२०७८ असार ९, बुधबार

img-responsive

११:०७:२९

 

कथा: "एउटा मास्टरको लकडाउन" 

गोठालो खबर
सुवास विभास , २०७८ जेठ ६, बिहीबार,०३:०२:PM  
img-responsive

कथा
"एउटा मास्टरको लकडाउन" 
सुवास विभास
भोजपुर

पोहोर पनि लकडाउन भयो  । यसका धेरै खाले असरहरू देखा परे । सबैको आ –आफ्नै खाले पीडा निस्कियो । दुख अनेकले पाए । कतिले परिवार गुमाए । कतिको आर्थिक अवस्था तहसनहस भयो।  तर मास्टरको जति चर्चा अरूको कमै भए ।

यसपालि नि मास्टरको चर्चा कम छैन । इन्डियामा कोरोना  बढ्दै थियो । चर्चा नेपालमा मास्टरको हुँदै थियो । अब फेरि मास्टरको बसिबसी खाने दिन आयो । ससुरालीमा बसेर खाए जस्तो हुने दिन आयो । यस्तो कि मान्छेलाई रोगको चिन्ता छैन । मास्टरले बसिबसी तलब खालाकी भन्ने चिन्ता छ ।

म पनि सबैले बुझ्ने भाषामा एउटा मास्टर । मास्टरको कुरामा मास्टरको  चासो हुने नै भो । मास्टरको कुरा जति मलाई खोजी खोजी  साथीभाइले सामाजिक सञ्जालमा ट्याग गर्थे । म्यासेन्जरमा पनि पठाउँथे । त्यसको सार खालि मास्टरले बसिबसी तलब खायो भन्ने नै हुन्थ्यो । मास्टरले हाजिरी गरेर तलब खायो, कक्षामा पढाउँदैनन्, घण्टी लागे पछि १५ मिनेट ढिलो  जान्छन् र घण्टी लाग्न भन्दा १५ मिनेट छिटो निस्कन्छन्, के पढाउँछन् यस्ता मास्टरहरूले ?

म सबै मास्टरहरूको ठेक्का लिएर होइन भनेर ढुक्कले ढुक्कले प्रतिवाद गर्न नि सक्दिनथे । उनीहरूको कुरामा कडा टिप्पणी गरूँ भनेर कमेन्ट लेख्थे । फेरि कुनै कुनै मास्टरको अनुहार आँखामा आइहाल्थ्यो । अनि फेरि कमेन्ट पोस्ट नै नगरी डिटेल गर्थे ।

सहर तिर कोरोना बढ्न थाल्दै थियो । चर्चा गाउँमा मास्टर कै बढी थियो । म स्कुल जाँदै थिएँ - एउटा पसले साहूजीले बोलाई बोलाई भने- "अब कोरोना आयो । तपाईँ मास्टरहरूको फेरि दिन फर्क्यो । लकडाउन भई हाल्छ ।घरमा बसिबसी तलब खान पाउने हुनुभयो । बेलामा पढिएन । मास्टर भएको भए कति मज्जा ।"

"मज्जा त तपाईँहरूलाई छ नि । लकडाउन भन्यो । सामानमा कालो बजारी गर्‍यो । मूल्य दोब्बर लियो । हामीलाई के मज्जारु।" यस्तै जवाफ फर्काई दिऊँ लागेको थियो । तर केही नभनी "जय होस्" भन्दै हिँडे ।

स्कुल पुग्छु । स्कुलमा पनि चर्चा मास्टर र लकडाउन कै छ । कुनै मास्टरले सामाजिक सञ्जालमा मास्टरका बारे लेखिएको कुरा पढ्दै छन् कुनै मास्टर शेयर गर्दै छन् । र मास्टरले मास्टरलाई व्यङ्ग गर्दै कुराकानी भैरेका छन्-

"यसपालि त बेलैमा स्कुल बन्द गर्नुपर्छ सर । लकडाउन भयो भने राम्ररी घर पनि पुग्न पाइँदैन ।"
"अब लकडाउन दशैसम्म भए हुन्थ्यो । खेतीपाती सबै सकिन्थ्यो ।"
"मेरो त डक्टरले २ महिना आराम गर्नु भनेको छ । बिदा भए त राम्रै हुन्थ्यो।" आदि आदी ।

कक्षा पस्छु । कक्षामा पनि चर्चा त्यसकै छ । विद्यार्थीमा खास पढ्ने जाँगर छैन भनौँ या वितृष्णा छ । केटाकेटी म बोल्नु भन्दा पहिले बोलिहाल्छन् ।

"सर यसपालि नि परीक्षा नदिई पास हुन पाइने भो है।"
"सर अब कहिले देखि लकडाउन हुन्छरु"
"अब मरिने कि बाँचिने हो सर कोरोनालेरु"
"हाम्रो छिमेकी दाइ काठमाण्डौबाट आउनु भएको । बिरामी हुनुहुन्छ । कोरोना भन्ने हल्ला छ।"
म सबै प्रश्नको जवाफ दिन तम्सिरहेको थिएँ ।

एउटा विद्यार्थीले थप्यो – "तर कोरोनाले  सबभन्दा बढी फाइदा त मास्टरलाई  नै त हुने रहेछ । नपढाई कन तलब आउँछ सर।"

"बन्न त तँ पनि मास्टर अनि बसिबसी तलब खा । के हाम्रो धेर खेदो खन्छस् ?"

मनमा यस्तै जवाफ आएको थियो । तर केही बोलिन । बोल्न नि गाह्रो छ । मास्टर प्रतिको यो नकारात्मकता मैले कहाँ  हटाउन सक्थे र ? अलिकति कुरा बङ्ग्याएर फेरि नारा जुलुस आउन के बेर ?

मैले सबै कुरा टारेर पाठ अघि बढाएँ ।

टिफिनमा नास्ता खादै थिएँ । फोन आयो  । फोन साथीको रहेछ । उ निजामती कर्मचारी ।

"हेलो मास्टर साब के छ खबर ? मास्टर साबको त अब मस्तीको दिन आइहाल्यो । बसिबसी तलब खाने । त्यति कै आको तलब त  एक्लै खानु हुँदैन है ।  पार्टी गर्नुपर्छ । हाम्रो त दुखै छ । बेलैमा मास्टर हुनुपर्ने रहेछ।"

यो मलाई मात्र होइन । समग्र मास्टर प्रतिकै भद्दा मजाक थियो । उसको नि इतिहास राम्रै थाह थियो । जागिर सुरु गरेको २ वर्षमै  सहरमा घर कसरी बन्यो । मेरो पेन्सन हुन लाग्दा नि बाँच्नु बाहेक अरू प्रगति छैन । उसले अनेक कुरा भनेको भनेकै छ । मेरो मनमा नि अनेक जवाफ फुरेको फुरेकै छ । तर उ बोलिरहन्छ र म सुनिरहन्छु ।

गाउँमा नि कोरोना बढ्यो । हल्ला चलेको एक हप्ता पछि स्कुल बिदा हुने भो ।सूचना आयो । घर जान बाइक स्टार्ट गरे । घरबेटी बा बोले- "ए सर घर जान लाग्नु भा को ? मजा नै छ मास्टरहरूलाई अब २/३ महिना स्कुल नआए नि तलब पाकिहाल्छ।" 

म निङ्च्च हाँसे अनि अगाडि बढेँ ।

घर पुगेँ । बाइक रोकिन पाएको छैन- छिमेकी भाउजू कराइन् –"ल मास्टर भाइ आइपुग्नु भएछ । मास्टरलाई त मज्जा छ । अब दसैँ सम्म बिदा होला । घर मै बसी बसी  तलब आउँछ । हामीलाई  चाहिँ जहिले दुख को दुख ।" 

मनमा जवाफ छ । तर अरूलाई त जवाफ फर्काइन भने छिमेकी भाउजूलाई के जवाफ फर्काऊ । चुपचाप रहे ।

भोलिपल्ट बिहान पसल जाने काम थियो । मास्क लगाएर  हिँडे । कोरोना बढेकोले मनमा डर नै थियो । पसल छेउमा लुडो खेलिरहेका रहेछन् केटाहरू ।मेरो पुरानो साथी नि त्यही लुडो हेरिबसेका रहेछन् ।बोलायो । गएँ । गफ गर्दै थियौ । एउटा बा कराउनु भयो –"हेर यो महामारीको बेला भेला भएर लुडो खेलेकोरु अरू त अरू यो मास्टर नि लुडोमा छ । मास्टर नै यस्तो भएपछि के लाग्छ ?"

मैले जवाफ दिन नपाउँदै बा निकै पर पुगिसकेका थिए ।

घर फर्किँदै थिएँ । बाटैमा अर्को मास्टरको नि घर थियो । उनको तरकारी खेती राम्रै फस्टाएको थियो । उनलाई नि गहै रहिछ । एक छिन उभिएर सुने ।
"अब सबै काम मास्टरले नै गरेपछि हाम्रो के कामरु उता तलब पाकेकै छ । यता तरकारी पनि । डबल तलब थाप्ने भो मास्टरले।"

म नदेखिने गरी हिँडे । अनुहार देखाउँदा नि मास्टर कै कथा सुन्नुपर्ने त हो ।

आएर ओछ्यानमा ढल्किए। मनमा केही प्रश्नहरू आइरह्यो-
"किन हामी मास्टर गुरु बन्न सकेनौ ?"
"किन बदनाम छ शिक्षक ?"
"के रहरले नै घर बसेका हुन् त मास्टर ?"

तर मेरो मन ती स्कुल छुटेका केटाकेटीको याद र  भविष्यले चिमोटिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit