२०७८ वैशाख २९, बुधबार

img-responsive

०३:०२:३८

 

प्रहरीले गर्‍यो २३ हजार मास्क वितरण

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०५:२४:PM  
img-responsive

काठमाडौं, २१ बैशाख । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईँको मास्क खोइ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई सोमबार नि:शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईँको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरेको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १३ हजार ६ सय २१ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ । तोकिएको मापदण्ड उल्लङ्घन गर्ने ९ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै सोही क्रममा देशभर संचालित सचेतनामूलक कार्यक्रममा ३० हजार ६ सय ९० जना सहभागी भएका थिए ।

कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड९१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीड भाड नगर्न, अनावश्यक रूपमा घर बाहिर हिँडडुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालनाका लागि मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit