भने डा. बाबुराम भट्टराईलेपनि आफ्नो ठाउँमा बसेर सशक्त प्रतिकार गरिरहेका छन् ।

१०. त्यतिखेरको पार्टी फुटले ४० सूत्रीय माग प्रस्तुत गर्दै जनयुद्ध हुँदै २४८ वर्षको केन्द्रीकृत सामन्तवादी राज्यसत्तालाई उल्टाइयो भने अबको पार्टी फुटले वर्तमान अनुदारवादी अराजक, सरकारलाई पल्टाउनु त छ नै तमाम प्रकारका पुरातनवादी सोचाई र थिचोमिचोमा जीवन देख्ने विभेदकारी परम्परावादी सोचलाई परास्त गर्न सक्ने योजना, भारतीय बिस्तारवादी थिचोमिचो, र त्यसैसंग लम्पसार परेर सत्ता स्वाद दिने परम्परा तोड्न, तमाम प्रकारका भ्रष्टाचार कमिसनखोरी, तस्कर लगायतको वैधानिक प्रकारले लुट्ने लुटतन्त्र अन्त्यको योजना सार्थक ढङ्गले ल्याउने अपेक्षा 

गरौँ !

धन्यवाद २०७८ जेष्ठ २२

(प्रकाशित लेख, लेखकको निजी विचार हो। )

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit