२०७८ असार १०, बिहीबार

img-responsive

१२:०३:५५

 

कविता: "दुःखमा दायित्व नेताको"...

गोठालो खबर
गोठालो खबर २०७८ वैशाख २४, शुक्रबार,०९:११:AM  
img-responsive

(दुःखमा दायित्व नेताको)

दाजुभाइ हो हामी कसरी विश्वास गर्ने यिनको,

धोका खायौँ पटक पटक ढाँटको खेती तिनको ।

बहुमतीय सरकार बनोस् भन्ने चाहना सबैको,

मत दिन घण्टौं बसेको दिन सम्झौं चुनावको ।।

 

परिवर्तन हुन सकेन देशमा खेल बाहेक सत्ताको,

दुर्दशा बनाए देशको शक्ति भागबन्डामा दुईको ।

आधा आधा शासन सम्झौता बीज हो झगडाको,

एकले अर्कालाई सिध्याउने दुष्चक्र राजनीतिको ।।

 

हेर्नु छ अझै चिन्ता कसले गर्दारैछन जनताको,

गर्छन् कि मात्र लडाई आपसमा हिसाब फाईदाको ।

कोभिडले जनता मरिरहँदा ध्यान नपुग्ने कसैको,

खालि अरूलाई गाली दिने बिर्सेकी चुनावी कसमको ।।

 

सरकार त लाचारी छ कुर्सीको चारपैया छ हल्लेको,

जसरी कोशिस अड्याउने नियत हो सत्ता राजको ।

अस्पताल भरिएका छन् छैन ठाउँ गरीव दुःखीको,

भर्ना भएका पनि छटपटिँदै छन् अभाव अक्सिजनको ।।

 

कोरोनाले गाउँ गाउँ पिटिसक्यो उपाय छैन बच्नेको,

प्रत्येक दिन रेकर्ड नयाँ बन्दैछ संख्या मर्ने र बिरामीको ।

बाँचेका पनि त्राहि त्राहि छन् कुरेका पालो कहिले हो,

लकडाउन छ कमाई छैन बढ्दो छ पीडा भोकमरीको ।।

 

खालि कुर्सीको खेलमा नलाग ख्याल गर जनस्वास्थ्यको,

सबै पार्टीले सेल्टर बनाऊ सहयोग खातिर जनताको ।

रोक्ने छैन कसैले हात बढाउ आहत मिल्नेछ राहतको,

गर्व गर्नेछन् नागरिकले इज्जत बढ्नेछ नेता र पार्टीको ।।

किन सरकारलाई गाली गर्ने बस्नेछौ दिलमा जनताको,

राजनीति सफल हुनेछ दरकार छैन गर्न विरोध यिनको ।

मानिसले पहिचान गर्छ जसले साथ दियो बेला दुखको,

तिमी र तिम्रो झण्डा अमर हुनेछ किन विरोध अरूको ।।

 

नेपाली शान्तिपूर्वक बाँच्न चाहन्छ चाहँदैन झैँ झगडाको,

विरोधको राजनीति छाडिदेऊ पीडा नदेऊ आम जनताको ।

बेला हो यो साथ दिने भोक र रोगले ग्रसित नागरिकको,

अनि मात्र नेता कहलाउँछौ नाम जयकार हुनेछ पार्टीको ।।

 

हर्ष थापा

का.प. पनौती-१, दारिम्बोट, काभ्रे

हाल महालक्ष्मी-१, ललितपुर

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit