२०७८ असार १०, बिहीबार

img-responsive

१२:३९:२९

 

कविता:  मेरो सवारी

गोठालो खबर
गोठालो खबर २०७८ जेठ ११, मङ्गलबार,०१:१८:PM  
img-responsive

 ==========

मेरो सवारी

साईरन बज्दै मेरो सवारी बढ्दै थियो भीड कतै थिएन,

झोलाभित्र थिएँ  बाटोमा ताली बजाउने कोही थिएन ।

सवारीमा सरकारको समर्थन थियो गाडी चल्ने कुरै भएन,

आर्यघाटसम्मको यात्रामा परिवार आफन्त कोही थिएन ।।

 

अझै हाँसौँला भन्ने थियो पखेरु कतिखेर चुड्यो पत्तै भएन,

ज्वरो त सधैँ आउने जाने यत्ति गर्ला भन्ने याद नै रहेन ।

उत्तानो पारी भुईँमा पछारी छातीमाथि चढ्ला ख्यालै भएन,

मुक्का हानी घाँटी समाउँदै प्राण लुट्ला भन्ने शंकै गरिन ।।

 

जतिखेर प्राणवायुको आवश्यक थियो व्यवस्था गर्नुपर्नेले गरेन,

सत्ताको खेलमा मस्त थियो जन–स्वास्थ्यको ख्याल गरेन ।

प्राणबायु नपाई थिएँ तड्पिरहेको उसले व्यवस्था गर्न सकेन,

उपचार पाउन थियो मुस्किल अस्पतालमा कुनै बेड थिएन ।।

 

धेरै मुस्किलले बेड मिल्यो तर प्राण अड्याउने बायु थिएन,

घण्टौँ लाईन बसेर प्राणबायु ल्याए रोकिने समय थिएन ।

लासहरूको चाङ थपिदैं जाँदा घाटमा जलाउने ठाम थिएन,

सेता मान्छे कम थिए काम गर्ने अरुलाई अनुमति दिएन ।।

 

ठेलामा धकेल्दै लगे मसानमा काँधमाथि चढ्ने मौका दिएन,

छोरा तिनै रहेछन् वीर सैन्य मेरालाई ढोकाभित्र पस्न दिएन ।

म जस्ता कतिलाई बिदाई गरे तिनका गुण तिर्न सकिन्न,

उसको पनि त घरमा यस्तै पर्‍यो होला घरको ख्याल गरेन ।।

 

चित्ताशनमा सुतेको थिएँ मुखमा आगो झोस्ने कोही थिएन,

तीनजनाको सलामी खाएँ म जस्तो भाग्यमानी कोही थिएन ।

चित्ताको अग्नि हाँसिरहँदा मेरा खातिर रुने कोही पनि थिएन,

मेरो फिर्ती सवारीमा कर्मफल बाहेक साथ लान केही दिएन ।।

                              

-हर्ष थापा

काभ्रे, पनौति-१, दारिम्बोट

(हाल: महालक्ष्मी-१, इमाडोल ललितपुर)

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit