२०७८ असार १०, बिहीबार

img-responsive

१२:४८:२२

 

वर्तमान असङ्गतिपूर्ण राजनीति र यसको सार्थक निकास

गोठालो खबर
गोठालो खबर २०७८ जेठ ८, शनिबार,०१:४५:AM  
img-responsive

वर्तमान असङ्गतिपूर्ण राजनीति र यसको सार्थक निकास

थालनी

असङ्गतिपूर्ण राजनीतिले आज देश गतिहीन बनेको छ, राजनीतिमा नकारात्मक चमत्कार स्थापित गरेर विश्लेषकहरूको हरेक विश्लेषण र राजनीतिक प्रक्षेपणहरूलाई समूल रूपमा निस्तेज बनाएको छ । संविधान, प्रचलित ऐन कानून, नीति नैतिकता र अन्य राजनीतिक परम्पराका सबै सीमालाई परवाह नगरी सरकारी निर्णयहरू आउँदा त्यसको प्रतिकारमा विधि विधान, नियम कानूनको दुहाइदिने झन् पछि झन् थला पर्दै जान थालेको छ । यस्तो राजनीतिक अराजकताको शिकार बनेका नागरिकहरू द्वन्द्वरत दुवै पक्षलाई एउटै डालीमा राखेर केवल “फोहरी राजनीति”को बिम्बको रूपमा व्याख्या गर्दै चौतर्फी निराशामात्रै ओकलिरहेका छन् । यस्तो राष्ट्रिय रूपमा वैचारिक, राजनीतिको संकटको घडीमा तमाम नागरिकहरूले आआफ्नै हैसियत र बुताअनुसार गलतको विरुद्ध सही सत्यको पक्षपोषण गर्न हिचकिचाउनु हुन्न ।

यो अवस्थामा राजनीतिलाई राष्ट्रनिर्माणको अभीष्ट बनाउने ईमान्दार राजनीतिज्ञ र राष्ट्रको सुन्दर भविष्यको कल्पना गर्ने युवा पुस्ताले गम्भीरताका साथ केही प्रश्नहरूको जवाफ खोज्नै पर्ने भएको छ । के राष्ट्रिय राजनीति यो भन्दा शुद्ध हुन सक्दैन ? यदि यहाँको राजनीतिक असङ्गतिलाई शुद्ध गर्ने नै हो भने उपाय के ? राजनीति यति फोहरी बन्नुमा राजनीतिक पार्टी, नेता, कार्यकर्ता, वा देशी विदेशी शक्तिकेन्द्र कसको भूमिका बढी छ ? पटक पटक राजनीतिक व्यवस्था परिवर्तन गर्ने क्षमता राख्ने नेताहरू जनताको अवस्था परिवर्तन गर्न किन असफल भयो ? कतै राजनैतिक व्यवस्थाको आधारभूत दर्शनमै त समस्या छैन ? वा समाजमा प्रचलित दर्शनहरूको सापेक्ष प्रयोगमै त कतै त्रुटि छैन ? वा वर्गीय समाजको राजनैतिक परिचालनबिधिमा कतै अपरिपक्वताले पो माग गरेको छ कि ?! यो देशको अराजक अराजनीतिक चरित्रको सापेक्ष उपचारको लागि आधारभूत सवालहरू हुन् । किनकि रोगको उपचारमा रोगको प्रकृति र त्यसको लक्षणहरूको विवेचना जरुरी हुन्छ ।

वर्तमान राजनैतिक असङ्गति समाधानको निम्ति २००७, १७, ३६, ४७, ५२–६२, ७२ को संविधान निर्माण प्रकृया लगायतका आन्दोलनहरूको सफलता र असफलताको विविध आरोह अवरोहहरूको सुसङ्गत तथ्यपरक अध्ययन चाहिन्छ । जो यो सानो प्रयासमा सम्भव छैन, त्यसैले यसमा केवल मध्यमार्गी बन्ने नाममा बनिएको अकर्मण्यताले देशले भोगेको दुर्दशा मेटाउन मध्यमार्गी नामक राजनीतिक कार्यदिशाको मामलामा संक्षिप्त अध्ययन गरौँ ।

आशा अपेक्षा र त्यसको सीमा

नेपालको कुनै पनि राजनीतिक परिवर्तनमा निर्णायक विजयसम्म पुग्नुभन्दा बिचैमा सम्झौता गर्नुपर्ने बाध्यता अर्थात् हरेक आन्दोलनहरू पूर्ण सफलतामा नटुङ्गिई केवल सम्झौता र बलिदानमा टुङ्गियो, जसको परिणाम राजनीतिक दर्शन, नीति कार्यक्रमहरू पूर्ण रूपमा समाजमा स्थापित बनाउन कुनै पनि राजनीतिक अभियान सफल भएनन् । हरेक पटक सम्झौता, साझा नीति, साझा कार्यक्रम हुँदा समाजवादीहरूले समाजवाद प्रयोग गर्न अवरोध ..., पुँजीवादीहरूले पूँजीवाद प्रयोगमा अवरोधको अवस्था निक्कै लामो समयदेखि कायम रह्यो । यद्यपी दुवै दर्शनमा आआफ्नै प्रकारको सबल वा दुर्बल पक्षहरू हुँदा हुँदैपनि दुवैले सापेक्ष रूपमा आफूलाई परिस्कृत बनाउँदै विश्वलाई मौलिकता दिन भने चुकेका छैनन् तर निर्णायक रूपमा आफ्नै बाटो र यात्राको दिशा निर्धारण भने गरेका छन् तर हाम्रो देशले भने “दुवैको राम्रो लिने नाममा बिच बिचको बाटो हिँड्दा समाजवादी वा पूँजीवादी दुवैले आफ्नो सिद्धान्त, राजनीति र दर्शन सबै बिर्सेका छन् । अझ भनौँ काँग्रेसहरू आफूलाई पूँजीवादको प्रवर्तकको रूपमा पहिचान दिन लजाउँछन् र “हामी भित्र समाजवाद पनि छ ... !” भन्न उद्वेलित हुन्छन्, कम्युनिष्टहरु आफूलाई साम्यवादी आदर्शबाट परिचित गर्न लजाउँदै “हामी भित्र पूँजीवाद पनि छ ..!” अर्थात् साम्यवादीहरू पूँजीवादी भन्नमा गर्व गर्ने पूँजीवादीहरु साम्यवादी आदर्श आफू भित्र देखाउन लालायित रहनु नेपाली समाजको वर्तमान यथार्थ हो । यो अवस्था हेर्दा सामाजिक सौहार्दता साटासाट गरेको, वा शिष्टता पस्केको जस्तो लागेपनि यो एक प्रकारको वैचारिक स्खलन हो, सिद्धान्त र व्यवहारमा आएको आन्तरिक स्खलन हो । आफैले जप्दै आएको सिद्धान्त, राजनीतिप्रतिको तीव्र अविश्वास हो । तर उनीहरू पार्टी राजनीतिलाई परिवर्तन गर्न र नयाँ धार निर्माण गर्न तत्पर हुँदैनन् किनकि उनीहरूले राजनीतिलाई देश सिंगार्ने नशा होइन परिवार पाल्ने पेशा बनाएका छन् । जसले प्रगतिको निशानी होइन दुर्गतिको भड्खालोमा दैनिक लगिरहेको छ । नेपाली समाजले लामो समयदेखि भोगेको दुर्गतिको एउटा कारण यो पनि हो । किनकि दर्शनको दुई किनार बीचको यात्राले केवल दुर्घटनाकै मात्र परिणाम देखाउँछ । बाघ र बाख्रा दुवैलाई एउटै खोरमा राखेर दुवैको जीवनाधिकारको कुरा केवल ढोँग र फरेव मात्र हो । यद्यपी उनीहरू यो सामाजिक आवश्यकताको रूपमा व्याख्या गरिरहेका छन् । 

आजको दुनियाँमा प्रगति गरेका हरेक देशहरूले पुरानो ब्यवस्थाबिरुद्धको संघर्षमा निर्णायक विजय प्राप्त गरे र उनीहरूले नयाँ पिँढीले राजनीतिक आन्दोलनको नाममा धेरै समय खर्च गर्नु नपर्ने बनाए, एकोहोरो विकास निर्माणको महायात्रामा सहभागी बन्न पाए । तर हामीले धेरै आन्दोलन ग¥यौ, व्यवस्था पनि धेरै फेरेकै हो, तर कुनैपनि व्यवस्था निर्णायक विजयको पगरी गुथ्न पाएनन् जसको परिणाम बलिदानीपूर्ण आन्दोलनको उपलब्धि थोरै समयसीमा भित्रै अर्कै अभिजात वर्गको हातमा पर्ने र नयाँ पुस्ताले आफ्नो अधिकार सुनिश्चित गर्न नयाँ आन्दोलन गर्नुपर्ने भयो । फेरि आन्दोलन, फेरि बलिदान, र फेरि सम्झौता ...! यो अन्तहीन शृङ्खलाको गोल चक्करले न युवाले नवनिर्माणमा जुट्न सके न त देशले समृद्धिको श्वास फेर्न सक्यो । 

यद्यपी पृथ्वी नारायण शाहले राज्य एकीकरणमा अपनाएको विधिपूर्ण विजयको थियो । (यद्यपी त्यसका तौर तरिका र शैली प्रति आम जनजातिहरूको असहमति विद्यमान छ ।) जङ्गबहादुरले थापा र पाँडे खलकलाई पाखा लाउँदै गरेको कोतपर्वको सत्ता कब्जाको विधि तत्कालीन समाज सापेक्ष नभएपनि निर्णायक विजय वा पराजयको उत्कण्ठा छनक पाइन्थ्यो । तर लोकतन्त्र पुनर्स्थापना भएको हाम्रा आन्दोलनहरू वैचारिक राजनीतिक र सांस्कृतिक रूपमा सधैँ दुबिधायुक्त सांस्कृतिक धरातलबाट मुक्त हुन नसक्नु, सामाजिक र सङ्गठनात्मक रूपमा वर्गीय पक्षधरताको ढर्रा कायम हुन नसक्नुले गर्दा प्रारम्भमा जतिसुकै बलिष्ठ आन्दोलन भएतापनि त्यसको व्यवस्थापनमा सधैँ मध्यमार्गीमै सम्झौता गर्नुपर्ने राजनीतिक र सङ्गठनात्मक शक्ति सन्तुलनको नियति भोग्दै आएका छौँ । जसको परिणाम आफ्नो दुर्बलता छोप्न सबलताको बढाइचढाइ गर्ने, विपक्षीको कमजोरी देखाउन आफूले जालझेल, तिकडमवाजी गर्ने, यसैलाई अभिजात बर्गले “राजनीति” भनी भ्रमित पारिदिने .... ! हुँदै आएको छ । वास्तवमा राजनीति अरूलाई तल झार्न गरिने कूटनीतिक चातुर्यको नाम होइन राजनीति देश र जनतालाई उन्नति र प्रगति मार्गमा लाने सुमार्ग हो, जसलाई अग्रगामीहरूले कुशलतापूर्वक सापेक्ष व्याख्या र व्यवहारमा उतार्नै सकेनन् त्यसको कारण पनि अग्रगामी भनिएका शक्तिहरूभित्रकै पनि मध्यमार्गी वा अवसरवादीहरूकै भूमिका बढी देखिन्छ ।

हाम्रो सामू जुगौंदेखिको सामन्ती उत्पादनसम्वन्धद्धारा भइरहेको परम्परागत पिछापनको अवशेष अझै बाँकी छन् । करिब ८० वर्ष देखि लोकतान्त्रिक मर्यादा कायम गराउनाको खातिर बलिदानको मूल्य चुकाउन अझै बाँकी छ । आर्थिक राजनैतिक सांस्कृतिक समानताको खातिर लडिएको जनयुद्ध, मधेश विद्रोह, र विभिन्न जाति जनजातिहरूको बलिदानीपूर्ण संघर्षहरुको मूल्यवोध अझै बाँकी नै छ । नेपाली समाजमा राजनीतिको खेतीपाती चलाउँदै आएका पूँजीवादी र साम्यवादीहरूको साझा ध्येय नेपाली समाजको मौलिकतामा आधारित समाजवादले यी सबै कुराहरूको आधार तयार पार्ने कुरामा दुबिधा छैन । तर “मुखले राम राम बगलीमा छुरा !” गर्दै काशी जान कुत्तीको बाटो अपनाउने राजनीतिक व्यापारीहरू, बोट रोप्न नसघाएपनि फलको आशामा मुठ्ठीभर अवसरवादी बुर्जुवाहरूलाई उचालेर बोटको हाँगा जरा काण्ड काट्न, फल फल्ने वातावरण नास्न तमाम श्रोत र साधन प्रयोग गरेर आफ्नै पुरातन शोषणमा आधारित पिछडिएको समाजलाई यथास्थानमा राख्न बल गर्ने तप्काहरुले रोक्न खोजिरहेका छन् । त्यसैले हाम्रो हाम्रो दायित्व परम्परागत सामन्ती उत्पादन प्रणालीको शोषण उत्पिडनयुक्ता समाजको विकल्पमा समानतामा आधारित शोषणरहित समाजको स्थापनार्थ यस्ता जालझेल र तिकडमहरुको दृढतापूर्वक प्रतिकार गर्नु पनि अपरिहार्य रहन गएको छ । तर राजनीतिका हरेक चुनौतीपूर्ण निर्णायक घडीहरूमा अग्रगामी भनिएकै शक्ति भित्र देखापर्ने बिचौलिया, मध्यमार्गी भनिने शक्तिहरूको धरमर अवस्थाले शक्ति सन्तुलनको पासा सधैँ पल्टिने गरेको छ । जस्तो २००७ सालको आन्दोलनमा राणा वा प्रजाको लडाइँमा बिचौलिया बनेको राजाको साथ जसले लियो त्यसैको पल्ला भारी बन्ने अवस्था आयो । ०४६को आन्दोलन पछि पञ्चेहरूको साथ पाउनेको पल्ला भारी हुने अवस्था, त्यस्तै जनयुद्धको अन्त्यपश्चात् एमालेलाई साथ लिने शक्ति नै नेपालको राजनीतिमा स्थापित बन्ने अवस्थाको कारणले विस्तृत शान्ति सम्झौता गर्ने काँग्रेस र माओवादी दुवैको टसलले देशमा सिर्जना भएको अराजकता र हालसालैपनि दुवैतिर नलाग्ने बहानामा प्रतिगमनलाई सघाइरहेकै महन्त ठाकुरको वरिपरि राजनीतिको चक्कर काट्ने पद्धति यही गलत राजनीतिक संस्कारको परिणति हो । जसले नेपाली परिवर्तनकारी आन्दोलनलाई निर्णायक विजयतिर नलगी हरेक पटक सम्झौताको बाटोमा डो¥याउने गरेका छन् ।

देशलाई अग्रगति दिने वा दुर्गतिमा राख्ने भन्ने मूल कुराको मूलबाटो राजनीति हो । पञ्चायती संरचनाको तानासाही राजनीतिक व्यवस्थाले आम मानिसहरूलाई समान नागरिकको रूपमा नभई मालिक र रैतीको रूपमा व्यवस्था गरेको थियो । प्रशासनिक रूपमा तानासाही थियो, सम्भ्रान्त वर्ग, सामन्त साही तथा चाटुकारहरूको बाहेक अरूले नागरिक अधिकारको प्रत्याभूत गर्न पाएका थिएनन् । एकल जातीय नस्लवादी स्वरूप लिएको थियो, जसको कारणले राज्यका सीमित श्रोत साधनमाथि ब्राह्मण–क्षेत्रीको आधिपत्य रहन गई अन्य जात जातिलाई नेपाली भन्न–भनाउन रुचाइँदैनथ्यो । विकाशका श्रोत साधनहरू सुगम ठाउँमा केन्द्रित र दुर्गम ठाउँको निम्ति जतिसुकै बजेट छुट्टयाएपनि सहरतिरै बसेर बाँडफाँड गरेर कागजी रिपोर्ट दिने चलन थियो । जसको प्रतिवादको निम्ति कसैको आवाज पु¥याउने पहुँच र माध्यम हुने थिएन । त्यसैले २०४६ को आन्दोलनले कम्तिमापनि आफ्ना प्रतिनिधि मार्फत आफ्ना कुरा पु¥याउने प्रजातन्त्र नामक व्यवस्था आयो । र पञ्चयताको तुलनामा अग्रगामी, लोकतान्त्रिक भएपनि केही कमजोरीहरू थिए । यी कमजोरीहरू कुनै अपूर्ण व्यवस्थाको स्वाभाविक परिणाम थियो भने कुनै प्रतिकृयावादीहरुले जानी जानी व्यवस्थाको बदनाम गराउन आफ्ना सुषुप्त एजेन्टहरुद्धारा नयाँ व्यवस्था भित्रैबाट गराइएका जालसाजीहरू थिए । तर किनारामा तमासे बन्नेहरूले सोझा जनतालाई भ्रमित पार्ने मसला त मिल्ने नै भयो ।

के व्यवस्थाको रूपान्तरण हुने बित्तिकै नयाँ व्यवस्थाले पुरानोमा रहेका हरेक समस्याहरू छु मन्तर गरेझैँ जादुमय रूपमा समाधान हुन्छ ? असम्भव ! उही प्रशासन, उही संयन्त्र, उही तर आदर्शवादी सोचका मानिसहरू त्यस्तै चाहन्छन् आफू गर्न पनि नपरोस् अर्काले गरेको चाहिँ चौबिस क्यारेटकै शुद्ध होस् ! त्यसमा दोष, खोट लाउने किञ्चितपनि दाग धब्बा नदेखियोस् । के यस्तो संसारमा सम्भव हुन्छ ? तर  डिलमा बसेर पौडन सिकाउने महासयहरू आम जनतालाई भ्रमित पार्दै यही शिक्षा दिन्छन् खै तेरा नेताले गरेको ? यस्तोपनि नयाँ नेपाल हुन्छ ? जबकि उनीहरू नै प्रतिगामीहरूको जालझेल कुना कन्दरा पु¥याउन, अग्रगामीहरूलाई तगारो लगाउन हरसम्भव प्रयास गरिरहेका हुन्छन् । प्रचण्ड, बाबुराम लगायत नेताहरूले भोगेको नेपाली यथार्थ यही नै हो ।

नेता, नीति प्रतिको अल्पज्ञान र प्रतिकृयावादी भ्रम 

दुनियाँभरका प्रतिकृयावादीहरु आफ्नो लुट खसौटको राज्य कायम राख्न इमान्दारीताको होइन, झुट मुठ र फरेव र तिकडमकै सहारा लिन्छन् त्यसको लागि उनीहरू मुख्यतया तीन तरिका अपनाउँछन्: पहिलो भ्रम छर र सखाप पार !, दोस्रो शक्ति सामर्थ्य र सत्ताबाट हटाऊ ! र त्यसपछि उनीहरू दिग्बिजयकासाथ मनोमानी पुरातन लागू गर ! भ्रम छर र सखाव पार नीति अन्तर्गत उनीहरूले हरेक प्रकारका फजुल आरोपहरू लगाउने, झुट्टा लाञ्छनाहरू लगाउने र त्यसको प्रमाणीकरणको लागि उनीहरू जतिसुकै खर्च गर्नुपरे पनि गर्ने जस्तै डा. बाबुराम, प्रचण्डको विरुद्ध नातागोताको आरोप लाउनु, राज्य लुटेको, धेरै भ्रष्टाचार गरेको, जाति जाति बीचमा लडाउन कोसिस गरेको, कृष्चियन धर्मको प्रचार गरेको, भारतको हितमा काम गरेको, जस्ता सैयौं फजुल आरोपहरू लगाउने गरेका छन् जसको कुनै तथ्य उनीहरू दिन सक्दैनन् तर समाजमा एक प्रकारको भ्रमको खेती गरेर उनीहरूको सपोर्टमा उठ्ने आवाजहरू त बन्द भयो नि ! जसले गर्दा उनीहरूको नयाँ योजना, नयाँ नीति, नयाँ कार्यक्रम जनमानसमा लागू हुन पाएन । किनकि नेताहरूको आन्तरिक तागत भनेकै जनसमूहहरूको ममता हो । त्यही ममता काटिएपछि उनीहरू निरीह हुने र पुरातन शोषण उत्पीडनमा आधारित लुटाहा संस्कृतिले नयाँ जीवन पाउँछ । यो प्रचण्ड बाबुरामको जीवनमा मात्र भएको होइन, नयाँ दर्शन पस्कने सुकारतले हेमलक पिउन बाध्य भएका थिए । एरिस्टोटल देखि सबैले यस्तो सामाजिक अपमान र पिडा खेपेका छन् । ज्ञान विज्ञानको क्षेत्रमा ग्यालिलियो, जर्दानोब्रुनो, जस्ताले तत्कालीन पादरीहरूबाट कस्तो सजाय पाए हामीलाई थाहा छ । त्यस्तै आधुनिक नवनिर्माणको क्षेत्रमा राइट दाजुभाइलाई पागलको संज्ञा सम्म यही समाजले भिराएका थिए । भने बाबुराम प्रचण्डलाई लगाएको आरोप, पुरातन प्रतिगामीहरूको प्रयोग विधिको कोणबाट नयाँ होइन, पुरानै प्रयोग हो । यद्यपी सामाजिक रूपान्तरण चाहने शोषण उत्पीडनलाई जरैदेखि उखाल्न चाहने प्रगतिवादीहरुले प्रतिकृयावादीहरुको भ्रमजाल च्यातेर सत्य तथ्य जनसमक्ष ल्याउने हिम्मत गर्नैपर्छ जो गर्न नसक्दा आजको प्रतिगामी हुण्डरीले स्पेस पाएको छ ।

दोश्रोः उनीहरूले क्रान्तिकारीहरूलाई सत्ता र शक्तिविहीन बनाउनको लागि पार्टी नीति संस्कृति भित्र नितान्त नयाँ नयाँ ढङ्गले घुसपैठ गराउँछन् । नीति र पार्टीको आन्तरिक सत्ता तिनीहरूको हातमा पु¥याउन हर तरहको प्रयासमा लाग्छन् । र तिनीहरूको सिद्धान्तविहीन, नीतिविहीन स्वार्थ केन्द्रित योजनाहरूलाई पुरै फैलन दिने मलिलो वातावरण तयार परिदिने गर्दछन् । जसको कारणले पार्टी पद्धति बिग्रने, नयाँ आएका काइतेहरूले काम बिगार्दा पुराना त्यागी तपस्वी कार्यकर्ताहरूको साख गीर्ने र पार्टीको बदनाम हुने । यति सम्म कि कथम् कदाचित भोलि सत्ता हातमा आउने परिस्थिति बनेमा पनि त्यसले जनअनुमोदन नहुने वातावरण बन्ने र दुस्मनको अराजनीतिक हरकतसंग क्रान्तिकारी शक्तिको समेत बदख्वाई गर्न सजिलो वातावरण बनाइदिन्छ । जब गाउँ देखि जिल्ला र केन्द्रमापनि पार्टीको आन्तरिक सत्ता काइतेहरूको हातमा पर्दै जान्छ, तब राजनीतिक सत्ताको विविध क्षेत्रबाट क्रान्तिकारीहरूलाई धपाउन थालिन्छ, त्यो प्रशासनिक निकायबाट, राजनीतिक निकायबाट, वा विविध प्राविधिक निकायबाट, हरेक निकायबाट क्रान्तिकारीहरूलाई गलहत्त्याउने प्रयास गरिन्छ । त्यसको लागि उनीहरू देशी विदेशी वा आन्तरिक शक्तिकेन्द्रहरूको सक्षमताकासाथ परिचालन गर्दछन् । र अन्त्यमा लोकतन्त्रको प्रयोग भन्दै निर्वाचनद्धारा समुलनष्ट गर्ने प्रयासमा लाग्छन् ।

तेश्रोः अव उनीहरू सत्ताबाट क्रान्तिकारीहरू निर्मूल भएकोमा हर्षोल्लासका साथ जनघात गर्न लाग्नेछन् तर उनीहरूको वाक पटुटा र चातुर्यताले त्यसलाई सही साबित गराउन लाग्नेछन् । कथम् कदाचित असफल हुने सम्भावना देखेमा आफ्नो हरेक अपराधलाई परिस्थिति जन्य कमजोरी बताएर जोगिन पनि प्रयास गर्नेछन् । तर उनीहरूले पेश गरेको सफाइले देश समाज र राष्ट्रमाथि गरेको अपराध साम्य नभएपछि त्यसैको सुनुवाइको निम्ति जनसमुदाय सडकमा निस्कने र त्यसको प्रतिकारमा जनदमनको अनेकौँ हथ्कण्डाहरु प्रयोग गर्नेछन् । त्यसैले त्यसको बेलैमा प्रतिकार गरी विशाल जनधनको क्षति, समयको बरवादी हुनबाट जोगाउने नै हो भने आजैबाट नयाँ निकासको निम्ति आम जनताले मध्यमार्गी बाटो होइन, कसैप्रति दया वा मायाँको तनिक पनि अपेक्षा नगरी प्रतिक्रियावाद र त्यसको हरकतको विरुद्ध निर्मम र सम्झौताहीन संघर्षको विकल्प छैन ।

निकासको कार्यदिशा के ?

आम प्रतिकृयावादसंग जनताको गूमेको अधिकार फिर्ता माग्न हात माथि पारेर जान नसकिने कुरा जगजाहेर छ। उदाहरणको लागि राजेश हमालले गर्न खोजेको जातीय समानताको आवाज बुलन्द गर्ने कार्यक्रम “जातको प्रश्न” मात्रै चलाउन खोज्दा हिन्दु अतिवादीहरूको हर्कत हेरे पुग्छ । त्यत्रो भ्रष्टाचार, अनैतिकता जोगाउन जनताको पीडामाथि नुनचुक लाउँदै अत्याचारीहरूको बचाउमा सरकारले चालेको कर्तुत हेरे पुग्छ । त्यसैले शोषक सामन्त, लुटाहा मिचाहाद्वारा खोसिएको जनाधिकार पुनः प्राप्तिको लागि लडिने संघर्ष चानचुने संघर्षले त्यसको निचोडमा पुग्न सकिँदैन । तर प्रगति उन्मुख दिशा प्राप्ति गर्न केही राहत मिल्नेगरि योजना भने बनाउन सकिन्छ । त्यसैले ....

सरकार संविधान नमान्ने, पार्टी नेताहरू विधान मिच्ने, जनसमुदायहरू नियम कानून मिच्न पाउँदा गर्व ठान्ने प्रवृत्ति देश र जनताको लागि शुभ मानिनुहुन्न यसले ठूलो अराजकताको अवस्था सिर्जना गराएको छ । आफू अपराधमोचनको निम्ति आफूले आफ्नो दायित्व निर्वाहमा होइन, एकले अर्काको टाउकामा दोषको भारी थोपर्न सक्नुमा बहादुरी देखाइरहेका छन् । जस्तै पुलिसले अपराधी समात्न नसक्दा नेतालाई दोष लाउँछ, कर्मचारीले खानसम्म घुसा खाँदा चुस्त र दुरुस्त प्रशासन दिन नसक्दा देशका नेता र नीति नै यस्तै छ ...! भन्दै अर्कालाई दोष ...! सामाजिक मर्यादामा आँच आउँदा पुलिस प्रशासन, कर्मचारी प्रशासन, स्थानीय निकाय, आदि अकर्मण्यतामा परेको समयमा देश डुबेकै विदेशी ऐजेण्डा मान्नाले हो ... नेताहरू जति सबै विदेशी दलाल ...! भन्दै आफ्नो उत्तरदायित्व बिर्सेर देश बिग्रेको कुरालाई छोप्न कोशिस गर्दछन् । देशमा विद्यमान नेता र नेतृत्वप्रति यति चरम विश्वासको खडेरी सम्भवत यो पहिलो नभएपनि अस्वाभाविक चैँ पक्कै छ । यतिसम्मकिः बिठ्याइँ गर्नेलाई हटाउन खोज्ने नेताहरूलाई “कुर्सीको लागि !” भन्ने तर कुर्सीकै लागि अनेकौँ तिकडम गर्नेलाई चोखो छोड्ने, र उल्टै असिना पसिना गर्दै जनअधिकार रक्षार्थ खटिने नेताहरूलाई जस दिनुको बदला दोष दिने प्रवृत्तिले अग्रगमनको होइन, प्रतिगमनकै रक्षा गरेको छ ।

चाहे एमाले भित्रको मध्यमार्गी तप्का भन्नोस् चाहे जसपा भित्रको मध्यमार्गी तप्का भन्नोस् या समाजमा यत्र तत्र रहेका सामाजिक छवि बोकेका बृद्धिजिबीको बिल्ला भिरेका गफै जोतेर खानेहरुनै किन नहुन् उनीहरूले अग्रगामी राजनीतिप्रतिको नकारात्मकताको पक्षपोषण गरेर देश र जनताको निम्ति भलो ओकलिरहेका छैनन् । उनीहरूको यो मध्यमार्गले अग्रगामी दिशामा गत्यवरोध पैदा भई प्रतिगामी शक्तिलाई टिकिरहने आधार मिलेको छ । अग्रगामी शक्तिलाई निरीह बनाउँदा ऐतिहासिक परिवर्तनले जनजीवनमा प्रत्याभूति गराउने अवसर गुमेको स्विकार्नुको बदला त्यो सत्यलाई लुकाउन अग्रगामीहरूमाथि हजारौँ कपोलकल्पित बखेडाहरू झिकिरहेका छन् । त्यसैले नयाँ परिवेशमा नयाँ राजनीतिक सहमति गरेर बिग्रे भत्केको ठाउँमा सपार्न पनि अग्रगामी शक्ति थोरै झुकेर भएपनि हजारौँको बलिदान र लाखौँको कुरुवानी जोडिएको लोकतान्त्रिक उपलब्धि जोगाउने र संविधानलाई यथास्थानमा ल्याउन जरुरी छ । त्यसको लागि अग्रगमन र प्रतिगमन बिचमा मध्यमार्ग होइन, अग्रगामी ऐजेण्डाको आधारमा प्रतिगामी एजेण्डा परास्त गर्ने मौका कसैले नगुमाओस् । जो मर्जी ......

-श्रीराम खाईजु 

(भक्तपुर)

(प्रकाशित लेख, लेखकको निजी विचार हो )

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit